‘पिउने पानी पनि अरबबाट ल्याउने दिन आउनेछ’

प्रस्तुति : अखण्ड भण्डारी/राजकरण महतो

‘पिउने पानी पनि अरबबाट ल्याउने दिन आउनेछ’

चुरे विनाश भयो। सकिनै लाग्यो। बर्बादै भयो भनिरहनुहुन्छ। किन सधैं चुरे–चुरे भनिरहनुभएको हो ? 

मैले जीवनको आठ दशक बिताइसकेँ। सात दशकमा देखेका सारा कुरा मलाई याद छ। बचपनमा मैले देखेकोे तराई स्वर्ग थियो। चुरियाको फेदमा चारकोसेझाँडी फैलिएको थियो। जल, जमिन र जंगलले तराई भरिपूर्ण थियो। तर, अहिले चुरे दोहनले तराई ध्वस्त भइरहेको छ।

तराई अरबको मुरुभूमिजस्तो भयो भने त्यसको गर्मी (राप) ले हाम्रो हिमालको सारा बरफ (हिँउ) पग्लिएर जान्छ। अनि, हाम्रो मानव सभ्याता के हुन्छ ? यो ज्ञान न जनप्रतिनिधिमा देख्छु, न यसमा विद्वान्को कलम बोल्छ। न त मिडियाले अभियानकै रूपमा लेख्छन्। यसमा बोल्दै गएपछि, लेख्दै गएपछि एक दिन हाम्रो सन्ततिले पक्कै बुझ्छन् भनेर चुरे र पर्यावरण संरक्षरणको अभियान म राष्ट्रपति भएदेखि उठाएको थिएँ। 

यस विषयप्रति लगाब बढ्नुमा कुनै कारण छ कि ? 

स्कुलदेखि नै मलाई भूगोल र पर्यावरणमा धेरै रुचि थियो। अपनत्व पनि। पछाडि प्लान्ट साइन्स पढेँ। अनि देशको भूबनोट बुझेँ। म तराईमा जन्मेको मान्छे। जनकपुर र काठमाडौंमा पढेँ। कलकत्ता र चण्डीगढमा उच्चतहको शिक्षा लिएँ। विद्यार्थी, मेडिसिनको डाक्टर हुँदै राजनीतिमा आएँ। राजनीतिक भूमिकामा देश घुम्ने मौका पाएँ।

भूगोल, माटो, पर्यावरणबारे नजिकबाट जान्ने मौका पाएँ। हिमाल, महाभारत, चुरे र समथरभूमिको एक अर्कासँग सम्बन्ध जोडिएको छ। यी सबै परनिर्भर छन्। एउटा बाँच्यो भने अर्को बाँच्छ। हामी मनुष्य भएर जन्मिएका छौं। संसारका सर्वश्रेष्ठ प्राणी हौं। हाम्रो दिमागले आकाशदेखि पत्तालसम्मलाई बुझेको छ। तर, दुनियाँ यति लोभी भयो। पर्यावरणलाई बचाएर कसरी उपभोग गर्नेभन्दा पनि मास्नेतिर जोड गर्छ। यसले संसारभरि चिन्ता बढेको छ। 

अनि, यसमै जोड दिएर लाग्नुभयो ? 

सन् १९९० देखि विश्वस्तरमा पर्यावरणबारे कुरा उठेको छ। औद्योगिक क्षेत्रको विकासले पर्यावरणमाथि चाप परेको छ। संसारभरि जलवायु परिवर्तन भइरहेको छ। तपाईं संसार र देशबारे बुझ्नुहुन्छ र देश–समाजलाई दिनुहुन्न भने त्यो बुझाइको कुनै माने हुँदैन। त्यैसले पहिला आफ्नो घर (देश) लाई बचाउँ भनेर राष्ट्रपति भएपछि दीर्घकालीन हितका लागि २०६६ बाट चुरे र पर्यावरणको कुरा उठाएँ। बिस्तारै यसलाई सबैले बुझ्न थाले। 

सरकारीस्तरमा कसरी छिराउनुभयो यसलाई ? 

माधवकुमार नेपाल प्रधानमन्त्री, सुरेन्द्र पाण्डे अर्थमन्त्री र रामेश्वर खनाल अर्थसचिव थिए। त्यो बेला चुरे संरक्षणबारे जोडतोडले कुरा उठाएको थिएँ। सुशील कोइराला प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्बाट अर्थसचिवको नेतृत्वमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति गठन भयो। यसको नारा ‘चुरेको माटो चुरेलाई सफा पानी सबैलाई’ रह्यो। पछि प्रचण्डजी प्रधानमन्त्री भएका बेला चुरे संरक्षणका लागि २० वर्षे गुरुयोजना पनि बन्यो। त्यो पास भयो। तर, कानुन बन्न सकेन।

हेर्दाहेर्दै कसरी चुरिया वन सकियो ?

देशको कुल भूमिको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्छ। चुरे र तराईसहितको ३० प्रतिशत चुरे भूपरिवेष्ठित क्षेत्रअन्तर्गत नेपालको ६० प्रतिशत जनसंख्याको बसोबास छ। चुरेसँग उनीहरूकोे मात्र होइन, सिंगै देशको जीवन र भविष्य जोडिएको छ। चुरे विनाशले अन्न र जलमा धेरै प्रभाव पारेको छ। राजनीतिक उतारचढावका बेला चुरियासहित देशैभरि जंगल फडानी, कटानी र तस्करी भयो। माओवादी द्वन्द्वपछि देश शान्ति प्रक्रियामा आएपछि धेरै ठाउँमा चुरे जंगलमै लडाकु शिविर बने। विभिन्न समयमा सुकुम्बासीको पुनस्र्थापना, पुनरबास, मलेरियाका कारण पहाडबाट तराईमा बसाईसराइ भयो। सबै चुरेकै जंगलमै बसे। यसले चुरेमा अत्यधिक चाप पर्दै गयो। 

त्यसबीच सरकारीस्तरबाट जंगल संरक्षण भएन ?

२०१५ सालको चुनावपछि बीपी कोइरालाको सरकारले जंगललाई राष्ट्रियकरण गर्‍यो। जब पञ्चायत कमजोर हुन थाल्यो। २०२५ सालपछि जंगल कटानी बढ्यो। सर्लाहीमा सागरनाथ ठूलो जंगल थियो। २० हजार बिघा जंगल सखाप परियो। २०१८ पछि चुरिया जंगलकै बीचमा पूर्व–पश्चिम राजमार्ग बन्यो।

त्यो बेला चुरेमा कस्तो वन थियो ?
जहाँ भएर राजमार्ग बन्यो। त्यो बेला महाभारत, चुरे र चारकोसेझाँडीको बफर जोन थियो। घना जंगल थियो। हात्ती, गैंडा, बाघ, शेरदेखि विभिन्न जाति र प्रजातिका जानवरदेखि वृक्षहरू थिए। बीचबीचमा सीमसारहरू थिए। जैविक विविधता र पर्यावरणको दृष्टिकोणले चुरे क्षेत्र परिपूर्ण थियो। आज त्यहाँ सहर भयो। यस्तो सहर भयो कि लाखौं मान्छेको बसोबास छ।

उसबेला त्यहाँ जनजीवन कस्तो थियो ?
एउटा कहानी सुनाउँछु। कृष्णप्रसाद भट्टराई र म जंगलबारे खुबै कुरा गथ्र्यौं। मैले उहाँको मन्त्रिपरिषद्मा काम गर्ने मौका पाएँ। जनकपुरको कपलेश्वरका नेता थिए बोधप्रसाद उपाध्याय। उनी रामेछापबाट हाम्रो गाउँ हुँदै घोडामा आउजाउ गर्थे टप–टप गर्दै। उनको घरमा खाना खाएर २००३ सालमा कृष्णप्रसाद भट्टराई, बीपी कोइलारा बर्दिबासबाट काठमाडौंका लागि निस्किनुभएको थियो। उहाँले मलाई सुनाउनुहुन्थ्यो, ‘बर्दिबासको जंगलमा दिउँसै टर्च र लालटिन बालेर हिडँ्ने अवस्था थियो।’ त्यत्रो जंगल थियो चुरेमा।

तपाईंको घर धनुषामा चुरेनजिकै छ। चुरेसँग कसरी हुर्किनुभयो ?

हाम्रो गाउँका वस्तुभाउ वर्षा ऋतुमा ६ महिना जंगलछेउ हुन्थे। हिउँद लागेपछि ६ महिना तल। हामी परिवारका मान्छे र गोठाला बथानमै बस्थ्यौं। त्यो बेला कुनै ठाउँमा १० कोससम्म पनि चारकोसे झाँडी हुन्थ्यो। चुरेमा पातलो बसोबास र घना जंगल थियो। जंगलमा बाघ, भालु, हात्ती, जरायो सबै थिए। हेर्दाहेर्दै मेरै जिन्दगीमा पञ्चायतकालमा जंगल समाप्त भयो। २०३६ सालमा निर्दललाई जिताउन र बहुदललाई हराउनलाई जंगल खुला गरियो। २०५२ सालदेखि २०६२ सालसम्म माओवादी आन्दोलनकालमा जंगल र चुरेको माईबाप (आमाबुवा) कोही भएन। मान्छेलाई ज्यान कसरी जोगाउने भन्ने चिन्ता थियो। वन कसले जोगाओस् ? 

अहिले चुरे दोहनका कस्ता गतिविधि भइरहेको देख्नुहुन्छ ?

अहिले लकरी (काठ) को तस्करी अलिकम हुन्छ। चुरेको माटो, बालुवा र ढुंगा सबै खनेर लैजाने बढ्ता छ। त्यहाँ पहिला रूख थियो। त्यो सिद्धियो। अब त्यहाँको माटो खनेर लगिँदै छ। यो क्रम अहिले झन् जोडतोडले चल्दैछ। चुनढुंगाको सिमेन्टको उद्योग भयो।

सरकारले बजेटमा सिद्धिबाबा डाँडालाई नै रोपवेबाट विदेश पठाउने नीति ल्यायो। जोसुकै सरकारका अर्थमन्त्री भएपछि बजेटमै रोपवेबाट डाँडाका डाँडा नै बाहिर पठाउने नीति लिएर आउँछन्। बंगलादेशका लागि छानिएका एक राजदूतले संसदीय सुनुवाइमै भनेका थिए, ‘बंगलादेश गएर त्यहाँको सरकारसँग चुरियाको बालुवा–ढुंगा निर्यातका लागि कुरो गर्छु।’ यस्तो हालत छ देशको। मान्छेले आफ्नो देशको माटो र भूगोलबारे बुझेकै छैन।

मधेस अन्नको भकारी, कसरी भोकमरीमा पर्न थाल्यो ? 

तराईको १७ प्रतिशत भूमिमा जलको पर्याप्तताले धान यति फल्थ्यो कि २०४० सम्म हामी विदेशमा निर्यात गथ्र्यौं। २०२५ सम्म धान निर्यात गर्ने देशहरूमा हामी पाँचौं थियौं। युवाकालमा हामी १०÷१० वटा बयलगाडामा धान राखेर मटिहानीको बोर्डर पारी बेच्न जान्थ्यौं। यो समयसम्म तराई पानीमा परिपूर्ण थियौं। पानीले गर्दा धान उब्जनी हुन्थ्यो। दलहन, तेलहन, माछा अरू देशलाई बिक्री गथ्र्यौं। गरिबले ६ महिना धान खेतको माछा मारेर खान्थ्यो। अहिले खोइ त्यो ? 

भनाइको मतलब, तराई कृषिमा समृद्ध थियो ?  
पहिला खाल्डाखुल्डी, पोखरी, इनार, नदीनाला सबै पानीले भरिपूर्ण हुन्थे। सबै ठाउँमा माछा हुन्थ्यो। गरिबले ६ महिना सित्तैमा माछा खान्थ्यो। म जनकपुरमा पढेँ। रेल्व किनारको खाल्टोबाट माछा मारेर खान्थँें। अब त्यो समय छैन। तराई फलफूलमा धनी थियो। आँप, कटहर, बरहर, केला (केरा), निम्बु (कागती) जामुन, रिखिया (अमला) सबै कति फल्थ्यो कति। १०—१० बिघासम्मको आँप कटहरकै बगैंचा हुन्थ्यो। हावाहुरी आयो भने गाउँका गरिबहरू बगैंचामा जान्थे। त्यहाँबाट आँपहरू लिएर खटाई (सुकुटी) बनाउँथे।

त्यो बेला सबै आफ्नै बारी उत्पादन हुन्थ्यो ?

गाउँका मान्छे नुन, मटितेल, कपडालत्ता, जिरा किन्न मात्रै सहर, बजार जान्थे। हाम्रा पिता उदयपुरको त्रिवेणी मेला गएर तेजपात, जडिबुटी, घोडा, राडी (कम्बल) किनेर ल्याउनुहुन्थ्यो। पहाडी दाजुभाइ पहाडबाट विवाहपञ्चमी र रामनवमी मेला भर्न जनकपुर आउँथे। उनीहरू डोकाका डोका जडिबुटी, पोते, छिटवाला लुगाहरू लिएर आउँथे। त्यहाँ बिक्री गर्थे। पहाड र मधेसबीच सामान साटासाट हुन्थ्यो। 

  •      उतिबेला बर्दिबासको जंगलमा दिउँसै टर्च र लालटिन बालेर हिँड्ने अवस्था थियो। त्यत्रो जंगल थियो चुरेमा।
  •      हेर्दाहेर्दै मेरै जिन्दगीमा जंगल समाप्त भयो। 
  •      जोसुकै सरकारका अर्थमन्त्री भएपछि बजेटमै रोपवेबाट डाँडाका डाँडा नै बाहिर पठाउने नीति लिएर आउँछन्। 
  •      मधेस त्यो बेला स्वर्ग थियो। तराईले देशलाई अन्न दिएर विदेश पठाउँथ्यो। 
  •      वडा अध्यक्षदेखि गाउँपालिका, नगरपालिका, प्रदेशदेखि केन्द्र सरकारसम्म क्रसर उद्योगवालाले जितेका छन्। 
  •      चुरे संरक्षण अभियानमा लागेका दिलीप महतोलाई क्रसरवालाले टिपरले किचेर मारिदियो।
  •      अहिले चुरिया क्षेत्रमा नयाँ आंतक सुरु भएको छ। त्यसको नाम डोजर आतंक छ। 

मधेसका ती दिन र यी दिनमा भिन्नता के छ ?  

पहिला पहाड र काठमाडौंका मान्छेको खेतीपाती तराईमा हुँदा जाडो छल्नलाई तराई झर्थे। खेतको आलीमा मुरही–कचरी खाएर आनन्दले धान कटाई चामल लिएर जान्थे। अहिले तराईमा शीतलहर चलिरहेका छ। पुस महिनामा बस्न लायक छैन।

यो परिवर्तन केले गरायो ? 
यो सबै चुरे दोहनले भयो। जलवायु परिवर्तनले भयो। चीन र भारतको कारणले पनि भयो। छिमेकी देशमा दु्रत विकास भइरहेको छ। अमेरिकापछि कार्बन उत्सर्जनमा चीन दोस्रोमा छ। अहिले हाम्रो आकाशै प्रदूषित भयो। पर्यावरण नष्ट भइरहेको छ। अन्न–जलको ऊर्जाका लागि विदेशमै निर्भर छौं। अन्न पनि अरूबाटै ल्याउँछौं। 

मधेसले अन्न दिएर पहाडलाई पाल्थ्यो ?
पहिला गाडी थिएन। गोरेटो बाटोबाट उनीहरू आउँथे। तराईबाट खानेकुरो चामल, दाल लिएर जान्थे। छोरी बेटीको विवाह भएको बेला सुन, चाँदी, कपडा लिन आउँथे। खच्चरमा बोकेर तराईबाट पहाडमा अन्न पठाइन्थ्यो। मधेस त्यो बेला स्वर्ग थियो। तराईले देशलाई अन्न दिएर विदेश पठाउँथ्यो। पहाडको पानीसँग मधेसको अन्नको उत्पादन जोडिएको थियो। त्यो चुरेको कारणले थियो, त्यो त्यहाँ भएको जंगलले गर्दा थियो।

पहिले चुरेमा घना जंगल थियो। वर्षात् हुँदा जंगलले पानी शोषण गर्थियो। रूखको जराले माटोलाई पक्रेर राख्थ्यो। चुरे र चारकोसे झाँडीले तराईको नदीनाला, पोखरी र इनारमा सधैं पानी पठाइरहन्थ्यो। त्यसले गर्दा तराई पानीले परिपूर्ण हुन्थ्यो। छताछुल्ल हुन्थ्यो। 

विकासले पर्यावरणमा कस्तो प्रभाव पारेको पाउनुभएको छ ? 
केही उदाहरण हेरौं। जापान पर्यावरण संरक्षण गरेर अघि बढेको छ। युरोपमा पनि हिमाल छ। अमेरिका, चीनमा पनि पहाड छ। त्यहाँ कसरी विकास भएको छ ? त्यहाँका प्रविधिको अध्ययन गरेर कम क्षतिमा हाम्रो विकासका काम हुनुपर्छ। तर, त्यो छैन।

के विकास चाहिन्न र ? 

ठीक छ, भौतिक विकास चाहिन्छ। सबैतिर राजमार्ग चाहिन्छ। तर, विकास निर्माण गर्दा राम्रो अध्ययन भएन। एसिएन हाइवेसँग जोड्न पूर्व–पश्चिम रेल्वे राजमार्ग बनिरहेको छ। यो चुरेको रेन्जसँगै टाँसिए छ। राजमार्ग चारदेखि ६ लेनमा बन्दैछ। हाइटेन्सन लाइन पनि चुरेबाटै बिस्तार भइरहेको छ। त्यसमा पनि कहिँकहीँ जंगल कटानी भइरहेको छ।

अर्को चुरेको २५ किलोमिटरमाथि मध्यपहाडी राजमार्ग बन्दै छ। पूर्व–पश्चिम राजमार्ग छँदै थियो। यी दुवैको बीचबाट चुरेको भित्रभाग हुँदै मदन भण्डारी पूर्व–पश्चिम राजमार्ग बन्दै छ। पूर्व–पश्चिम राजमार्ग, रेल्वे र मदन भण्डारी राजमार्गले चुरे, चारकोसे झाँडी, चुरे भावर पूरै नष्ट भयो। अझै हुने क्रम बढ्यो। 

क्रसरका नाममा भइरहेको चुरे उत्खननलाई कसरी हेर्नुभएको छ ?
सारा राजमार्गमै हजारौं क्रसर उद्योग छन्। त्यसमा ७० प्रतिशतभन्दा बढी गैरकानुनी छन्। सरकारले मापदण्ड बनाउँछ। उसले आफंै लागू गर्दैैन। अदालतले लागू गर्न आदेश दिन्छ। सरकारले त्यसलाई मान्दैन। 

किन यस्तो हुन्छ ?
सरकारका निकायहरू क्रसरवालाहरूसँग मिलेका छन्। धनुषाका दिलीप (ओमप्रकाश) महतो इन्जिनियरिङ पढिरहेका थिए। उनलाई पर्यावरणसम्बन्धी ज्ञान थियो। चुरे संरक्षणका लागि अभियान गरेका थिए। क्रसरवालाले टिपरले नदीमा किचेर मारिदियो। त्यसको मुद्दा अहिलेसम्म चलिरहेको छ। यही उदाहरण काफी छ। 

अर्थात्, चुरे संरक्षणबारे बोल्नेहरू असुरक्षित छन् ?
पर्यावरण संरक्षणका लागि मिडियामा लेख्ने रिपोर्टहरूलाई क्रसरवालाले टार्गेट गर्छ। मारिदिन्छ। मनोवल घटाउने काम गर्छ। राजनीतिक पार्टीहरूले क्रसर उद्योगवालाहरूसँग पैसा लिएर चुनावमा तिनीहरूलाई टिकट दिन्छन्। रातारात उनीहरूले बालुवा, गिटी, ढुंगाको तस्करी गर्छन्। त्यसैले चुनावमा टिकटदेखि भोट पनि किन्छन्। वडा अध्यक्षदेखि गाउँपालिका, नगरपालिका, प्रदेशदेखि केन्द्र सरकारसम्म क्रसर उद्योगवालाले जितेका छन्। 

क्रसरवालाहरूले नै हाम्रा नदीनाला ध्वस्न बनाएका हुन् ?
पूर्वदेखि पश्चिमसम्म जति पहाडका नदीनाला छन्, ती जम्मैमा क्रसर उद्योग छन्। इन्द्रावतीदेखि भोटेकोसी, सुनकोसी, कर्णाली, दूधकोसी सबैतिर दोहन भइरहेको छ। तीनाउ, बाँडगंगा सबका सब खोलानालालाई दोहन गरेर चौपट पारिँदैछ। 

चुरे विनाशका अन्य कारण पनि छन् कि ? 
अहिले चुरिया क्षेत्रमा नयाँ आंतक सुरु भएको छ। त्यसको नाम डोजर आतंक छ। चुरेका खोलानाला जथाभावी खनिँदै छ। माटो संरक्षण विज्ञ, भूशास्त्री सबै पढेर आएका छन्। तर, त्यसको कुनै काम छैन जस्तो लाग्छ। विकासका कामहरू हेर्दा अन्धाधुन्ध चुरियाको खनजोत भइरहेको छ। यसले विश्वव्यापी तापमान वृद्धि भइरहेको छ। यो शताब्दीको अन्तसम्म विश्वमा अढाई लाख हिमाताल पग्लिने एउटा तथ्यांक मैले पाएको थिएँ। सगरमाथामा कालोपत्थर देखिन लागेको छ। हाम्रा हिमतालहरू फुट्ने अवस्थामा छन्। 

चुरिया वन विनाशले खानेपानीको मुहानमा कस्तो क्षति पुर्‍याइरहेको छ ?
चुरियाको माटो, जंगल संरक्षण गरियो भने पानीको मुहान संरक्षण हुन्छ। यसले वर्षात् सोसेर पानी संरक्षण गर्छ। ८२ कुण्ड भनेर जनकपुरीयाहरू खुब नाक फुलाउँछौं। नाक फुलाएर के गर्ने ? नुहाउने कुण्ड ५—६ वटा होलान् अब। 

विकास नै विनाशको कारक हो भन्न खोज्नुभएको हो ? 
चुरेलाई नै क्षति पुग्ने गरी निजगढ विमान स्थल बन्दैछ। रोक्न अदालतले आदेश दिएको थियो। तर, पनि सरकारले त्यहीँ बनाउने भन्छ। जैविक विविधताले परिपूर्ण ठाउँ हो यो। सात नम्बर प्रदेशको गोदावरीमा जंगल काटेर हुर्काएको थियो। फेरि त्यहाँ जंगल काटेर राजधानी बनाउने भनेर लागेको छ। जंगल त देख्नै नहुने ! 

२०३६ सालमा जनकपुरको मेरो आगनमा ५० फिटमा पाउनी आउँथ्यो। अहिले साढे पाँच सय फिट तल पुग्यो। ५० वर्षपछिको हालत के होला ? अहिले डिजेल पेट्रोल अरबबाट ल्याइरहेका छौं। अब पानी पनि समुद्रबाटै ल्याउने हो ? जहाजमा बोकी–बोकी ल्याउने हो ? सबै भन्दा दुःखको विषय प्रदेश र संघीय सदनमा एक दिन पनि पर्यावरणबारे छलफल भएको छैन। यसबारे गहन छलफल भएको छैन। 

शिक्षाको अभावमा चुरे एवं वातावरण विनाश भएको हो ? 

 समाजलाई पहिला चेतना हुनुपर्छ। २००७ सालमा २–३ प्रतिशत साक्षरता थियो। आज त्यो बढेर ७० प्रतिशतभन्दा माथि गयो। तर, त्यो शिक्षा हाम्रोअनुसार भएन। हाम्रो देशको इतिहास, राजनीतिक उथलपुथल थाहा छैन। वातावरण, भूगोलको ज्ञान किताबमा थोर बहुत हुनुपर्छ। हाम्रो बेलामा स्कुलमा इतिहास, भूगोल पढाइनथ्यो। अचेल स्कुलमा पढाउँदैनन्। चुरे पर्यावरण संरक्षणमा स्कुलबाटै जनचेतनाका लागि पाठ्यक्रममा राख्नुपर्छ। समाज र सन्ततीलाई पर्यावरण संरक्षणका लागि शिक्षित बनाउँदै जानुपर्छ।

चुरे र पर्यावरण संरक्षणमा राजनीतिक दल एवं सरकारको भूमिका कस्तो हुनुपर्छ ?

चुरे र पर्यावरण संरक्षणको विषयलाई स्थानीय, प्रदेश र संघीय सरकारले प्राथमिकता दिनुपर्छ। जनप्रतिनिधिहरू सचेत बन्नुपर्छ। मिडियाले अभियानकै रूपमा काम गर्नुपर्छ। केही जनप्रतिनिधि क्रसर उद्योगको मालिक होलान्। सबै त छैनन्।

उनीहरूले चुरे र पर्यावरणको विषयमा कुरा उठाउनुपर्छ। पूर्वराष्ट्रपतिले चुरे, हिमाल, पहाड संरक्षण गर्नुपर्छ भनेर बारम्बार कराउँछ। किन कराउँछ भनेर जनप्रतिनिधिहरूले बुझ्नुपर्छ। हाम्रो तीन पुस्ताको कालमा विभिन्न राजनीतिक उताडचढावले प्रकृति नष्ट भयो। अब आउने तीन पुस्ता हाम्रो भूलोल, जंगल, पहाड, हिमाल, चुरे सबै बचाउनतिर लाग्नुपर्छ।

चुरेमा राजनीतिक सरोकार के–कस्तो छ ? 

हामीले गौरव गछौं, संविधानसभाबाट संविधान ल्यायौं। यसभित्र लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता, धर्मनिरिपेक्षता छन्। आधुनिक संविधान छ। संविधानअनुसारको कानुनी व्यवस्थाबाट देश चल्नुपर्छ। आधुनिक समयमा सभ्य समाज बनाउन विधिविधानमा जानुपर्छ। हाम्रो राष्ट्रलार्ई बचाउँदै, समाजलाई जोड्दै, पर्यावरण जोगाउँदै विकासका अवधारण ल्याउनुपर्छ। जैविक विविधता नष्ट भयो भने फर्काउन सक्दैनौं। 

यसमा कानुन बनाउनुपर्छ भन्दै आउनुभयो, कहाँ रोकियो ? 

स्वार्थ समूहले चुरे संरक्षणसम्बन्धी कानुन बन्न दिएको छैन। कानुन बनाएर चुरे संरक्षणलाई व्यवस्थित गर्न नयाँ संसद्मा छलफल गर्न ३६५ दिनमा कम्तीमा ७ दिन त दिइयोस्। जनता, जल, जमिन, जंगल र जनावरलाई बचाउनुपर्छ। त्यसमा संसद्को अहम् भूमिका हुन्छ। हामी आशा र कामना गरौं– नयाँ जनप्रतिनिधिहरू समाज र देशप्रति इमान्दार बनून्। प्रकृतिको संरक्षणमा गम्भीर होऊन्। मेरो यही चाहना छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.