पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा गोरखा बजार झिलिमिली (फोटोफिचर)
गोरखा : नेपाल एकीकरणको जग तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा यसवर्ष ३०१औँ पृथ्वीजयन्ती धुमधामले मनाइने भएको छ।
पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा मंगलबार गोरखा बजार तुल ब्यानर, ध्वजा पताकाले झिलिमिली बनाइएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन यसवर्ष नेपाल सरकारले सार्वजनिक विदासमेत दिएको छ।
यतिबेला गोरखा सदरकामुकाको ठूलो आँगनमा इतिहास झल्किने विभिन्न खालका तस्बिरहरूले सजाइएको छ। पुरानो बजार भनेर चिनिने ठूलोआँगन, पँदेली, छहरे, तीनधारे, पुरानो बसपार्क, विपिचोक क्षेत्रमा नेपाल एकीकरणका क्रममा भएका घटनाक्रम स्मरण गराउने तस्बिरहरूले सजाइएको छ।
साथै नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह तथा उनका सेनाले प्रयोग गरेको हातहतियारका तस्बिरहरू पनि सजाइएको छ। पुस २७ गते बुधबार राष्ट्रिय एकता दिवसका अवसरमा गोरखा ठूलोआँगनमा झण्डोत्तोलन तथा विगुलद्वारा विजय ध्वनिसहित ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रमको उद्घाटन हुँदैछ।
साथै त्यहाँ गोरखा नगरपालिकाले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रम पनि हुँदैछ। सालिक र राष्ट्रनिर्माता सलामीको उद्घाटन विशेष समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले गर्ने कार्यक्रम रहेको छ।
प्रधानसेनापतिबाट उद्घाटन भएपछि हरेक दिनको सूर्योदय र सूर्यास्त समयमा नेपाली सेनाको गुरुज्यूको पल्टनले ‘राष्ट्रनिर्माता सलामी’ दिने कार्यक्रम सञ्चालन हुनेछ।
सो अवसरमा हरमटारीदेखि ठूलोआँगनसम्मको सडकको दायाँबायाँ नेपाल एकीकरणको सुरुवात विन्दुदेखि आधुनिक नेपाल निर्माणको जगसम्मको इतिहासको नक्सा विवरणसहित क्रमश तस्वीरहरू सजाइएको छ।
गोरखा नगरपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा इतिहासलाई जर्गेना तथा प्रवद्र्धनका साथै पर्यटन क्षेत्रलाई उजागर गर्नका लागि यो कार्यक्रम सुरु गर्न लागेको हो।
साथै पुस २७ गते नै पृथ्वीजयन्तीको अवसर पारेर विगत २०५४ सालदेखि आयोजना हुँदै आएको ‘गोरखा महोत्सव’ पनि हुँदैछ। महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ।
तस्बिरहरू : शिव उप्रेती











प्रतिक्रिया दिनुहोस !