पुल ठेक्का लाग्यो, काम भएन

पुल ठेक्का लाग्यो, काम भएन

जाजरकोट : जाजरकोटको जुनीचाँदे गाउँपालिका–४ र छेडागाड नगरपालिका–६ जोड्ने कालेखोलाको पुल निर्माणमा ढिलाइ भएको छ। ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो। गएको चैतमा पुल निर्माणको ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले पुस महिना बित्नैलाग्दा पनि कामको सुरुवात गरेको छैन। 

समयमा पुल नबन्दा यातायात सञ्चालनमा समस्या भएको छ। जय बागेश्वरी बाँके नेपालगन्जले २०७८ चैत १८ गते पुल निर्माणको ठेक्का लिएको हो। ८ करोड ९० लाखमा ठेक्का लिएको कम्पनीले काम नै सुरु नगरेर पुल निर्माण अलपत्र पारेको हो। ७० मिटर लम्बाइ र साढे सात मिटर चौडाइको मोटरेबल पुल दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ। तर, ठेक्का लिएको ९ महिनासम्म पनि ठेकेदारले पुल निर्माण कार्य सुरु गरेको छैन । 

९ महिनासम्म पनि पुल निर्माणको काम सुरु हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ। सडक डिभिजन कार्यालयले गएको जेठ २० गते नै इन्जिनियर प्रज्वल सुनारको नेतृत्वमा ठेकेदार कम्पनीलाई साइट देखाउने काम गरिसकेको छ। त्यसबेला ठेकेदार कम्पनीले तोकिएकै समयमा काम सुरु गर्ने बताएको थियो। तर, समयमै पुल निर्माण सुरु गर्नुको सट्टा ठेकेदार नवीन श्रेष्ठ भने मंसिरदेखि सम्पर्कबिहीन बनेका छन्। उनी सडक डिभिजन कार्यालय चौरजहारी, जुनीचाँदे गाउँपालिका र स्थानीयको सम्पर्कमा आएका छैनन्। 

सडक डिभिजन कार्यालय चौरजहारीले पुल निर्माणका लागि पटकपटक ताकेता गर्दै आएको छ। ‘पटकपटक पत्र काटेर काम सुरु गर्नु भनेका छौं’ सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले भने, ‘तर, ठेकेदार कम्पनी सम्पर्कमा नै आएको छैन।’ तोकिएकै समयमा पुल निर्माण सुरु नभएपछि स्थानीयवासी पनि आक्रोशित बनेका छन्। ‘ठेक्का लाग्नासाथ पुल निर्माण सुरु गर्छु भनेको थियो’ जुनीचाँदे ४ का वडाध्यक्ष हरिबहादुर खड्काले भने, ‘तर, ९ महिना बितिसक्दा पनि काम सुरु भएन।’ 

सुरुमा ठेकेदारले समयमै काम गर्ने भन्दै वडा कार्यालयले सहयोग गर्नुपर्ने बताएका थिए। ‘ठेकेदार स्वयंले नै आवश्यक सहयोग गर्नुप¥यो भन्थे, हप्तादिनमा काम सुरु गर्छु भनेका थिए’ वडाध्यक्ष खड्काले भने, ‘तर, सामानको चाँजोपाँजो मिलाउँदैछु भन्दाभन्दै ९ महिना कटाइसक्यो।’ असोजअघि ठेकेदारले वडा कार्यालयलाई सडक डिभिजन कार्यालयले पुलको डीपीआर उपलब्ध नगराएका कारण काम सुरु गर्न समस्या भएको बताउने गरेका थिए। ‘कहिले डीपीआर पाएको छैन भनेर ढाँट्यो’ उनले भने, ‘असोजपछि भने काम गर्न नसक्ने भन्दै ठेकेदार सम्पर्कबिहीन भएको छ।’ 

कालेखोलामा पक्की पुल नहँुदा स्थानीयले सास्ती खेप्दै आएका छन्। पुल नभएकै कारण असारदेखि असोजसम्म सवारीसाधनले खोला पार गर्न सक्दैनन्। समयमै कालेखोला पुल निर्माण सुरु नगरेपछि सडक डिभिजन कार्यालय चौरजहारीले जय बागेश्वरी बाँके नेपालगन्जसँग सम्झौता तोड्ने चेतावनी दिएको छ। दुईपटक पत्र काट्दा पनि बेवास्ता गरेका कारण छिट्टै सम्झौता तोडेर निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने तयारी भएको कार्यालयले जनाएको छ। 

‘छिटो काम सुरु गर्नु भन्दै मंसिर र चैतमा गरेर दुईपटक पत्र काटिसक्यौं, तर, ठेकेदारले वास्ता गरेन’ सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले भने, ‘अब सम्झौता तोडेर कालोसूचिमा राख्न सिफारिस गर्छौं।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.