भूकम्पले बाजुरामा क्षति

भूकम्पले बाजुरामा क्षति

बाजुरा : हिमाली गाउँपालिकाको बिच्छयालाई केन्द्रबिन्दु रहेको भूकम्पका कारण मंगलबार एक जनाको मृत्यु भएको छ। ठूलो भौतिक क्षति पुगेको छ। धेरै घर भत्किएका छन्। चराउन लगेका भेडालगायत पशु मरेका छन्। 

गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको बाजुराका जिल्ला प्रहरी प्रमुख डीएसपी सूर्यबहादुर थापाले बताए। वडाध्यक्ष देबहादुर रोकायाका अनुसार जुरेली जंगलमा घाँस काटिरहेको बेला भूकम्प आउँदा ढुंगा पल्टिएर लाग्दा उनको घटनास्थलमै ज्यान गएकोे हो। घटना भएको भनिएको ठाउँमा प्रहरी टोली गएको डीएसपी थापाले बताए। 

‘स्थानीयवासीले दिएको जानकारीअनुसार मृत्यु भएको खबरपछि प्रहरी टोली घटनास्थलतिर गएको छ’, थापाले भने। प्रहरी चौकीबाट घटनास्थल तीन–चार घण्टाको पैदल दूरीमा पर्छ। प्रहरी टोली घटनास्थल पुगेपछि मात्र थप विवरण आउने थापाले बताए। गौमुल गाउँपालिका—१ का एक जना घाइते भएका छन्। जंगलमा भेडा चराउन गएका बेला भूकम्पले भीर फुट्दा रामदल बोहोरा घाइते भएका हुन्। उनका टाउको, हात र खुट्टामा चोट लागेको छ। घाइतेको उपचार अम्लिस स्वास्थ्यचौकीमा भइरहेको स्थानीयवासी सुभाष रोकायाले बताए। पहिरोले रामदलका ५० भन्दा बढी भेडा मरेका छन्। 

भूकम्पका कारण बडिमालिका–७ रजातोलीका हरिचन्द पाध्याय, सोही वडाको सिराडीका धनबहादुर बिक र करबिरे लोहारको घर पूर्णरूपमा भत्केका छन्। त्यस्तै बडिमालिका ८ का हर्क गुरुङको घर भत्केको छ। तुला थापा, जया रावल र रूपा रावलको घर चर्केर बस्न नसक्ने बनेको छ। 

बडिमालिका—९ का किट्टो लुहार, गोले थापा, बसन्त विक, गचे चदारा, शान्ति धोजाली, सुर्जा विक, लाल चदारा, प्रकाश चदारा र गोरख चदाकाका घर पूर्ण रूपमा चर्किएको वडाध्यक्ष सूर्यकिरण विकले बताए। बडिमालिका–२ का वडाध्यक्ष डम्मर महतका अनुसार वडाका दिल हमाल, नरेन्द्र हमाल र भौनेरा मावि भवनमा क्षति पुगेको छ। 

हिमाली–६ को भवानी माविको तीनकोठे भवन भत्केको छ। अर्को भवन चर्र्किएको गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताइन्। सोही वडाका धनराज सज्याल, नन्दकृष्ण पाण्डे, उमाकान्त पाण्डे, नन्द बुढा, नन्दकृष्ण पाण्डेको घरमा क्षति भएको छ। हुम्लाको ताजाकोट घर भई दिदीको घरमा आएकी १६ वर्षीया सरिता नेपाली भाग्न खोज्दा घाइते भएकी छन्। उनको उपचार धिम स्वास्थ्य चौकीमा भइरहेको छ। 

वडा नंं. ५ का कर्णबहादुर बुढथापा, धनबहादुर कार्की, प्रदीप थापा, शम्भुलाल कार्कीका घर चर्किएका छन्। हिमाली— ४ कै धीरेन्द्र मल्ल, ज्ञानेन्द्र मल्लको घरको पछाडितिरको भाग भत्किएर क्षति भएको छ  बिच्छयामा हिमपात हुँदा टेलिफोन सम्पर्क गर्न गाह्रो भएको डीएसपी थापाले बताए। बिच्छयामा प्रहरी चौकी छ। तर प्रहरीले चलाउने सेट छैन। त्यसैगरी जिल्लाका अन्य ठाउँमा पनि टेलिफोन गडबडीका कारण सम्पर्क हुन नसकेको डीएसपी थापाले बताए। 

जिल्लामा बिहानदेखि उच्च हिमाली क्षेत्रमा हिउसँगै पानी परिरहेको छ। बेसीतिर पानी परिरहेको छ। विस्थापितलाई स्थानीयवासीको सहयोगमा आफन्तले छिमेकीको घरमा बसाल्ने वातावरण मिलाएको बडिमालिका– ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए। 

प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार भौगोलिक कठिनाइका कारण विवरण संकलनको काम गाह्रो भएको छ। तत्काल राहतको लागि स्थानीय पालिकालाई अनुरोध गरिएको छ। विवरण संकलनपछि राज्यले तोकेबमोजिमको राहत तत्काल दिने गरी काम अगाडि बढाउने खड्काले बताए। 

मंगलबार दिउँसो २ः४३ बजे बाजुराको हिमाली गाउँपालिकाको बिच्छया आसपास केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका अधिकांश जिल्लामा भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.