तानसेनमा सडकमै खाए, सडकमै रमाए पर्यटकहरू
तानसेन : आन्तरिक तथा बाह्य पर्यटकहरू पाल्पाको सदरमुकाम तानसेनमा सडकमै खाई सडकमै रमाएका छन्। लामो समयसम्म कोरोना संक्रमणको कारण घरभित्रै खुम्चिएका पर्यटकहरूलाई सडक खाना महोत्सवले बाहिर ल्याएको छ।
तानसेनको मखनटोल टोल विकास संस्थाको आयोजनामा तानसेन नगरपालिका-४ को समन्वयमा भएको सडक खाना महोत्सवमा बजार चलायमान बनाएको छ। कोभिड संक्रमणसँगै छाएको आर्थिक मन्दिका कारण व्यवसायीहरू आत्तिएको समयमा महोत्सवले केही राहत थपेको छ।
सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको महोत्सवमा दर्शक तथा पर्यटकहरूको घुइँचो नै लागेको थियो। दर्शकहरूको अत्यधिक भिडभाड भएको कारण सबै व्यवसायीहरूको खानाका परिकारहरू सकिएका थिए।
आर्थिक मन्दिको कारण जताततै आर्थिक समस्या बढ्दै गएको समयमा तानसेनमा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्राउन, आर्थिक गतिविधि बढाउन, पलायन हुन खोजिरहेका व्यवसायीहरूको उत्साह बढाउन, एउटै स्थानमा फरक फरक स्वादका परिकारहरू खुवाउनका लागि सडक खाना महोत्सव आयोजना गरिएको संस्थाकी अध्यक्ष प्रमिला कार्कीले बताइन्।
तानसेनको हुलाक चोकदेखि शित्तलपाटी चोकसम्म सञ्चालन गरिएको महोत्सवमा विभिन्न परिकारकाका ५० भन्दा बढी स्टलहरू रहेका थिए। महोत्सवमा नेवारी, मगरी, बाहुन क्षेत्री, मुस्लिम समुदायमा लोकप्रिय परिकारहरू रहेका थिए।
पाल्पामा चर्चित रहेको बटुक र चुकाउनी सबैका लागि प्रिय परिकारका रूपमा पर्यटकहरूले रुचाएका थिए। महोत्सवमा स्थानीय कृषि उत्पादनका परिकार, कागतीको अचार पर्यटकहरूको रोजाई बनेको थियो।
तानसेनमा आफैंमा पर्यटकीय शहर भएको, पर्यटकहरूलाई आर्कषण गर्न, बसाई लम्वाउन, सडक खाना महोत्सवले टेवा पुर्याएको तानसेन नगरपालिकाका विशाल ओलीले बताए।
मखनटोल टोल विकास संस्थाले तानसेनमा पर्यटकीय गतिविधि बढाउन, महिलाहरूलाई हरेक क्षेत्रमा क्रियाशील बनाउन, आयआर्जन वृद्धि गर्न महोत्सवजस्ता कार्यक्रम गर्दै आएको छ। संस्थाको यो पाँचौ सडक खाना महोत्सव हो।
'महोत्सवमा हामी निकै उत्साहित भएका छौं, स्थलमा राखिएका सबै परिकारहरू सकिएका छन्, हामीले सोचेभन्दा बढी दर्शक पर्यटक र कारोवार भएका पाएका छौं, तानसेनमा पर्यटकहरू भित्राउन नियमित रूपमा यस्ता कार्यक्रमहरू जरुरी छ', सडक खाना महोत्सवकी संयोजक प्रविता शाक्यले भनिन्।
प्रतिक्रिया दिनुहोस !