सडक नै नपुगेको गाउँपालिकाको इन्धन खर्च ५ लाख
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामै सवारी मर्मत तथा इन्धनमा ५ लाख रकम खर्च गरेको छ। पालिका केन्द्रलाई नै सडक सञ्जालले जोड्न बाँकी रहेको उक्त गाउँपालिकाले सवारी मर्मत तथा इन्धन खर्चमा ६ महिनामै करिब ५ लाख रुपैयाँ रकम खर्च गरेको हो।
खुम्बुका ५ वडामध्ये वडा नम्बर १ बाहेक अन्य वडाहरुमा हालसम्म सडक सञ्जाल पुग्न सकेको छैन। तर पालिकाका जनप्रतिनिधिले इन्धन खर्च बापत ठुलो रकम खर्च गरेको पाइएको छ। पालिकाले बजेट मार्फत नै एक वर्षका लागि इन्धन खर्चका लागि ५ लाख रकम विनियोजन गरेको तर ६ महिनामै सबै रकम खर्च भएपछि थप गर्नुपर्ने स्थिति देखिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाइँले बताए।
यद्यपी पालिकाको गाडी भएको विषयमा वडाका अन्य जनप्रतिनिधिहरु भने अनविज्ञ छन्। एक वडाध्यक्षले भने, ‘हाम्रो पालिकाको आफ्नै सवारी साधन छ भन्ने बारे मलाई जानकारी छैन।’ प्रमुख प्रशासकीय अधिकृत चापागाइँले भने पालिकाको एउटा ल्याड क्रुजर गाडी काठमाडौंमा सञ्चालन भइरहेकाले खर्च भएको बताए।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर १ स्थित थामडाँडासम्म मात्रै सडक ट्रयाक ओपन भएको छ। सडक ट्रयाक ओपन कार्य भइरहेकाले पालिका केन्द्रसम्म सडक पुग्न समय लाग्ने गाउँपालिकाले जनाएको छ।