पार्टी ‘पुनर्निर्माण’ अभियानमा माओवादी
![पार्टी ‘पुनर्निर्माण’ अभियानमा माओवादी](https://annapurnapost.prixacdn.net/media/albums/Prachanda11111111_20230109180254_uaLnwoQpM3_fihctNZljU.jpg)
अध्यक्ष दाहालको एकलौटीपनले पार्टी टुटफुट भएपछि माओवादी कमजोर हुँदै गएको देखिन्छ। डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द, रामबहादुर थापालगायत नेताले पार्टी छाडे।
काठमाडौं : माओवादी केन्द्रले पार्टीलाई बलियो बनाउन दुई महिने संगठन निर्माण अभियान चलाउने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले यससम्बन्धी सर्कुलर पालिका, जिल्ला र प्रदेश तहमा पठाएका छन्। उनीहरूले पार्टी सरकारमा पुगेकाले अहिलेको अवस्था संगठन निर्माण गर्न सुनौलो अवसर भएको जनाएका छन्।
‘हामी यति बेला गम्भीर चुनौती र महान् अवसरका बीचमा आइपुगेका छौं। प्राप्त अवसर पार्टी पुनर्निर्माणको बलियो आधार बनेको छ’, सर्कुलरमा लेखिएको छ, ‘सिंगो पार्टीपंक्ति एकढिक्का भएर जनस्तरका समस्याहरू समाधान गर्न लाग्नुपर्छ। पार्टी पुनर्निर्माण र सबै तहका सरकारलाई सफल तुल्याउन दृढतापूर्वक लाग्न जरुरी छ।’ अध्यक्ष दाहालले यसबारे बिहीबार केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधनसमेत गरेका छन्।
यो अभियानमा वैचारिक राजनीतिक र संगठनात्मक कुरा गरिने भएको छ। नेता तथा कार्यकर्ताले जनस्तरसम्मका भेटघाट, छलफल, सुझाव र रचनात्मक आलोचना संकलन गर्ने जनाइएको छ। पार्टी सदस्यको अभिलेखीकरणलाई चुस्तदुरुस्त बनाउँदै पार्टीका सबै समितिले एक समिति एक उत्पादनको योजना बनाई कार्यान्वयन गर्न सर्कुलरमार्फत निर्देशन दिइएको छ।
अभियानका क्रममा चुनावमा भएको घात, अन्तर्घातबारे छलफल चलाइने उल्लेख छ। यसबारे केन्द्रीय कार्यालयमा उजुरी परेको छ। ‘स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा भए-गरेका घात, अन्तर्घात र प्रतिघातका विषयमा सम्बन्धित तहका बैठक राखी समीक्षा गराउने, आलोचना र आत्मालोचनाको विधिद्वारा हल गर्न प्रयत्न गर्ने’, अध्यक्ष दाहालले सर्कुलरमा भनेका छन्, ‘कारबाही नै गर्नुपर्ने स्थितिमा बैठकको निर्णयसहितको लिखित प्रतिवेदन प्रदेश र केन्द्रीय कार्यालयमा पठाउने।’
केन्द्रीय सदस्यलाई संघको निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, महानगरपालिका र उपमहानगरपालिकामा कार्यरत रहने गरी जिम्मेवारी ठोस गरिएको छ। प्रदेश समन्वय समितिको बैठक माघ २७ देखि फागुन ५ गतेसम्म सक्ने योजना देखिन्छ। २७ मा प्रदेश १ र बागमती, २८ मा मधेस, २९ मा गण्डकी, फागुन २ मा लुम्बिनी र सुदूरपश्चिम प्रदेश, फागुन ३ मा कर्णाली र प्रवास प्रदेश र ५ मा उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश बैठक बस्ने जनाइएको छ।
केन्द्रीय समितिकै क्षेत्राधिकार प्रत्यायोजन गरी संगठनात्मक कार्यविभाजन, संगठन सञ्चालन तथा परिचालन, पार्टी स्कुल सञ्चालन र निर्वाचनको समीक्षालगायत कार्य गरिने महासचिव गुरुङले जनाएका छन्।
अध्यक्ष दाहालको एकलौटीपनले पार्टी टुटफुट भएपछि माओवादी कमजोर हुँदै गएको देखिन्छ। डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द, रामबहादुर थापालगायत नेताले पार्टी छाडे।
पहिलो संविधानसभा निर्वाचनमा ६ सय १ मध्ये २ सय २९ सिट जित्दै पहिलो दल बनेको थियो। तर, दोस्रो संविधानसभा निर्वाचनसम्म त्यो कायम रहेन। त्यस बेला ६ सय १ मध्ये ८० सिटमा खुम्चियो। र, तेस्रो दलमा सीमित हुन पुग्यो। उसले प्रतिनिधिसभा निर्वाचन २०७४ मा २ सय ७५ मध्ये ५३ सिट मात्रै पायो। प्रतिनिधिसभा निर्वाचन २०७९ मा ३२ सिटमा सीमित रह्यो। सरकारको नेतृत्वमा रहे पनि माओवादी तेस्रो दल मात्रै बनेको छ।
पार्टी एकताको कसरत
दाहाल पुराना सहयात्रीलाई फर्काएर पार्टीलाई बलियो बनाउन चाहन्छन्। त्यसका लागि माओवादीले विचार मिल्ने पार्टीसँग एकता प्रक्रिया अघि बढाएको छ। वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो। त्यो समितिले डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी समाजवादी, चन्द नेतृत्वको नेकपालगायत वाम पार्टीसँग छलफल चलाएको छ।
‘विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने र अन्य वाम पार्टी, समूह र व्यक्तिहरूसँग संयुक्त मोर्चा निर्माण र सहकार्य गर्ने गरी वार्ता अगाडि बढिरहेको छ’, महासचिव गुरुङले सर्कुलरमा उल्लेख गरेका छन्।
सापकोटा र भुसाल उपाध्यक्ष
माओवादी केन्द्रले महाधिवेशन भएको एक वर्षपछि पार्टी पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समितिलाई पूर्णता दिएको छ। बैठकले अग्निप्रसाद सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत गरेको छ। माओवादीले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३ सय ८६ सदस्यीय केन्द्रीय समितिको पार्टी संरचनालाई पूर्णता दिएको हो। त्यसैगरी २ सय २ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन गरेको छ। माघ १२ देखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले संगठनलाई पूर्णता दिने निर्णय गरेको थियो।
०००
माओवादीको ओरालो यात्रा
संविधानसभा निर्वाचन-२०६४
६०१ मध्ये जितेको सिट संख्या-२२९
संविधानसभा निर्वाचन-२०७०
६०१ मध्ये जितेको सिट संख्या-८०
प्रतिनिधिसभा निर्वाचन-२०७४
२७५ मध्ये जितेको सिट संख्या- ५३
प्रतिनिधिसभा निर्वाचन -२०७९
२७५ मध्ये जितेको सिट संख्या ३२
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)