पेट्रोल पम्पमा विद्युत् ब्याकप नहुँदा सेवाग्राहीलाई सास्ती
![पेट्रोल पम्पमा विद्युत् ब्याकप नहुँदा सेवाग्राहीलाई सास्ती](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_v8MI8egrnD_M4PizcguGQ.jpg)
सोलुखुम्बु : सोलुखुम्बुमा सञ्चालित पेट्रोल पम्पहरूमा विद्युत् ब्याकप नहुँदा सेवाग्राहीलाई समस्या भएको छ।
जिल्लामा सञ्चालित दुईवटै पम्पमा विद्युत् ब्याकप छैन। सल्लेरीमा रहेको दूधकोशी आयल स्टोर्समा ब्याकप नहुँदा विद्युत् सेवा अवरुद्ध हुने वित्तिकै सेवा ठप्प हुने गरेको छ। गार्मास्थित नमूना दूधकुण्ड आयल पम्पस्टोर्समा पनि सोही समस्या छ।
जिल्लामा बारम्बार विद्युत् अवरुद्ध हुने भएकाले इन्धन भर्ने सवारी चालकहरूले सास्ती खेप्नु परेको छ।
पम्पले विद्युतकै कारण देखाउँदै लामो समय कुराउँदा अत्यावश्यक कामहरू प्रभावित हुने गरेको सवारी चालक रमेश कार्कीले बताए।
सोमबार विद्युत् सेवा अवरुद्ध हुँदा धेरै सवारी चालकहरू लामो समय पम्पमा कुर्न बाध्य थिए।
सोही समस्या बारम्बर दोहोरिरहने गरेको चालक शम्भु विश्वकर्माले बताए। कतिपय अवस्थामा बिरामी बोकेको एम्बुलेन्सहरू समेत इमर्जेन्सीमा इन्धन भर्न जानुपर्ने भएकाले समस्या हुने चालकहरू बताउँछन्।
उनीहरूले विद्युत् नहुँदा सेवाग्राहीलाई कुराउने तथा रित्तो हात फर्काउने गरेको सवारी चालकहरू बताउँछन्।
सो विषयमा आफ्नो ध्यानार्कषण भएकाले थप छलफल गरेर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)