निर्वाचन बिथोल्न खोजे  फौजदारी कसुर

निर्वाचन विरोधी गतिविधि गर्नेहरू सरकारको उच्च निगरानीमा

निर्वाचन बिथोल्न खोजे  फौजदारी कसुर

काठमाडौं : सरकारले मतपत्र लुट्ने, ब्यालेट खोस्न खोज्ने लगायतका निर्वाचन बिथोल्ने गतिविधिमा संलग्नलाई फौजदारी कसुरमा मुद्दा चलाउने चेतावनी दिएको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै निर्वाचनका क्रममा आचारसंहिताविपरीत काम गर्ने व्यक्ति, उम्मेदवार तथा मतदानस्थलमा खटिने कर्मचारीसमेत कानुनी कारबाहीमा पर्ने बताएको छ ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिने, नष्ट गर्ने वा निर्वाचनमा प्रयोग हुन नदिने वा कुनै पनि हस्तक्षेप गर्ने व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद सजाय गरिनेछ। यस्तै आयोगले निर्धारण गरेको भन्दा बढी खर्च गरेमा अर्कोपटक उम्मेदवार हुन रोक्नेसम्मको सजाय हुनेछ। झुटा विवरण दिएर उम्मेदवारी दिएको थाहा भएमा पच्चिस हजारसम्म जरिवाना हुनेछ। 

बिहीबार हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सीमा पूणरूपमा बन्द गरिएको छ। देशका विभिन्न स्थानबाट अहिलेसम्म १ सय ७४ जनालाई पक्राउ गरिएको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १ सय ४२ जना पक्राउ परेका छन्। यस्तै नेपाल प्रहरीले गठन गरेको निर्वाचन साइबर सेलले अफवाह फैलाउने ३२ जना पक्राउ गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार निर्वाचन विरोधी गतिविधि गर्ने, प्रचार–प्रचारमा विरोध गर्ने, जस्ता गतिविधि गरेको १ सय ४२ जना देशभरबाट पक्राउ परेका हुन्। सोमबारमात्रै ९ जना पक्राउ परेका थिए। यीमध्ये ७६ जना प्रहरी हिरासतमा छन्, अन्य छुटिसकेका छन्। ‘उनीहरूको गतिविधि र कसुर हेरिकन मुद्दा अगाडि बढाउँछौं,’ प्रवक्ता काफ्लेले भने।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर अफवाह फैलाएको आरोपमा ३२ जना पक्राउ परेका हुन् । उनीहरूले डिप फेक फैलाउने, भ्रामक र मिथ्या सूचना फैलाउने जस्ता गतिविधि गरेका थिए। सामाजिक सञ्जालमा भिडियो अपलोड तथा सेयर गरी झुटा खबर फैलाउँदै उनीहरूले मतदातामा आतंक सिर्जना गरेको प्रहरीले जनाएको छ। 

निर्वाचन आयोगले पनि प्रहरी प्रधान कार्यालय, प्रहरीकै साइबर ब्युरो लगायतलाई परिपत्र गरेर निर्वाचनमा अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउन अनुरोध गरेको थियो।

आचारसंहिता उल्लंघनका १६ सय बढी उजुरी

निर्वाचन आयोग र यससँग सम्बन्धित अन्य कार्यलयहरूमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ सय बढी उजुरी परेका छन्। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार केन्द्रमा ६१२ वटा उजुरी परेका छन्। यसमध्ये ९६ वटा स्पष्टीकरण सोधिएको छ। १० जनालाई मुद्दा चलाउने सिफारिस पनि गरिएको छ। केहीलाई कारबाहीसमेत भएको छ। जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष १ हजार ७६ वटा बढी उजुरी परेका छन्। 

जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष परेका उजुरीमध्ये धेरै फछ्र्यौट गरिएको छ। प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ वटा उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन्। प्राप्त उजुरीमध्ये ९ प्रतिशत लिखित र ९१ प्रतिशत टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले भन्छन्, ‘निर्वाचन गराउनका लागि सबै कर्मचारी बुथमा पुगिसकेका छन्। मतपत्रसहित निर्वाचन सामग्री पनि पुगिसकेको छ।’ स्थानीय स्तरमा सर्वदलीय बैठक पनि सम्पन्न भएको छ। मतदान कर्मचारीसँगै सुरक्षाकर्मी पनि तयारी अवस्थामा छन्। सबै सुरक्षा निकायको स्टाइकिङ र मोवाइल टोली परिचालन भइसकेको छ। 

नेपाली सेनाको सबै सुरक्षा कमाण्ड परिचालन भैसकेको छ। विभिन्न ठाउँहरूमा विशेष सुरक्षा टोली तथा बम डिस्पोजल टोली पनि तयारी अवस्थामा छन्। सशस्त्र प्रहरी बल नेपालले सीमा नाकामा निगरानी बढाएको छ। ७२ घण्टाका लागि सीमानाका सिल गरिएको छ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले देशको सुरक्षा अवस्था अत्यन्तेै मजबुत भएको बताएका छन्। सबै मतदान केन्द्र र मतदान स्थलमा निर्वाचन सामग्रीसहित सुरक्षाकर्मी पुगिसकेका छन्। प्रहरीले निर्वाचनको दिन हुनसक्ने खतराको पहिचान, मूल्यांकन र विश्लेषण गरिरहेको छ। ‘सूचना संकलनमा अत्यन्तै सक्रियतापूर्वक काम गरिरहेका छौं। 

सामाजिक सञ्जालको दुरुपयोग विषयमा विशेष निगरानी गरिरहेको छ,’ काफ्लेले भने, ‘मौन अवधीमा हुनसक्ने निर्वाचन विरोधी गतिविधिको विषयमा प्रहरीले सूक्ष्म निगरानी बढाएको छ।’

हल्लाहरू फैलन सक्छन्, ख्याल गर्नुस्ः निर्वाचन आयोग 
निर्वाचन आयोगले सामाजिक सञ्जालमा भएका गतिविधिलाई निगरानी गरिरहेको जनाएको छ। दुरुपयोग गरे सजायको भागिदार हुनुपर्ने आयोगले जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी भन्छन्, ‘अन्तिममा उम्मेदवाहरूले विभिन्न हल्लाहरू पनि चलाउन सक्छन्, शुभेच्छुक र शुभचिन्तकहरूले त्यस्ता सामग्रीहरूको दुरुपयोग पनि गर्न सक्छन्। यदि त्यस्तो दुरुपयोग भएको छ भने उम्मेदवार र सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पनि सजायको भागिदार हुनुपर्छ।’ 

सबै सरोकारवालाहरू सचेत भएर पहिला सामाजिक सञ्जालमा सम्प्रेषण भएको समाचार सही हो कि गलत हो त्यो छुट्ट्याइदिन पनि आयोगले आग्रह गरेको छ।

काठमाडौंमा २ वटा गाडी जलाइयो 
निर्वाचन सुरक्षालाई खलल पुर्‍याउने समूहले विभिन्न ठाउँमा हिंसात्मक गतिविधि गरेका छन् । पोखरामा बम राखिएको भन्दै आतंक नै फैलाइयो। काठमाडौंको नैकाप र सुकेधारामा दुईवटा गाडी आगजनी गरिएको अवस्थामा फेला परेको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार मंगलबार बिहान काठमाडौंका दुई ठाउँमा गाडी आगजनी भएको अवस्थामा फेला परेको थियो। उनका अनुसार नैकापस्थित पुलनजिकै एउटा बा ७ च १४०१ नम्बरको भ्यान आगजनी भइरहेको अवस्थामा फेला परेको थियो। 
सुकेधारामा पनि अर्को बिएए २८३६ नम्बरको कार आगजनी भएको अवस्थामा फेला परेको हो। बिहान पौने ३ र पौने ४ बजेतिरको घटना हो। आगजनी भएको खबर प्राप्त भएपछि दमकल पुगेर आगो निभाइएको थियो। 
घटनामा संलग्न भएको भन्दै एक जना पक्राउ परेका छन्। गाडी जलाएको स्थानमा दुर्गा प्रसाईंका समूहको केही प्रचारहरू पनि फेला परेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.