प्रमुखमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै क्याम्पस बन्द
गोरखाः क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात गर्नेलाई कानूनी दायरमा ल्याउन दबाब दिँदै स्वतन्त्र विद्यार्थी युनियनले द्रव्यशाह बहुमुखी क्याम्पस अनिश्चित कालसम्मका लागि बन्द गरेको छ।
किटानी जाहेरी दिँदा पनि प्रहरीले कानुनी कारवाही अघि नबढाएको भन्दै पठनपाठन बन्द गरेको स्ववियूले विज्ञप्तिमार्फत जानकारी गराएको छ। स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रविण बस्नेतले जारी गरेको विज्ञप्तिमा क्याम्पस तोडफोड र प्रमुखमाथि कुटपिटमा संलग्नलाई उजुरी गर्दा पनि प्रहरीले कानुनी कारवाही नगरेकाले अनिश्चितकालिन क्याम्पस बन्द गरिएको उल्लेख छ।
क्याम्पस प्रमुख दुवाडीलाई फागुन २ गते अखिल क्रान्तीकारीका द्रब्यशाह बहुमखी क्याम्पसका इकाई अध्यक्ष अनिष अर्यालको नेतृत्वमा केही व्यक्तिहरुले कार्यकक्षमा कुटपिट र तोडफोड गरेका थिए। ‘उक्त घटनालाई विभिन्न बाहनाबाजीमा राजनीतिकरण गर्ने, गुपचुप राख्ने, आन्तरिक मेलमिलापको चेष्टा गरेको प्रति स्वतन्त्र विद्यार्थी युनियन घोर भत्र्सना गर्दछ’ सभापति बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कुटपिट र तोडफोडमा संलग्नलाई कानुनी कारवाही नगर्दासम्म क्याम्पसको पठनपाठन र प्रशासन बन्द रहने बताइएको छ। शुक्रबार बिहानी र दिवा सत्रका कुनैपनि कक्षा संचालन नभएको क्याम्पसले जनाएको छ।