त्रीदेशीय लिंक रोड किमाथांका-जोगवनीको ‘ब्रेक थ्रु’
खाँदबारी : त्रीदेशीय लिंक रोडको रूपमा रहेको किमाथांका-जोगवनी सडकको ‘ब्रेक थ्रु’ गरिएको छ। मित्रराष्ट्र चीन-भारत जोड्ने छोटो सडकको सोमबार ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, रक्षामन्त्री मानविर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितीमा ‘ब्रेक थ्रु’ गरिएको हो।
ब्रेक थ्रुपछि खाँदबारीदेखि किमाथांकासम्मको १ सय ५८ किलोमिटर सडकको दूरी जोडिएको छ। भोटखोला गाउँपालिकाको च्याम्ताङ-घोङगोप्पाको करिब १० किलोमिटर क्षेत्रमा कडा चट्टान फोर्न बिस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई ट्रायक खोल्न दिने निर्णय गरेको थियो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडक खण्डको बाँकी काम सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाए। ‘यो राष्ट्रिय गौरवको आयोजना रहेकाले बजेटको अभाव हुन दिइने छैन,’ मन्त्री दाहालले भने। यस सडक खण्डमा पर्ने पुल निर्माण र सडकको स्तरोन्नतिका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने समेत जनाए।
उर्जामन्त्री खड्काले त्रीदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल, भारत र चीनसहित बंगलादेशले फाइदा लिनसक्ने बताए। यो सडक जोडिएसँगै त्रीदेशीय पारवाहनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ। मन्त्री खड्काले सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रहसमेत गरे। सरकारले यसलाई प्राथमिकतामा राख्नु पर्ने खड्काको भनाइ छ।
समय अगावै सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको भन्दै नेपाली सेनालाई कार्यक्रममा रक्षामन्त्री राईले धन्यवाद दिए। उनले बाँकी काम पनि चाँडो सम्पन्न गर्नेगरी काम गर्न नेपाली सेनालाई आग्रह गरे। सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको १ सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ। यसअघि नै किमाथांकाबाट घोङघोप्पासम्म १४ किमी सडकको कच्ची ट्र्याक खुलिसकेको छ।
आर्थिक वर्ष ०६५/६६ देखि किमाथांका सडक जोड्न प्याकेजमा काम सुरु भएको सडकको हटिया खण्डमा हेलिकोप्टरबाट ट्रयाक्टर र स्काभेटर ढुवानी गरिएको थियो।
सडक विस्तारले मित्रराष्ट्र चीनसँग व्यापार बढाउने र जिल्लाका उत्तरी भेगका नागरिकले यातायात तथा अन्य सुविधा पाउनेछन्। यस सडकले कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरबासी प्रत्यक्षरूपमा लाभान्वित हुनेछन्। किमाथाङ्का नाका चीनसँग जोडिने सबैभन्दा होचो र मानवबस्ती रहेको नाका हो।
प्रतिक्रिया दिनुहोस !