राष्ट्रपतिबारे माधव नेपालले भने- पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ
![राष्ट्रपतिबारे माधव नेपालले भने- पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ](https://annapurnapost.prixacdn.net/media/albums/madhav-nepal_gByPaPuouI_hsluwVpeWS.jpg)
दाङ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमर नेपालले राष्ट्रपति निर्वाचनलाई पावर सेयरिङको रुपमा लिने संकेत गरेका छन् । दाङको भालुबाङमा पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको दावी गरे ।
'अहिले बजारमा हल्लाहरू धेरै छन् । चर्चापरिचर्चाहरू धेरै छन् । यस सन्दर्भमा कुनै टुंगोमा लागेको छैन,' उनले भने चाहना राख्ने कुरा बेग्लै हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन । तर,पार्टीको धारणा के छ भन्दा खेरि पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ ।'
पावर सेयरिङमा भूमिका नगरेर अरुकै लागि सधैं बलिदान नहुने भन्दै उनले अरुले फाइदा उठाउने कुरा मान्य नहुने बताए । राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको उल्लेख गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको समाचार सार्वजनिक भएपनि नेपालले कतिपय कुराहरूलाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए ।
'प्रेसमा आएका सबै समाचारहरू साँचो हुन्छन् भन्ने छैन,' उनले भने,'अहिले नै बोल्ने कुराको हतार गर्नु हुन्न । हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ ।'
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पार्टीको ध्यान देशको हितमा रहेको बताए ।
चुनावअघि राष्ट्रपति पदमा झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड 'सहमत रहेको खुलाए । तर,झलनाथ खनाल निर्वाचनमा पराजय भएपछि राष्ट्रपति को बन्ने भन्ने विषयमा ठोस निर्णय नभएको उनले दावी गरे ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)