शक्तिशालीको मूर्खता
नैतिक शिक्षा : प्रकृतिबाट पाएको चिजलाई हामीले सम्मानपूर्वक स्वीकार गर्नुपर्छ, नत्र ज्यान जोखिममा पर्न सक्छ।
एउटा पोखरीमा विशाल नामको कछुवा बस्थ्यो। उसँग एउटा बलियो हतियार थियो। उक्त कवचले उनलाई शत्रुहरूबाट सुरक्षित राख्न मद्दत गथ्र्यो। त्यही कवचका कारण कति पटक उनको ज्यान जोगिएको पनि थियो।
एकपटक एउटा भैंसी त्यही पोखरीमा पानी पिउन आएको थियो। भैंसीको खुट्टाले विशाललाई थिच्यो। यसरी एउटा ठूलो भैंसीको खुट्टा आफूमाथि पर्दा पनि विशाललाई भने केही भएन। त्यही कवचरूपी हतियारले उसको ज्यान जोगाएको थियो। यसरी आफूलाई जस्तोसुकै कठिन अवस्था आउँदा पनि आफ्नो ज्यान जोगिएकोमा विशाल निकै खुसी भएका थिए। जस्तोसुकै आपत्तिबाट पनि आफ्नो जीवन बारम्बार बचिरहेको महसुस उनलाई हुन थालेको थियो।
केही दिनपछि विशाललाई उक्त हतियाररूपी कवच गरुंगो लाग्न थाल्यो। यो कवचबाट बाहिर निस्किएर जीवन जिउनुपर्छ भन्ने उनलाई लाग्न थाल्यो। अब म बलियो भइसकेको छु र मलाई यस्ता कुनै पनि कवचको आवश्यकता पर्दैन अब भन्ने उनलाई लाग्न थाल्यो। त्यसैले यसको भोलिपल्टै विशालले पोखरीमा हतियार छाडेर यताउता घुम्न थाले।
अचानक पोखरीमा पानी पिउन भनेर नजिकैको जंगलमा चरिरहेको हरिणको बथान त्यहाँ आइपुग्यो। त्यस पोखरीमा धेरै हरिणहरू आफ्ना बालबालिकासहित पानी पिउन आएका थिए। ती हरिणका खुट्टाले विशाललाई धेरै चोट लाग्यो। चोटका कारण घाउ दुखेपछि विशाल रुन थाल्यो। उसले आज आफ्नो हतियार नलगाएका कारणले गर्दा उसलाई चोट लागेको थियो।
आफूले आफ्नो हतियाररूपी कवचलाई फुकाल्ने भूल गरेकोमा पश्चाताप गर्दै कछुवा पोखरीमा फर्कियो। उसले भुइँमा फालेको कवचलाई तुरुन्तै उठाएर आफ्नो शरीरमा लगायो। कम्तीमा यो कवचले मेरो जीवन बचाउँछ। त्यसैले यसलाई मैले कहिले पनि छाड्नु हुँदैन भन्ने उनलाई महसुस भयो। तत्पश्चातका दिनमा उनले कहिले पनि उक्त कवचलाई छाडेनन् र सधैं सुरक्षित रहे।
नैतिक शिक्षा : प्रकृतिबाट पाएको चिजलाई हामीले सम्मानपूर्वक स्वीकार गर्नुपर्छ, नत्र ज्यान जोखिममा पर्न सक्छ।