मच्छिन्द्र उपाधि नजिक
![मच्छिन्द्र उपाधि नजिक](https://annapurnapost.prixacdn.net/media/albums/machhindra_rMT3ppetUU_Zk7vsuF1FG.jpg)
झापा : सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब झापामा जारी प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो। मच्छिन्द्र अब उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।
मच्छिन्द्रलाई फाइनलमा पुर्याउन कप्तान सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए। खेलको १७औं मिनेटमा आन्दे्रस नियाको पासलाई सदुपयोग गर्दै सुजलले बललाई जाली चुमाएका थिए। सातौं राजर्षि जनक कपको उपाधि विजेता मच्छिन्द्रको अग्रतापछि एपीएफ दबाबमा परेको थियो। खेलको २५औं मिनेटमा मच्छिन्द्रका देवेन्द्र तामाङको फ्रिकिक प्रहार आकासिएको थियो। ३५औं मिनेटमा सौरभ लिम्बूको प्रहार एपीएफका गोलरक्षकले विफल पारेका थिए।
दोस्रो हाफमा एपीएफले सुधारेको खेल खेलेको थियो। एपीएफले पाएको मौका सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो। आइतबारको खेलको प्लेयर अफ दी म्याच मच्छिन्द्रका सुजल श्रेष्ठ घोषित भए। उनले नगद २० हजार रुपैयाँ पुरस्कार पाए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)