सकारात्मक सोचको प्रभाव

सकारात्मक सोचको प्रभाव
सुन्नुहोस्

अचेल आम नेपालीहरूको जिब्रोमा झुन्डिएको हुन्छ, ‘मुलुक खत्तम भयो। अब यो देशमा केही हुँदैन। भविष्य छैन।’

मुलुकको समग्र विकासको लागि आर्थिक विकासका बारेमा अनेक गोष्ठी र सेमिनार प्रमुख सहरमा भइरहेका छन् । तर, सामान्य नागरिकहरू निराश छन्। कसैले कुनै काम गरिदिँदा समेत धन्यवाद भन्दै कृतज्ञ हुन सकिरहेका छैनन्। न त कुनै त्रुटि भएमा खुला हृदयका साथ सरि है भन्दै क्षमायाचना भन्न सक्दैनौं। झट्ट हेर्दा सामान्य लाग्ने यी दुई शब्दहरूले व्यक्तिहरूमा जिम्मेवारबोध गराउनुका साथै सही दिशामा हिँड्न प्रेरणा दिने गर्छन्। नेपालमा मात्र नभई अन्य विकासशील मुलुकहरूमा मात्र हो यी दुई शब्दहरूको प्रयोग कम हुन थालेको छ। सर्वत्र अराजक मानसिकताको प्रदर्शन भइरहेको छ ।

केही उदाहरणहरू हेरौं, काठमाडांैमा हामी बाइक वा गाडी चढेर हिँड्छौ मानौं हाम्रो गल्तीको कारणले कुनै ट्राफिक दुर्घटना भयो। अव विचार गरौं हामीमध्ये कतिजनाले आफ्नो गल्ती महसुस गरेर अर्को पक्षलाई सरी भन्छौं ? सायद हामीले त्यति गर्न सकेको भए दुईपक्षबीच हुने तनाव कम हुने मात्र होइन यसले हामीलाई आफ्नो जिम्मेवारीबोध भएर ट्राफिक व्यवस्थापनमा समेत सहयोग हुने थियो। 

हामीले विभिन्न व्यक्तिहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग लिइरहेका हुन्छांै। अरूलाई सहयोग गरिरहेका पनि पनि हुन्छौं। तर विचार गरौं त एक दिनमा हामीले आफूलाई सहयोग गर्ने कति जनालाई धन्यवाद दिन्छौं ? हामीले कार्यालय होस् वा अन्य क्षेत्रमा धेरै व्यक्तिको सहयोग पाइरहेका हुन्छौं। तर तीमध्ये थोरै व्यक्तिलाई मात्र हामीले धन्यवाद भनिरहेका हुन्छौं। हेर्दा सामान्य लागे पनि हामीले सहयोग गर्नेप्रति व्यक्त गर्ने कृतज्ञताले उनीहरूमा सकारात्मक ऊर्जा भरिन्छ। कार्यदक्षतामा समेत प्रभाव पर्ने विभिन्न अध्ययनहरूले देखाएका छन्। 

हाम्रोजस्तो विकासशील देशका बासिन्दाले सामान्य आधारभूत आवश्यकता परिपूर्तिको लागि धेरै समय व्यतीत गर्नु परिरहेको हुन्छ। सामाजिक सुरक्षाको अभावमा मानिसले आफूलाई असुरक्षित महसुस गरिरहेको हुन्छ । जसले गर्दा सबै मानिसहरू प्रायः व्यक्ति केन्द्रित भइरहेका हुन्छन्। उत्तरदायित्व वहन गर्ने तथा अरूको प्रशंसा गर्नेजस्ता कुराहरूको अभाव रहेको हुन्छ। जस्तो उदाहरणको लागि हामीले नेताले भ्रष्टाचार गरे भनेर एकदमै धेरै कुरा गरिरहेका हुन्छौं। तर, एकैछिन छातीमा हात राखेर विचार गरौं त हामीमध्ये कति जनाले मौका पाउँदा आफ्नो शक्तिको दुरुपयोग गरेका त छैनौं ?

शक्तिको दुरुपयोग भन्नाले पंक्तिबद्ध भएर काम गर्नु पर्नेमा पालो मिच्नेदेखि अरूको अधिकारको हनन् गर्नेसम्मका क्रियाकलाप पर्छन्। हामी धर्म गर्नको लागि आस्थाको केन्द्रमा जान्छौं । धर्मको एउटा मान्यता अरूको कुभलो नगर्नु हो। तर हामी धेरैलाई पालो कुरेको बेलामा लाइन मिचेर अगाडि जाँदा पश्चाताप महसुस गर्दैनौं। उल्टो गौरव महसुस भइरहेको हुन्छ। किनकि हामीले धैर्यलाई गुमाइसकेका छौं। 

विकासशील देशका नागरिकका आफ्नै सीमितता हुन्छन्। जस्तो हामीसँग पर्याप्त पूर्वाधार छैनन्,। राज्यले हाम्रा आवश्यकता पूर्ति गर्नको लागि चाहिने लगानी गर्न सकिरहेको हुँदैन। तर त्योभन्दा धेरै हामी स्वयंले हाम्रो जीवनलाई आफैं कठिनाइमा पारिरहेका छौं। जस्तो उदाहरणको लागि प्रत्येक दिन धेरै व्यक्तिहरूले सडक दुर्घटनाका कारण जीवन गुमाइरहेका छौं। यसमा सडक पूर्वाधार एउटा कारण होला तर हाम्रो व्यवहार धेरै हदसम्म जिम्मेवार रहेको छ। एक दिनमा हामीले तीव्र गतिमा सवारीसाधन चलाउँदा हामीले एक दिनमा १० मिनेटसम्म समय बचाँउला। तर के हामी त्यति व्यस्त छौं कि १० मिनेटको लागि हामीले आफ्नो ज्यान नै जोखिममा पारौं। हामीले जहिले पनि प्रणाली नभएको कुरा गरिरहेका हुन्छौं। तर आफूलाई अनुकूल पर्ने गरी प्रणाली मिच्न हामी कहिल्यै पनि पछि पर्दैनौं।

विकासशील मुलुकका बासिन्दामा हुने अर्को लक्षण भनेको आफूले बाहेक अरू सबैले नियम पालना गरून् भन्ने मानसिकता हो। हामीले सहर फोहर भयो भनेर बारम्बार सरकार र महानगरपालिकालाई गाली गर्छौं। तर हामीले सहर फोहोर गर्न हिच्किचाउँदैनौ। त्यस्तै हामी देशमा सिस्टम छैन भनेर बारम्बार गुनासो गर्छौं। तर, जब हामीलाई केही असुविधा हुन्छ हामी आफैं सिस्टम मिच्न उद्यत् हुन्छौं। हो, यस्तो सूची लामो छ तर विचार गरौं त हामीले आफ्नो तर्पmबाट अलिकति पहल गर्दा त्यसले कति ठूलो परिवर्तनको लागि सहयोग गर्छ। किनकि सबै मानिसले म एक जनाले गर्दा के हुन्छ र ? अरू सबैले नियम पालना गर्नुपर्छ भन्ने मान्यता राख्दा नै हो प्रणाली बिग्रिएको हो। हाम्रोमा प्रणालीले काम गर्दैन। एक्लैले नियमको पालना गर्दा असहज हुन सक्दछ। तर हामी एक—एक जनाले पहल गर्ने हो भने परिवर्तन अवश्य हुनेछ। 

हामीले अपनाउन नसकेको अर्को यथार्थता भनेको भ्रष्टाचारमा शून्य सहनशीलता हो। हामी सबैलाई थाहा छ भ्रष्टाचार देशको समस्या हो। तर हाम्रा आफन्तहरूले गरेको भ्रष्टाचार त ठीकै छ। अरूले गरेको नराम्रो भन्ने मानसिकताबाट जवसम्म हामीहरू माथि निस्कन सक्दैनौं तवसम्म परिवर्तन सम्भव हुँदैन। भ्रष्टाचार गरेर कमाएको पैसालाई जवसम्म हामीले प्रश्न गर्न सक्दैनौं तवसम्म हामीले भ्रष्टाचार अन्तको कल्पना गर्न सक्दैनांै। के हामीले हाम्रो नजिकमा रहेका हाम्रा छिमेकी वा नातेदारले कमाएको पैसा कसरी कमाएको हो ? भनेर प्रश्न गरेका छौं ? अनैतिक कमाइलाई प्रोत्साहन नगर्ने हो भने सबै व्यक्तिहरू नैतिक कमाइमा जोड दिनेछन्। यसले सही काम गर्ने व्यक्तिहरूलाई प्रोत्साहन मिल्नेछ। 

सबै कुरालाई सामान्यीकरण गर्ने प्रचलन छ। जस्तो हामीलाई लाग्दछ सबै सरकारी कर्मचारी बदमास हुन्छन् वा सबै व्यापारी कालोबजारी हुन्। तर हामीले यसरी सामान्यीकरण गर्नुको साटो सहीलाई सही र गलतलाई गलत भन्न सकिरहेका हुँदैनौं। अन्य व्यक्तिको व्यवहारअनुसार धन्यवाद वा सरी भन्न सक्यौं भने सही गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई दुरुत्साहन हुनेछ। तसर्थ हामी सबैले सोचमा परिवर्तन गर्नु जरुरी छ। हाम्रो देशमा समस्याहरू धेरै होलान् यी एकैचोटी समाधान हुने होइनन्। तर आफूमा भएको सकारात्मक पक्षलाई मनन् गर्दै अगाडि बढ्दा विस्तारै परिवर्तनको महसुस हुनेछ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.