स्ववियु निर्वाचनः ठाकुरराम क्याम्पसमा ३५ संगठन र समुह प्रतिस्पर्धामा
वीरगन्ज: चैत ५ को स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनका लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ३५ वटा संगठन र समुहले दर्ता गराएका छन्।
स्ववियु निर्वाचनका लागि संघ, संगठन र समूह दर्ताका लागि शुक्रबार बिहान १० देखि अपरान्ह ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। निर्धारित अवधिमा ३५ संघ, संगठन र समूहले दर्ता गराएको निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी दिए।
दर्ता गराइएका मध्ये राजनीतिक दलगत संघसंगठन ८ छन्। स्वतन्त्र समुह २७ वटा छन्।
नेपाली कांग्रेस, नेकपा एमाले , नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी , नागरिक उन्मुक्ति पार्टी, राप्रपा , लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी लगायतका राजनीतिक दलका विद्यार्थी संगठनका साथै स्वतन्त्र समूहका नाममा पनि समूहले दर्ता गराएको लामिछानेले बताए।
संगठन दर्ता गराउँनेमा नेपाल विधार्थी संघ (नेविसंघ) , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अनेरास्ववियु क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, नागरिक विद्यार्थी समाज, जनमत विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघ र प्रजातान्त्रिक विद्यार्थी संगठन छन्।
यी मध्ये लोसपाको लोकतान्त्रिक विद्यार्थी संघ , जनमत पार्टीको जनमत विद्यार्थी संघ र राप्रपाको प्रजातान्त्रिक विद्यार्थी संगठनले संयुक्त रुपमा परिवर्तनकारी विद्यार्थी संयुक्त प्यानलका नाममा संगठन दर्ता गराएको निर्वाचन अधिकृत लामिछानेले बताए।
२१ सदस्यिय स्ववियुका लागि चैत ५ मा हुने निर्वाचनका लागि शुक्रबार देखि निर्वाचन प्रक्रिया सुरु भएको छ।
सभापति, सचिव र कोषाध्यक्षसहित ३ पदाधिकारी र ८ सदस्य गरी ११ पदमा प्रत्यक्ष निर्वाचन हुनेछ भने उपसभापति, सहसचिव र ८ सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन गरिने छ।
नेपालमा पहिलो पटक मिश्रित निर्वाचन प्रणालीमार्फत स्ववियु निर्वाचन हुन लागेको हो। यसअघि स्ववियु निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत मात्रै हुँदै आएको थियो। ठाकुरराम बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनमा करिब ५ हजार मतदाता हुनेछन्।
प्रतिक्रिया दिनुहोस !
