‘मेलमिलाप र भाइचारा बढाउने पर्व हो होली’
होली, छठ पहाडतिर र तिज, देउसी तराईतिर पनि भव्य ढंगले मनाउने सांस्कृतिक अन्तरघुलनले विशिष्ट सामाजिक परिवेश निर्माण भएको छ। समाजमा बसोबास गर्ने सम्पूर्ण समुदायबीच सांस्कृतिक गठजोर बलियो हुनु सकारात्मक हो।
प्रस्तुति : मनोहर पोखरेल
होली के हो र किन मनाइन्छ ?
होली वसन्त ऋतुको आगमनसँगै मनाइने रङहरूको चाड हो। होलीको दिन मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एकअर्कालाई रंगीन बनाउँछन्। पुराना कटुता, वैमनश्यता बिर्सेर मेलमिलाप र भाइचारा बढाउने यस पर्वलाई फाग, फगुआ, होली, होरी, ज्वाला उतसव, वसन्त उत्सव, मदनात्सव पनि भनिन्छ। सत्यको पक्ष पोषक भक्त प्रह्लाद सकुशल रहेर असत्यको प्रतीक होलीका नाश भएको उत्सवमा भक्त प्रह्लादलाई सगुन खुवाएर, सिन्दुर,अविर दलेर, दुबो, फूल छर्किएर महोत्सव मनाइएको मान्यता छ। त्यसैबेलादेखि यो उत्सव प्रत्येक वर्ष मनाइँदै आएको पाइन्छ। नेपालमा पनि हिमाली तथा पहाडी इलाकामा पूर्णिमाको अघिल्लो दिन र तराईमा भोलिपल्ट होली खेल्ने चलन रही
होली पर्व कसरी मनाइन्छ ?
वसन्त पञ्चमीको भोलिपल्टदेखि नै होली गीत गाउन सुरु हुन्छ। वसन्त ऋतुको वर्ष आरम्भ भएको खुशियालीमा उल्लासपूर्वक स्वागतबाट सुरु भएको पर्व पूर्णिमामा गएर अन्त गर्ने चलन छ। होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ। पूर्णिमा मंगलबार भएकाले सो दिन कूल देवताको पूजा गरेर होली मनाउने र साँझ होलिका दहन गरिन्छ। खासमा होलीका दहन गरिसकेपछि अर्को बिहान पानीमा रङ घोलेर एकअर्कामाथि छ्याप्ने, फाल्ने चलन छ। परिवार, साथीभाइ आपसमा रङमा रंगीएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका सबै उमेरका महिला पुरुषहरूले मनाउँछन्। हुल तथा जत्थाहरू हातमा रङ अबिर लिएर गाउँदै, बजाउँदै, रमाइलो र हो–हल्ला गर्दै
सबैका घरमा गई आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने गरिन्छ यसका ऐतिहासिकता, किंवदन्ती र शास्त्रीय मान्यता के हो ?
मूल होलिका इशापूर्व २÷३ सयमा होलाका थियो। अपभ्रंस हुँदै होलिका भयो। त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ। हिरण्यकश्यपका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैं आगोमा भष्म भएको दिनका रूपमा होली पर्व पर्दापण भएको मानिन्छ। सँगै विष्णुको नरसिंह अवतारको उत्पत्ति र हिरण्यकश्यपको अन्त भयो।
ब्रह्माबाट होलिकाले आगोमा नजल्ने ओढ्ने पाएकी थिइन्। प्रह्लादलाई काखमा लिएर आगोमा बसेकी होलिकाले वरदान पाएको ओढ्ने हुरीवतासले गर्दा प्रह्लादलाई बे¥यो र होलिका भष्म भइन्। त्यहीं खुसीयालीमा विष्णु भक्तहरूले उत्सव मनाएको किंवदन्ती छ।
सांस्कृतिक महत्व मात्र छ कि वैज्ञानिक महत्व पनि छ ?
धार्मिक, सांस्कृतिकका साथै स्वास्थ्यसँग सम्बन्धित भएकाले वैज्ञानिक महत्व पनि छ। हरेक चाडपर्वहरूमा मौसमअनुकूल खानेकुरा खाने गरिन्छ। गर्मी महिना सुरु भएकाले सोही अनुकूलको पुरी, मालपुआ, पुडकिया, खीर, अचार, तरकारी, दही खाने गरिन्छ। जुनसुकै धर्म या समुदाय र उमेरका भए पनि एउटै आँगन र तालमा झुम्मिने सद्भावको पर्व होली नै हो।
यसको अन्य रोचक पक्ष पनि छन् ?
हिन्दू संस्कृतिमा रहेका अधिकांश पर्व कुनै न कुनै भगवान्सँग जोडिएको हुन्छ। तर, होली मात्र यस्तो पर्व हो, जसमा कुनै खास भगवान्को पूजा गर्ने परम्परा छैन। जुनसुकै भगवान्का भक्तले आफ्नै जस्तो गरी मनाउन सहज छ। हिमान्चल प्रदेशमा दुःखको पर्वका रूपमा पनि मनाइन्छ। होलिकाको मृत्यु भएकै दिन उनको इलोजीसँग विवाह हुनेवाला थियो। होलिकाको वियोगमा इलोजीले पनि सोही आगोमा जलेर भष्म हुन खोजे। इलोजीलाई जोगाउन आगो र खरानीलाई जत्रतत्र फ्याक्न थालियो। प्रेमकथाको दुःखद् अन्तको सम्झनामा पनि बौलाहा जस्तो भाङ खाएर उपद्रव गर्ने गरिएको किंवदन्ती छ।
पहाडमा पनि होली भव्यसँग मनाउन थालिएको छ नि ?
भगवान्ले जात छुट्याउँदैनन्। जो जुन क्षेत्रमा बसोवास गर्छन् त्यहीँको रहनसहन अवलम्बन गर्दै जान्छन्। सांस्कृतिक आदान–प्रदानले सामुदायिक सद्भाव र रहनसहनलाई सुमधुर र प्रगाढ बनाउँदै जानु सबल पक्ष हो। होली, छठ पहाडतिर र तिज, देउसी तराईतिर पनि भव्य ढंगले मनाउने सांस्कृतिक अन्तरघुलनले विशिष्ट सामाजिक परिवेश निर्माण भएको छ। समाजमा बसोबास गर्ने सम्पूर्ण समुदायबीच सांस्कृतिक गठजोर बलियो हुनु सकारात्मक हो।
पहिले र अहिलेको होलीमा के फरक छ ?
अन्य पर्व झै होलीमा विकृति आएको छ। पहिले हरेक घरमा गएर होली खेल्ने, एउटा पुरी भए पनि खाने, खुवाउने चलन थियो। सम्पत्ति र जातको सीमाले छेकिन्थेन। आपसी मेलमिलाप गर्ने, कटुता बिर्सने, मागेर खाने, मित्रता, बढाउने, शत्रुता बिर्सने प्रवृत्ति थियो। ‘बुरा न मानो होली है’ भने पछि गालीगलौज र मारपिट भए पनि, जसले जसलाई रङ लगाए पनि सबै बिर्सने चलन थियो। लौरोले माटोको भाँडा फुटाउनेलगायतको प्रतियोगिता हुन्थयो। अहिले कोही कसैको घरमा जाँदैनन्, खाइपिइ गरी घरमै थुनिएर बस्छन्। अहिले एकअर्कालाई रङ लगाउन डराउँछन्। सामान्य कुरामा झगडाले विकराल रूप लिने मात्र होइन होलीमा बदला साँध्ने रिस पालेर बसेको पाइन्छ। स्वास्थ्यलाई हानि पु¥याउने रङ, मोबिल, मोसो, फोहोर हिलो दल्ने, लुगा च्यात्ने, मातिने, अश्लिल गालीगलौज गर्ने क्रियाकलाप बढ्दै गएको छ।
होली मनाउने तरिका परिवर्तन हुँदै गएका हुन् ?
हरेक क्षेत्रमा विकृति भित्रिएको छ। होलीमा पनि प्रभाव पर्ने नै भयो। परम्परागत मान्यता, चलन, ज्ञान, धार्मिक, सांस्कृतिक महत्वको चेतना अभावले होली मनाउने तरिका परिवर्तन हुँदै गएको हो। एकांकी बन्दै गएको होलीमा आफ्नोपन र प्रेम भावना कमजोर बन्दै गएको छ। दलान, आँगनमा गाउँले भेला भएर होलीको परम्परागत गीत गाउने चलन हराउँदै गएको छ। चाडपर्वहरूको मौलिकता मासिँदै गएको छ। धार्मिक, सांस्कृतिक मान्यतावाट अलग बनाएर केवल उत्साहका रूपमा मनाउने गरिएकाले होलीको महत्व कमजोर बन्दै गएको छ।
भव्य बन्दै गएको होली सभ्य र जीवन्त बनाउन के गर्नुपर्ला ?
युवा पुस्तालाई परम्परागत ज्ञान दिएर, धार्मिक, सांस्कृतिक महत्वबारे जानकारी गराएर, चेतना विकसित गरेर मात्र मौलिकता संरक्षण र सम्बद्र्धन गर्न सकिन्छ। हरेक चाडपर्वको धार्मिकसँगै वैज्ञानिक महत्व छ। र, स्वास्थ्यसँग सम्बन्धित छ। हामीले पुस्तौंदेखि चलिआएको धर्म नमाने पाप लाग्छ भनेर डर मात्र देखायौं। कुन पर्व किन, के का लागि कसरी मनाउन थालियो भनेर सिकाएनौं। परम्परा र पहिचानको महत्व के छ, यस्को वैज्ञानिक कारण के छन् भनेर पुराना पुस्ताले जानकारी दिँदै जानुपर्छ। मनमा उब्जिने यस्ता प्रश्नहरूको उत्तर युवा पुस्ताले नपाएसम्म उनीहरू आँखा चिम्लेर मान्न तयार हुँदैनन्। होली नजिकिएपछि त्रसित नभई हर्षित हुने वातावरण बनाउन जरुरी छ।
होली पर्व कसरी मनाउनु पर्ला ?
तराईवासीले होलीलाई विशेष पर्वको रूपमा लिन्छन्। पहाडमा पनि पछिल्लो समय भव्य रूपमा मनाउन थालिएको छ। होलीखुला हृदयले शालीन तरिकाले भव्य रूपमा एकअर्काको सम्मान बढाउने किसिमले मनाउनुपर्छ। साहित्यिक, सांस्कृतिक र मनोरन्जनात्मक कार्यक्रम गरेर, एकआपसमा उपहार र आशिष आदानप्रदान गरेर फागुलाई विशेषतः खुसीयालीका साथ मनाउनुपर्छ। सत्य र धर्ममा रहनेको नै विजय हुन्छ भन्ने फागु पर्वको मुख्य आशय सबैले बुझ्न आवश्यक छ।