रामेछापमा सुनापति–शैलुङ अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता

सुनापतिबाट सिधै शैलुङ पुग्ने २५ किलोमिटर म्याराथनमा १ सय १ जना र शैलुङडाँडामा मात्र सीमित ५ किलोमिटर म्याराथनमा ६९ जना धावकले नाम दर्ता गराएका थिए ।
रामेछाप : जिल्लाको सुनापति गाउँपालिकाको साँधीडाँडाबाट शनिबार बिहानबाट म्याराथन प्रतियोगिता सुरु भएको छ । पलिकाबाट सुरु भएको म्याराथन प्रतियोगिता रामेछाप र दोलखाको सिमावर्ती ऐतिहासिक पर्यटकीय स्थल शैलुङ पुगेर टुंगिने पालिका उपाध्यक्ष गीता बिष्टले जानकारी दिइन् ।
सुनापतिबाट सिधै शैलुङ पुग्ने २५ किलोमिटर म्याराथनमा १ सय १ जना र शैलुङडाँडामा मात्र सीमित ५ किलोमिटर म्याराथनमा ६९ जना धावकले नाम दर्ता गराएका थिए ।
५५, २५ र ५ किलोमिटर लामो उक्त म्याराथन प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको हो । आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत ५५ किलोमिटर लामो म्याराथन प्रतियोगिता हिलेदेवी, गाल्वा, खाँडादेवी, दोरम्बा, निगलाबास, डडुवा धारा, घलेडाँडा हुँदै शैलुङ पुग्नेछ । प्रतियोगिताअन्तर्गत म्याराथनका लागि स्वदेशी र विदेशीसमेत ५० जना धावकले नाम दर्ता गराएका थिए ।
प्रतियोगितामा बेलायत, अमेरिका, स्वीडेन, जर्मनीलगायतका विदेशी तथा नेपाली धावकहरुले प्रतिस्पर्धा गर्दैछन् ।
यसअघि नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको आदिवासी जनजाति पदमार्ग र पर्यटकीय स्थान शैलुङको प्रचारका लागि म्याराथन आयोजना गरिएको हो । प्रतियोगिताले स्थानीय जनजीवन, पर्यापर्यटन र शैलुङको सौन्दर्यलाई विश्वसामु प्रचार गर्ने उद्देश्य राखिएको छ ।
रामेछापमा पहिलो पटक हुन लागेको अल्ट्रा म्याराथन प्रतियोगितामा भाग लिने धावकहरुले विभिन्न ९ स्थानमा चेक प्वाईन्टमा पुगेर नाम दर्ता गराउनु पर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ३५ हजार र तृतीय हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
