कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, संसदको सिट व्यवस्थापनबारे छलफल हुने
यस अगाडि संसद बैठकमा कांग्रेस र एमाले दुवैले प्रमुख प्रतिपक्ष दल दावी गरेपछि विवाद हुँदा प्रतिनिधि सभा बैठक लामो समय स्थगित भएको थियो।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। आइतबार बिहान १० : ३० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा संसदको सिट व्यवस्थापनबारे पनि छलफल हुनेछ। यस अगाडि संसद बैठकमा कांग्रेस र एमाले दुवैले प्रमुख प्रतिपक्ष दल दावी गरेपछि विवाद हुँदा प्रतिनिधि सभा बैठक लामो समय स्थगित भएको थियो। आजको कार्यसम्पादन समितिको बैठकमा कांग्रेस सत्ता पक्षमा बस्ने कि प्रतिपक्षमा बस्ने बारेमा पनि छलफल हुनेछ। पुष २६ मा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल एमालेले विश्वासको मत दिएका थिए ।
त्यसैगरी प्रधानमन्त्रीको विश्वासको मत, मन्त्रिपरिषद् विस्तार, पार्टीबाट मन्त्रीको छनोटलगायत विषयमाथि छलफल हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले एमाले नेतृत्वको गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन बनाएसँगै नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्। प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्तासहित उनीहरु बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्
आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” र प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर के.सी.ले “प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि पनि कांग्रेसको बैठकमा छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस !