संघीयताका व्यवस्था परिमार्जन गरे राप्रपाले सरकारलाई सहयोग गर्ने
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित सरकारी कार्यदललाई सशर्त समर्थन रहने जनाएको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफलका क्रममा राप्रपाका नेताहरुले सरकारले संघीयताका केहि व्यवस्था परिमार्जन वा बदल्न खोजेको भए आफ्नो पार्टीको सहयोग रहने प्रतिबद्धता जनाएको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको व्यवस्था परिमार्जन गर्न वा बदल्न खोजेको भए सरकारलाई राप्रपाको सहयोग रहने प्रतिबद्धता जनाएको बताएका हुन् । छलफलमा प्रधानमन्त्री शाहले कार्यदल आफैले संविधान संशोधन गर्ने वा एजेन्डा तय गर्ने नभइ व्यापक बहसमार्फत बहस पत्र तयार पार्नु मात्रै रहेको जनाएका थिए ।
त्यस्तै प्रधानमन्त्रीसँगको छलफलमा स्वास्थ्य बीमामा देखिएको समस्या, मलको अभाव र वितरणमा अस्तव्यस्तता, शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता आधारभूत एवं अत्यावश्यक क्षेत्रमा लगाएको करका विषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष लिङ्देनले बताए ।
त्यस्तै होल्डिङ सेन्टरहरूमा बसिरहेका सुकुम्बासीहरूको स्वास्थ्य उपचार र अन्य दैनिक समस्याहरू समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको लिङ्देनले जानकारी दिए । छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस !