नारायणकाजी श्रेष्ठ र बेलायती सांसद शर्माबीच शिष्टाचार भेट
उपप्रधानमन्त्री श्रेष्ठले बेलायत र नेपालबीचको व्यापार र पूर्वाधारमा बेलायतबाट हुने सहयोगको बारेमा चासो राखे। सो क्रममा उनले नेपाल युद्धबाट टाढा रहन चाहेको अवगत पनि गराए।
काठमाडौं : उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र बेलायती सांसद वीरेन्द्र शर्माबीच शिष्टाचार भेटवार्ता भएको छ। आइतबार उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयमा उनीहरुबीच भेट भएको हो। सांसद शर्मा बेलायत-नेपाल सर्वदलीय सांसद समूहको सभापति हुन्।
भेटका क्रममा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच सम्बन्धको स्मरण गर्दै बेलायती स्थानीय सेना र ब्रिटिश गोर्खा सेना बीच समानता हनुपर्ने धारणा राखे। श्रेष्ठले यथासक्य चाँडो समस्याको समाधान गर्न सुझाव दिँदै यसमा सांसद शर्माको सहयोगको अपेक्षा राखे।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलकबाट स्तरोन्नती हुँदै गरेको प्रसंगमा बेलायती सरकारबाट प्राप्त हुने सहयोगको अपेक्षा गर्दै तथा नेपालले पाउँदै आएका सुविधा निरन्तर कायम राख्न अनुरोध गरे। जलवायु परिवर्तनका विषयमा बेलायतले खेलेको भुमिकाको सराहना गर्दै उनले भने, ‘जलवायु परिवपर्तनको असर र मार नेपालजस्तो मुलकुमा बढी परेको छ। बेलायतको भुमिका थप प्रभावकारी रहोस् भन्ने हाम्रो चाहना छ।’
उपप्रधानमन्त्री श्रेष्ठले बेलायत र नेपालबीचको व्यापार र पूर्वाधारमा बेलायतबाट हुने सहयोगको बारेमा चासो राखे। सो क्रममा उनले नेपाल युद्धबाट टाढा रहन चाहेको अवगत पनि गराए।
भेटका क्रममा बेलायती सांसद वीरेन्द्र शर्माले ब्रिटिस गोर्खाको योगदान र भुमिकाको विषयमा आफू सकारात्मक रहेको बताउँदै समानता विषयमा आवश्यक आवाज उठाइरहेको बताए। बेलायतले असमान सुविधाको विषयमा सरकारी पक्षबाट अध्ययन भएको र ३ महिनामा यो विषयले निकास पाउने जानकारी दिँदै यसमा आफूले यथासक्य सघाउने प्रतिबद्धता गरे।
उनले अतिकम मुलुकबाट स्तरोन्नती भएसँगै नेपालले प्राप्त गर्ने सहयोगलाई निरन्तरता दिने विषयमा आफू सकारात्मक रहेको जानकारी गराए।
प्रतिक्रिया दिनुहोस !