नुवाकोट क्याम्पसको सभापतिमा नेविसंघ, सचिवमा अखिल क्रान्तिकारी विजयी
नुवाकोट : नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा गठबन्धनबाट सभापतिमा नेविसंघका रविन दाहालको नेतृत्वको प्यानल विजयी भएको छ। दाहालले कुल खसेको मत ७४२ मा तीनसय ४१ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्रका रिजन प्रधानले एकसय ७३ मत पाएका छन्। अनेरास्ववियुका फैसलदिन मियाले एकसय ६७ मत पाए।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका दाहालको नेतृत्व रहेको प्यानलबाटै सचिवमा ४३० मत ल्याउँदै अखिल क्रान्तिकारीका राजेन्द्र पनेरु विजयी भए। कोषाध्यक्षमा गठबन्धनबाटै ३४० मत ल्याएर अनेरास्ववियूका मनोज पौडेल विजयी भए ।
यस्तै सदस्यहरुमा नेविसंघको तर्फबाट अश्विन रिमाल, सन्तोष पन्त र सुप्रिया पौडेल, क्रान्तिकारीको तर्फबाट अस्मिता पौडेल र जनक भट्ट, अनेरास्ववियूबाट संजिता रिमाल र प्रदिप ढुङ्गाना विजयी भएका छन्। केन्द्रमा राष्ट्रपति निर्वाचनसँगै सत्ता गठबन्धन फेरिएपछि त्यसको प्रभाव स्ववियु निर्वाचनमा परेको हो। स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघसहितको तीन विद्यार्थी संगठनले गठबन्धन गरेर चुनावी मैदानमा गएका थिए। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु एक्लै चुनावी मैदानमा उत्रिएको थियो।
नुवाकोट क्याम्पसमा कुल एक हजार १४३ जना विद्यार्थी मतदाता रहेकामा ६५ प्रतिशत मात्र मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस !