सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि पारेको समुदायको यो अवस्थालाई यही पूर्णबिराम लगाउनुपर्छ।
काठमाडौं : नेपाली बृहत् शब्दकोशमा ‘दलित’ भन्नाले फग्ल्याँटैफग्याँटा पारिएको, दलिएको, दमन गरिएको, थिचिएको, कुल्चिएको, विध्वंस गरिएको र नष्ट गरिएको भन्ने अर्थ उल्लेख छ। यस्तै, ‘दलित वर्ग’ भन्नाले समाजमा हक, इज्जत र प्रतिष्ठा समान रूपले पाउन नसकेको जाति वा समूह, सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि पारेको समुदाय भनेर शब्दकोषले अथ्र्याएको छ।
रत्न नेपाली शब्दकोशले पनि ‘दलित’ भनेर थिचिएको, दलिएको र कुल्चिएको भनी परिभाषित गरेको छ। दलित भन्नाले समाजमा समान रूपले हक, इज्जत, प्रतिष्ठा उपभोग गर्न र समान अवसर नपाई समावेशीकरण हुन नपाएको जाति–समुदायलाई जनाउँछ भनिएको छ।
१९१० सालको मुलुकी ऐनले जातीय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा धार्मिक रूपमा राष्ट्रिय मूलप्रवाहबाट पछाडि पारिएका जातजातिका समुदायलाई दलित वर्ग भनी परिभाषित गरेको थियो। पुराना ऐनसँगै अहिलेका चलन–चल्तीका शब्दकोषले पनि ‘दलित’ शब्दको अर्थ लगभग उस्तै व्याख्या गरेका छन्। नेपाली समाजमा मात्रै नभई विश्वका अधिकांश राष्ट्रमा दलित भनेर एउटा समुदाय नै हेपिएका छन्, पेलिएका छन्। ‘दलित’ शब्दको प्रसंग र उत्पत्ति फरक भए पनि अहिले छुवाछूतसँग जोडिएको छ। छुवाछूत र दलित शब्दलाई एकै ठाउँमा राखेर हेर्ने पनि गरिएको छ।
नेपालको इतिहास खोतल्दा दलित र छुवाछूतमा अकाश–पातलको फरक भेटिन्छ। राज्य सञ्चालन, उपभोग, जाति र भाषा विकास गर्ने सिलसिलामा दलित जातिको उत्पत्ति भएको लामै इतिहास छ। २०२० सालको मुलुकी ऐन, अदलको १० (क) न. लागू हुनुभन्दा अगाडिका राज्य र सामाजिक व्यवस्थाले ‘जातपात र छुवाछूत प्रथा’ कायम गराई पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने (अछुत) जातिका रूपमा चिनिने समुदायहरू नै दलित हुन्, भनिएको छ।
दलितको उत्पत्ति श्रम विभाजनका आधारमा भएको पाइन्छ। श्रम विभाजनअनुसार गरिएको वर्गीकरणबाट लामो समय नेपालमा दलित पदको रूपमा उच्च सम्मान थियो। पछि कसैले पनि विद्रोह नगरून् भनेर सत्तामा बस्नेहरूले विभिन्न कठोर कानूनहरू बनाई दलित र छुवाछूतलाई नै वैधानिक बनाउने काम भएको दलितका विषयमा खोज तथा अनुसन्धान गर्ने लेखक दिल्लीराम दाहाल तर्क गर्छन्।
दलितको परिभाषा र उत्पत्ति देशअनुसार फरक छ। लेखक गोविन्द नेपालीको भनाइ पनि दाहालसँग मिल्छ। नेपालमा जयस्थिति मल्लले कामको विभाजन गर्दादेखि दलितको उत्पत्ति भएको नेपाली बताउँछन्। उनले आफ्नो लेखमा दलित उत्पत्तिका विषयमा यसरी लेखेका छन्, ‘जयस्थिति मल्लले राज्य सञ्चालन कसरी गर्ने भन्नेबारेमा भाइभारदारका बीचमा राजपरिवारमा छलफल गरे। त्यसपछि उनले विचार गरे, अब सीपको पहिचान गरी कामको विभाजन गर्नुपर्छ। अनि मात्र यो राज्य सञ्चालन गर्न सकिन्छ, अन्यथा गाह्रो हुन्छ भन्ने निष्कर्षमा पुगी दरबारमा बैठक आह्वान गरे। राजा जयस्थिति मल्लले सन् १३६० देखि १३९५ सम्म पटकपटक राज्य सञ्चालन गरेको झन्डै आठ सय वर्ष पुरानो इतिहास छ।’
लेखक दाहालका अनुसार पहिला–पहिला त जात के हो भन्नेबारेमा पनि कसैलाई थाहा थिएन। पछि सीपको आधारमा काम विभाजन गरियो। नाच्नेलाई नाच्ने काम दिइयो, जुत्ता सिलाउनेलाई छालाको काम दिइयो। सुन बनाउनेलाई सुनको काम दिइयो र फलाम बनाउनेलाई फलामको काम। तर, पछि त्यसैमा राजाहरूले छालाको काम गर्नेलाई सार्की, सुन बनाउनेलाई सुनार, फलाम बनाउनेलाई लोहार, नाचगान गर्नेलाई गाइने वादीको जाति बनइएको उनको तर्क छ। उनी भन्छन्, ‘यसैको विकसित रूप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे। त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो, ती जातलाई तल्लो स्तरको भने चलन बसेको इतिहासमा उल्लेख छ।’
विश्वमा ‘दलित’ परिभाषाको सुरुवात
लेखक नरेन्द्र सिंहले ‘दलित’ को परिभाषालाई खोजेका छन्। उनका अनुसार दलितको परिभाषा सबभन्दा पहिला सन् १९७७ मा भारतका दलित प्यान्थरवालाहरूले गरेका थिए। उनीहरूले दलितको व्याख्या यसरी गरे, ‘जो व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष छुवाछूतको सिकार हुन्छ। त्यसका साथै जुन वर्ग सामाजिक उत्पीडनको सिकार भइरहेको छ। विशेष गरि युद्धमा हारेर दासी बनाइएकाहरू, शुद्रमा झारिएकाहरूलाई दलित भनिन्छ।’
ब्रिटिसकालीन भारतमा सन् १९२७ मा बनेको साइमन कमिसनले ‘शुद्र’ मध्येकै ‘अतिशुद्र’ अजात मानी पानी नचल्ने तहमा राखेको समूहलाई दलित मानेको र चरम आर्थिक शोषण तथा सामाजिक उत्पीडनको शिकार भई पानी नचल्ने ठानिएको समुदाय नै दलित हो भनेको छ।’
नेपालमा दलित शब्दलाई २०२४ सालमा गठित ‘नेपाल राष्ट्रिय दलित जन विकास परिषद्’ नामको संगठनले पहिलोचोटी प्रयोगमा ल्याएको पाइन्छ। त्यसअघि नेपालमा ‘अछुत’, ‘परिगणित’, ‘हरिजन’ जस्ता शब्दहरू प्रयोग गरिन्थ्यो। दलित आन्दोलनका क्रममा स्थापित ‘दलित जाति’ शब्दले समाजमा ‘अछूत’ बनाइएका जातहरूको साझा परिचय बुझाउने अर्थ ग्रहण गरिसकेको विज्ञ बताउँछन्। र, ती जातहरूले पनि ‘दलित जाति’ शब्दलाई आन्दोलनबाट स्थापित आफ्नो सम्मानजनक परिचयका रूपमा ग्रहण गरिसकेको नेपालमा वर्ग व्यवस्था र वर्ण संर्घषका पुस्तक ‘जात वार्ता’ पुस्तकका लेखक विश्वभक्त दुलाल ‘आहुती’ बताउँछन्।
उनले जात वार्तामा लेखेका छन्, ‘दलित कुनै अपमानका निम्ति प्रयोग भएको शब्द होइन। त्यसकारण लामो समय संघर्ष गरेर विभिन्न भाषिक समुदाय र जातिमा छरिएका दलितहरूलाई एउटै परिचयमा सम्बोधन गर्न सकिने गरी दलित शब्द स्थापित भइसकेको सन्दर्भमा वर्षौं लगाएर स्थापित भइसकेको शब्दलाई छाडेर नयाँ शब्द फेरि वर्षौं लगाएर स्थापित गर्न लागिपर्नु समयको बर्बादी हो र यो बुद्धिमतापूर्ण काम होइन।
दोस्रो कुरा, ‘शिल्पी’ शब्दले दलितभित्र रहेका सबै जातको सही प्रतिविम्बन गर्दैन। दलितभित्र विज्ञान–प्रविधिमा काम गर्ने कामी, प्रविधिका काम गर्ने चमार, सार्की, दमाईलगायत वैज्ञानिक–प्राविधिक छन्। त्यसैगरी, संगीतमा काम गर्ने गन्धर्व, वादी, दमाईलगायत सर्जक समुदाय पनि छन्, जुन मूलतः शिल्पकारिता होइन।’ संयुक्त राष्ट्र संघको सबै किसिमको जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी महासन्धि १९६५ को धारा १(१) ले दलितको परिभाषालाई जातीय भेदभावका रूपमा परिभाषित गरेको छ। सो महासन्धिमा भनिएको छ, ‘जातीय भेदभाव भन्नाले जात, रंग, वंश, राष्ट्रियता र उत्पत्तिका आधारमा गरिने फरक व्यवहार, पृथक संकुचनता तथा अन्यलाई ग्राहयता दिनुलाई बुझिन्छ। जसले मानवीय मर्यादा अधिकारको प्रयोग र मानव अधिकारको उपयोगमा समान हैसियतलगायत मूलभूत राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार लगायतका हकमा हनन् पुर्याउँछ।’
यद्यपि उक्त महासन्धिमा दलित जातीय समस्यामा नपरेको दाबी गर्दै लेखक आहुति भन्छन्, ‘आजसम्म पनि संयुक्त राष्ट्र संघको सबै प्रकारका जातीय भेदभाव निर्मूलसम्बन्धी महासन्धि–१९६५ भित्र वास्तवमा छुवाछूतमय दलित जातीय समस्या परेको छैन।’ अहिले चरम आर्थिक शोषण तथा सामाजिक उत्पीडनको सिकार भई पानी नचल्ने ठानिएको समूदायलाई नै दलित भनिएको उनी बताउँछन्।
नेपाली लेखकका तर्क आआफ्नै
लेखक झलक सुवेदी आफ्नो लेखमा लेख्छन्– ‘नेपालमा दलित शब्द शोषण र थिचोमिचोमा परेकाहरूका लागि मात्र प्रयोग हुँदैन। बरु हिन्दू वर्णाश्रमवादी व्यवस्थाले सामाजिक श्रेणीको सबभन्दा तल राखेको ‘शुद्र’ वा ‘पानी नचल्ने’, ‘छोइछिटो गर्नुपर्ने’ तथा नेपाली राज्य व्यवस्थाले स्थापित गरेको समाजमा सीपमूलक कार्य गर्ने निश्चित पेसागत जाति समूह दलितको नाममा परिचित छ।’
‘वर्ण व्यवस्थाभित्र शुद्रवर्णबाट अतिशुद्रको थान्कोमा झारिएको तथा जातीय विभेद एवं छुवाछूतको दुव्र्यवहारसमेत भोग्दै आएको आधारभूत जनसमुदाय नै आजको ‘दलित समुदाय’ हो’ दलित आन्दोलनका योद्धा पद्ममलाल विश्वकर्मा भन्छन्। उनको यो भनाई ‘विश्वकर्मा २०६०’ मा छापिएको छ।
जातिभेद र जातपातको कारणले सबैभन्दा तल पारेकाहरू नै दलित हुन् भन्ने तर्क आफ्नो लेखमा मोदनाथ प्रश्रित लेख्छन्।
पुस्तक ‘कास्ट म्याटर्स’ का लेखा भारतीय दलित अधिकार अभियन्ता सुरज येङ्दे भन्छन्, ‘कुनै निश्चित समूहलाई अर्को समूहमाथिको सर्वोच्चता कायम राख्न दलित शब्दको सुरुवात भएको हो। दक्षिण एसियालाई नै हिन्दू विचारधाराले निर्देशित गरेको अवस्थामा यो एक धार्मिक आधिकारिकताको अंग बन्न पुगेको। तर, दलितको समस्या हिन्दू समाजमा मात्र सीमित छैन।’
पहिले उच्च पद, अहिले उत्पीडनमा
लेखकहरूका अनुसार जयस्थिति मल्लले राज्य सञ्चालन गर्न बनाएको दलितलाई पृथ्वीनारायण शाहको पालामा अछूत मान्ने चलन संस्थागत भइसकेको थियो। त्यतिबेला जातपातमा आधारित छुवाछूतको मारमा पर्नेमध्ये गैरहिन्दु जनजाति र उपल्लो जातका भनिएका हिन्दुहरू पनि थिए। तर, पनि छुवाछूतको सबैभन्दा निर्मम घन दलितहरूकै थाप्लामा बजारिएको थियो।
लेखक बाबुराम आचार्यले लेखेको श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीको पृ. ४५४ छुवाछुतको एउटा विषय उठाएका छन्। जहाँ लेखिएको छ– ‘यतिबेला तागाधारीलाई मद्य (मदिरा) पिउन कडाइका साथ प्रतिबन्ध लगाइएको थियो। मद्य पिउने तागाधारीको जनै झिकेर उसलाई मतवाली जात (जनजाति समुदाय, जो रक्सी पिउँछन्) मा खसालिन्थ्यो। झुुक्किएर मद्य खाने तागाधारी नरनारीले ‘पतिया’ पाउँथे। त्यस्तालाई धर्माधिकारी पण्डितले निश्चित विधिद्वारा शुद्ध गराइदिन्थे, जसलाई ‘पतिया’ भनिन्थ्यो।
कुनै तागाधारीलाई मतवाली जातका मानिसले झुुक्याएर मद्य ख्वाएमा ख्वाउनेहरूलाई दासदासी बनाएर बिक्री गरिन्थ्यो। बिक्रीबाट उठेको रकम अदालतको कोषमा जम्मा गरिन्थ्यो। यसरी जम्मा भएको कोषमा दोष हुने र यस्ता दोषले दरबारमा संक्रमित हुन सक्ने भन्दै कोषमा जम्मा भएको पैसा दरबारमा लगिँदैनथ्यो। पृथ्वीनारायणले आफ्ना सन्ततिलाई पनि अदालतमा जम्मा भएको पैसा दरबार नछिराउनू भन्ने उपदेश दिएका थिए।’ ‘अदालतको पैसा दरबारभित्र नहाल्नु...फकिर फकिडा अतित जोगी संन्यासी ब्राह्मणहरू इनलाई दक्षिणा भोजन चलाइ दिनु। उप्रेको पैसा दक्षिण चलाई धोती रुमाल चलाइदिनु। यस्व भया असत्यको दोस् लाग्दैन,’ उनले भनेका थिए (दिव्य उपदेश, नेपाल ल कमिसन, पृ. (८–९)। पृथ्वीनारायण शाहको विषयमा लेखेका उक्त कुराले त्यो समयबाट कसरी छुवाछुत सुरु भयो भन्ने कुरालाई पुष्टि गर्छ।
लेखक सुजित मैनाली आफ्नो लेखमा लेख्छन्– ‘केही दलित अभियन्ताहरू जंगबहादुर राणालाई नेपालका दलितहरूको दुर्गतिका एकमात्र कारक मान्छन्। तर, जातपातमा आधारित छुवाछूतलाई नेपाली सन्दर्भमा प्रवद्र्धन गर्ने पात्र जंगबहादुर होइनन्। उनले जातपातमा आधारित छुवाछूतजन्य अपराधलाई लिपिबद्ध गर्ने काममात्रै गरेका हुन्। उनीभन्दा अघि नै नेपाली समाज तागाधारी, मतुवाली र पानी नचल्ने तहमा विभक्त भइसकेको थियो।’
दलितहरू किन आज दिनहीन अवस्थामा छन् भन्ने कुरा बुुझाउने दस्तावेज भने अवश्य हो, जंगबहादुरले जारी गरेको मुलुकी ऐन– १९१०। त्यसमा नेपाली समाजलाई तागाधारी (ब्राह्मण, राजपुत, क्षेत्री), मासिने मतुवाली, नमासिने मतुवाली, पानी नचल्ने छोइछिटो हाल्नु नपर्ने, पानी नचल्ने छोइछिटो हाल्नुपर्ने गरी पाँच तहमा विभाजन गरिएको थियो। मुलुकी ऐनमा जातका आधारमा अपराधको दण्ड तोकिने व्यवस्था थियो।
सबै तथ्यले दलित समुदायले पनि समाजमा हक, इज्जत र प्रतिष्ठा समान रूपले पाउनु पर्ने पुष्टि गर्छ। सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि पारेको समुदायको यो अवस्थालाई यही पूर्णबिराम लगाउनुपर्छ।
मुलुकी ऐन, १९१०
१९. तागाधारी जात नमासिन्या मासिन्या मतुवाली जात . छिटो हालनु नपर्न्या जात . छिटो हालनु पर्न्या जात। कसैले छोया छिटो हालनु पर्न्या जातलाई जानिजानी जवरजस्ती गरी वा उसै जात जान्या कुरो र . अभक्ष षुवायेछ भन्या ६ रूपैयाँ दन्ड गर्नु . रूपैयाँ नतिर्या औन वमोजीम् कैद गर्नु . भोरमा षान्या र जवरजस्ती परि षान्या जातको रीत गरी शुद्ध हुन्छन् . षान्याले जात ढाटी षायेछ भन्या षुवाउन्यालाइ वात लाग्दैन। षान्यालाई जात पतित गराइदिनु .
२०. छोइ छिटो हालनु पर्न्या पानि नचलन्या जातले तागाधारी जात र . नमासिन्या मतुवालि जातलाई जानि जानि जवरजस्ती गरी वा उसै जात जान्या कुरो र . अभक्ष षुवायेछ भन्या षुवाउन्या लोग्न्या स्वास्नि मानिस् जो हो तेस्ता नमासिन्या जातले भया ३ वर्ष कैद गर्नु . म्यादका रूपैया डवल् दिया लि छाडनु . मासिन्या जातले भया १।। . वर्ष कैद गरी मासिदिनु . मासिन्या मतवालि जातलाई षुवायाको भया षुवाउन्या नमासिन्या जातलाई १ . वर्ष कैद गर्नु म्यादको डवल् दिया लिनु मासिन्या जातले भया मासी दिनु . भोरमा षान्यालाई पतिया गराइदिनु षान्याले जात ढाटि षायेछ भन्या जात पतित गराइदिनु षुवाउन्यालाइ वात लाग्दैन.
२१.छोया छिटो हालनु पर्न्या जातले तागाधारी जात नमासिन्या मासिन्या . मतवालि जात गैह्रलाई जानि जानि जवरजस्ति गरी वा उसै जात जान्या कुरो र अभक्ष षुवायेछ भन्या षुवाउन्या लोग्न्या स्वास्नी जो हो . तेस्तालाई ३ वर्ष कैद गरी मासिदिनु भोरमा षान्या र . जवरजस्ती परि षान्यालाई पतिया दिनु छिटो हालनु नपर्न्या जातकालाई षुवायेछ भन्या २० रूपैया दन्ड गर्नु षान्याले जातको रीत गरि शुद्ध हुन्छन् . षान्याले जात ढाटि षायेछ भन्या जात पतित गरीदिनु. षुवाउन्यालाइ वात लाग्दैन .
२२. अर्काका घरभित्र जात जान्या कुरो र नषान्या अभक्ष लैगी कसैले राषेछ घरका मानिसले थाहा नषाई भोरमा . षाया छन्भन्या जात जान्या कुरो घरभित्र राषन्यालाई १० रूपैयाँ दन्ड गर्नु थाहा नपाइ भोरमा षान्यालाई पतिया गराइदिनु .
नेपालको संविधान २०७२
(१) कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यावसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन।
(२) उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन।