‘अर्थतन्त्र दिगो बनाउन उत्पादन बढाउनुको विकल्प छैन’
समग्रमा आयातको आकार नघट्दा र निर्यात नबढ्दा व्यापार घाटा चुलिएको छ। यसको कारण के होला ?
मुलुकमा आयातमा आधारित अर्थतन्त्र भयो। यसले गर्दा आयातमै निर्भर पर्नु परेको छ। चालू आवको ८ महिनाको तथ्यांक र विगत वर्षको सोही अवधिको तथ्यांक हेर्दा निर्यातमा ठूलो कमी आएको छ। गत वर्षको तुलनामा निर्यात ३० प्रतिशतले कम छ।
अहिले डलरको भाउ बढेकाले पनि आयातको भार धेरै देखिएको हो। सवारीसाधन आयातको संख्या घटेको छ। तर, पेट्रोलको आयात मूल्य बढेको छ। गत वर्ष २ खर्ब १७ अर्बको पेट्रोलियम पदार्थ ल्याएकोमा यसपटक २ खर्ब २७ अर्ब रुपैयाँको ल्याइएको छ।
अन्तर्राष्ट्रिय स्तरमै वस्तुको मूल्य बढ्नु र डलरको विनिमय दर पनि उच्च भएका कारण बढी मूल्य तिर्नुपरेको देखिन्छ। यसले आयातित मूल्यको आकार ठूलो हुन गरेको छ। लामो समयदेखि आयात र निर्यातको असन्तुलन छ। कुल आयातको जम्मा ९–१० प्रतिशत मात्रै निर्यात हुने गरेको छ। कतिपय कृषिजन्य वस्तुको आयात पनि बढेको छ। चामल, गहुँको आयात थोरै घटेको देखिए तापनि अधिकांश आयातित वस्तुको मूल्यवृद्धिकै कारण आयातको आकार बढेको छ।
व्यापार घाटा चुलिँदा अर्थतन्त्रमा कस्तो चाप परेको महसुस गर्नुभएको छ ?
व्यापार घाटा चुलिएको छ। निर्यातले आयात पछ्याउन सकेको छैन। यसो हुँदा विदेशी मुद्रा सन्चिती पनि घट्छ। यसले जीडीपीलाई पनि नकारात्मक दिसातर्फ धकेल्छ। यसले जनताको क्रयशक्ति बढाउनमा बाधक बन्छ। समग्रमा यसले बृहत् अर्थतन्त्रमै प्रभाव पर्छ।
निर्यातको ठूलो हिस्सा वनस्पति तेलमा हुनु मुलुकका लागि दिगो हो त ?
नेपालको निर्यातको ठूलो हिस्सा प्रशोधित वनस्पति तेल, सूर्यमूखी तेल, पाम आयल र भटमासको तेल बनेको छ। उक्त तेलहरूको निर्यात परिमाण स्वात्तै घटेको छ। यसकारण कुल निर्यातमा यसको अंश बढी भएकाले प्रभावित हुन्छ। सो तेलका कच्चा पदार्थ नेपालमा उत्पादन हुँदैनन्।
अधिकांश कच्चापदार्थ युक्रेन, ब्राजिल जस्ता मुलुकबाट आउँछ। कच्चापदार्थको आयात पनि घटेकोले यस्को प्रशोधित तेलको निर्यात पनि कम हुन गएको हो। चालू आवको ८ महिनासम्ममा १३ अर्ब रुपैयाँको प्रशोधित पाम तेल र साढे ८ अर्बको प्रशोधित भटमास तेल निर्यात भएको छ।
अझ यसअघिका वर्षको तुलनामा वनस्पति तेलको निर्यात साढे ३ गुणाले घटेको छ। अहिले कुल निर्यात १ खर्ब ४ अर्ब ७९ करोड पुगेको छ। तर, गत आवको सोही अवधिमा १ खर्ब ४८ अर्ब रुपैयाँ निर्यात भएको थियो। यसरी कुल निर्यात मै ३० प्रतिशत घट्यो।
तर, अहिले निर्यातमा राम्रो प्रगति स्वदेशकै चिया, कफी, अलैंची, अदुवालगायतका उत्पादनहरूले हो। निर्यातमा यी उत्पादनले राम्रो संकेत दिएको छ। फागुनसम्ममा अलैंचीको ६ अर्ब र कार्पेटको ७ अर्ब रुपैयाँको वस्तु बिक्री भएको छ।
निर्यात बढ्यो भनेर खुसी हुने अवस्था छैन। यो त डलरमा किनेर भारुमा बेच्नै ठिक्क हुन्छ होइन ?
नेपालको अहिलेको आफ्नै उत्पादनले पर्याप्त निर्यात हुँदैन। ती तेलहरूको कच्चा पदार्थ नेपालमा छैन। बाहिरबाट कच्चापदार्थ ल्याएर ३० प्रतिशत भ्यालुयाड (अतिरिक्त मूल्य) गरेर प्रशोधित तेल निर्यात गर्ने हो। तर, पहिला भारतमा राम्रो निर्यात हुन्थ्यो। अहिले घटेको छ। किनभने भारतले अरू मुलुकबाट आयात गर्ने तेलमा लाग्ने भन्सार महसुल दर घटाएर शून्य बनाएकाले पनि नेपालबाट निर्यात हुने प्रशोधित तेलको अंश घटेको हो। यसअघि अनय मुलुकबाट आयात गर्दा बढी भन्सार दर तिर्नुपर्ने तर नेपालबाट आयात गर्दा सहज हुन्थ्यो।
तर, अहिले भन्सार दर कटौती गरेकाले नेपालबाट निर्यात घट्दा घाटा भएको हो। त्यसैले यी वस्तु गत वर्षको तुलनामा साढे ३ गुणाले घटेको छ। यी निर्यातित वस्तु नेपालका लागि टिकाउ हुने वस्तु होइन। नेपालमै कच्चा पदार्थ उत्पादन हुन सकेमात्र राम्रो हुन्छ। तर, बढी मात्रामा भ्यालुएड हुने वस्तुले मात्रै निर्यात दिगो हुन सक्दैन। कच्चापदार्थ ल्याएर प्रशोधन गरी निर्यात गर्दा भोलिका दिन समस्यामा परिन्छ। यसको उदाहरण सन् २००० ताका वनस्पति घीउले निकै बजार लिए पनि पछि भारतले ड्युटी घटाएपछि निर्यात शून्यमै घट्यो। यसैले अहिले पनि वनस्पति तेलको हालत त्यस्तै छ।
निर्यातमा परनिर्भरता कहिलेसम्म ?
जबसम्म मुलुकले उत्पादनमा जोड दिँदैन तबसम्म परनिर्भरता कायम हुन्छ। स्वदेशभित्रै उत्पादन हुने वस्तुमा आधारित उद्योगमा बढावा दिने, त्यस किसिमका वस्तुलाई निर्यात गर्नमा अग्रसरता लिन जरुरी छ। उदाहरणका लागि सिमेन्ट नेपालकै कच्चा पदार्थमा बनेको वस्तु हो। कतिपय उच्च मूल्यका कृषिजन्य वस्तुहरू नेपालमै उत्पादन सम्भावना छ। यस्ता वस्तुको उत्पादन र निकासीमा जोड दिएको खण्डमा मुलुकभित्रै रोजगारी सृजना हुन्छ। साथै यसले मुलुकभित्रका सबै वर्ग र समुदायलाई फाइदा हुने र आय कर वृद्धि हुन्छ। जसले जीडीपीमा राम्रो योगदान पुर्याउँछ। यसैले हामीले निर्यातलाई मात्रै हेरेर हुँदैन। कुन र कस्तो किसिमको वस्तुको निकासी भनेर पनि महत्व राख्छ। निर्यात हुने वस्तुले मुलुकमा कति मूल्य अभिवृद्धि गरेको छ भनेर अर्थ राख्छ। साथै जनताको जीवनस्तर उकास्न मद्दत गर्ने खालका स्वदेशी उत्पादनलाई जोड दिनुपर्छ।
ठ्याक्कै व्यापार घाटाको समाधानको उपाय केके हुन सक्लान् ?
व्यापार घाटालाई कम गर्न र अन्तर्राष्ट्रिय व्यापारबाट मुलुकले फाइदा पाउन उच्च मूल्य भएका कृषिजन्य उत्पादनमै जोड दिनुपर्छ। जस्तै, अदुवा, अलैंची, चिया, कफी, च्याउ, जडीबुटी, ह्यान्डीक्राफ्ट लगायतमा जोड दिनुपर्यो। यसले अन्तर्राष्ट्रिय व्यापारलाई समावेशी बनाउन मद्दत गर्छ। कुना कन्दरामा उत्पादन भएका वस्तुलाई विश्व बजारसँग जोड्न सके आमजनतालाई फाइदा पुर्याउँछ। यस्तै, व्यावसायिक खेतीलाई प्रमोट गर्नुपर्यो। यसका लागि साझा खेती प्रणाली, करार खेतीसम्बन्धी कानुन पनि ल्याउनुपर्छ। जमिनको भू–उपयोग नीतिलाई पनि सम्बोधन गरिनुपर्छ। कृषिपछि उद्योगमा जोड दिनुपर्छ।
उद्योगमा लगानीको लागि उपयुक्त वातावरण सृजना गर्नु जरुरी छ। किनभने उद्योगका क्षेत्रको अंश जीडीपीमा वर्षैंपिच्छे कम हुँदै गएको छ। जीडिपीमा उद्योगको योगदान साढे ५ प्रतिशतभन्दा माथी छैन। यसैले उद्योग क्षेत्रको क्षमता, औद्योगिक उत्पादन बढाउन र जीडीपीमा योगदान बढाउन उद्योग कलकारखाना खोल्न र सञ्चालन हुने वातावरण बनाउनुपर्छ।
यसका लागि वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको व्यवस्थालाई खुकुलो अर्थात् सहज बनाउनुपर्यो। स्वदेशी र विदेशी लगानीलाई प्रोत्साहन हुने नीति कार्यान्वयन भएन। साथै नेपालमा उत्पादित वस्तुको गुणस्तर पनि बढाउन जरुरी छ। अन्तर्राष्ट्रिय बजारमा जुनसुकै वस्तु पनि उत्पादन गरेर मात्रै बिक्री हुँदैन। यसका लागि वस्तुको गुणस्तर सुनिश्चित गर्नुपर्यो। असल खेती अभ्यास र औद्योगिक उत्पादनहरूलाई असल उत्पादन प्रणालीको अनुशरण गर्नुपर्छ।
नेपालले किन दिगो निर्यात गर्न सकेको छैन ?
यसको मुख्य कारण नेपालमै भ्यालुएड हुने उत्पादनहरू कम हुनु हो। नेपाली वस्तुको उत्पादकत्व कम छ। उत्पादनका लागि आवश्यक जनशक्ति पनि छैन। उत्पादन गर्न आवश्यक पूँजी परिचालन पनि गर्न सक्ने अवस्था छैन। हाम्रा नीति नियमहरू उत्पादनमा सहज पुग्ने खालका छैनन्। धेरै आयातमा आधारित अर्थतन्त्र भएका कारण आयात गर्ने र यसबाट आउने राजश्वलाई प्राथमिकता दिएका कारण उत्पादन छायाँमा पर्यो। उत्पादन नभएपछि खपत गर्न आयातकै भर पर्नुपर्यो यसो हुँदा निर्यात हुनै सक्दैन।
रेमिट्यान्स पनि आयातित उपभोग्य वस्तुमै सीमित छ। विदेशी मुद्रा सन्चितिको बलियो माध्यम हो त ?
अब हामी विस्तारै आयातमुखीबाट उत्पादनमुखीबाट राजश्व संकलन गर्नमा परिवर्तन हुनुपर्छ। रेमिट्यान्स तत्कालका लागि राहात पुग्ने मात्रै हो। यो दिगो समाधान होइन। नेपाली कामदार गएको मुलुकमा द्वन्द्व , आर्थिक संकटलगायतका घटना भएर फर्कनुपरे नेपालमा झन् विकराल स्थिति आउँछ। यसैले रेमिट्यान्सलाई दीर्घकालीन रूपमा अर्थतन्त्र धान्ने नीति लिँनु हुँदैन। विदेशी मुद्रा सन्चिती रेमिट्यान्समा मात्रै भर पर्नु दिगो उपाय होइन। यसका लागि मुलुकभित्रै उत्पादन बढाउन जोड दिनुपर्यो। विदेशिएका जनशक्तिलाई देशभित्रै कृषि, औद्योगिक र सेवालगायतका क्षेत्रमा रोजगारी सिर्जना गर्ने अवस्था तयार गर्नुपर्छ।
आयातमा पेट्रोलियम पदार्थ, ग्यासको हिस्सा अधिक छ। यसलाई कसरी नियन्त्रण गर्न जरुरी छ ?
अब मुलुकमा पेट्रोलियम पदार्थका खपत कम गर्न वैकल्पिक ऊर्जा आवश्यक छ। गाउँघरमा बायोग्यासको उत्पादनदेखि माइक्रो हाइड्रोदेखि ठूला हाइड्रोपावर परियोजना बनाउन जोड दिन जरुरी छ। आमनागरिकलाई सस्तोमा बिजुली उपलब्ध गर्न सके ग्यासको सट्टा इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन मिल्छ। यससँगै विद्युतीय सवारीमा पनि जोड दिए डिजेल र पेट्रोललाई विस्तारै विस्थापित गर्नुपर्ने देखिन्छ।
प्रस्तुति : ममता थापा