विश्वकप छनोट प्ले अफः अमेरिकाविरुद्ध २३२ रनको लक्ष्य पछ्याउँदै नामिबिया
विन्डोक : आईसीसी क्रिकेट विश्वकप छनोटको प्ले अफमा अमेरिकाले नामिबियालाई दुई सय ३२ रनको लक्ष्य दिएको छ। विन्डोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ९ विकेट गुमाएर दुई सय ३१ रनको योगफल तयार गर्यो।
अमेरिकाका लागि गजानन्द सिंहले ६३ बलमा पाँच चौका र एक छक्कासहित ५३ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, नोस्थुस केन्जिगेले ४३ तथा जेसी सिंहले ३३ र आरोन जोन्सले ३६ रन जोडे।
बलिङतर्फ नामिबियाका बेन शिकोङ्गो र शाउन फौचेले तीन–तीन विकेट लिए। यस्तै, रुबेन ट्रुपेल्मनले दुई तथा पिकी या फ्रान्सले एक विकेट लिए।
नामिबियाले ६ ओभरमा दुई विकेट गुमाएर १३ रन बनाएको छ। अमेरिका र नामिबिया दुवै टिम आईसीसी विश्वकप क्रिकेट लिग २ बाट प्ले अफमा पुगेका हुन्।
प्ले अफमा क्यानडा, जर्सी, नामिबिया, पपुवा न्युगिनी, यूएई र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट शीर्ष दुई टिम जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्वकपको छनोटमा स्थान बनाउने छन्।
प्रतिक्रिया दिनुहोस !