कास्कीमा सडक दुर्घटना बढ्दो

कास्कीमा सडक दुर्घटना बढ्दो
सुन्नुहोस्

पोखरा : दुई साताको अन्तरमा पोखरामा दुई जनाले सडक दुर्घटनामा ज्यान गुमाए। महानगरको व्यस्त सडक न्यूरोडमा गत शुक्रबार मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक ४५ वर्षीय सूर्य थकालीको मृत्यु भयो। त्यसअघि यही चैत ३ गते चिप्लेढुङ्गामा नगर बसको ठक्करबाट स्कुटरमा सवार २४ वर्षीया दीक्षा कार्कीले ज्यान गुमाउनुपर्‍यो।

यी प्रतिनिधि घटनाले पोखरामा बढ्दो सवारी दुर्घटनालाई दर्शाउँछ। यसरी लगातार जसो भइरहेका दुर्घटनाले सडक सुरक्षामा प्रश्न उठ्न थालेको छ। सार्वजनिक यातायातमा देखिएको असुरक्षाप्रति सर्वसाधारण त्रसित छन्। सडक दुर्घटना न्यूनीकरण नभएकामा जनगुनासो बढ्दो छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको हालसम्म कास्कीमा ७९ वटा सडक दुर्घटना भएका छन्। दुर्घटनामा परी २९ जनाले ज्यान गुमाए भने ८९ जना गम्भीर घाइते भए। आव सकिन अझै तीन महिना बढी बाँकी छ। गत वर्ष ९८ दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो।

आव २०७७/०७८ मा भएका ६४ सडक दुर्घटनामा ४३ जनाले ज्यान गुमाएका थिए। पछिल्ला तीन वर्षको आँकडाले कास्कीमा सडक दुर्घटना बढ्दै गएको देखाउँछ। 

दुर्घटनाको सङ्ख्यासँगै मानवीय क्षति पनि बढ्दो क्रममा छ। बढ्दो आवादी र सवारी चापले बर्सेनि दुर्घटनाको जोखिम बढाएको हो। पोखरा महानगर र राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताए।

नब्बेदेखि ९५ प्रतिशतसम्मको सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका उनको भनाइ छ। 'तीव्र गति, मापसे जस्ता कारणबाट बढी दुर्घटना हुने गरेको छ, सहरी क्षेत्रमा हुने दुर्घटनामा साना सवारीसाधनको बढी दोष देखिन्छ', उनले भने। चालु आवमा भएका ७९ दुर्घटनामध्ये ४४ तीव्र गतिका कारण भएको उनले उल्लेख गरे। 

स्तरहीन सडक, यान्त्रिक गडबडी, जथाभावी पार्किङ आदि कारणले पनि दुर्घटना हुने गरेको छ। 'पोखरामा व्यवस्थित पार्किङ नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ', प्रहरी वरिष्ठ नायब निरीक्षक पाठकले भने, 'ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माणले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ।' कार्यालयले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.