कोभिडका कारण बन्द भएको टिपताला नाका अझै खुलेन

कोभिडका कारण बन्द भएको टिपताला नाका अझै खुलेन
सुन्नुहोस्

ताप्लेजुङ : चीनको तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन्। 

कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दैनिकीसमेत असहज बनेको छ।

तिब्बतबाटै खाद्यान्नलगायतका सामान ल्याएर उपभोग गर्ने सर्वसाधारण तथा सीमापार व्यापारमा निर्भर रहेका याङ्‍मा, फले, घुन्सा, ओलाङ्चुङगोलालगायतका उद्योगी, व्यवसायी मर्कामा परेको ओलाङ्चुङगोलाका टाँसी शेर्पाले बताए। 

'टिपताला हुँदै तिब्बतमा लगेर बेचिने गलैँचासहितका स्थानीय उत्पादन लामो समयदेखि घरैमा थन्किएका छन्, खाद्यान्नलगायतका उपभोग्य वस्तु सदरमुकामलगायतका ठाउँबाट महँगो भाडा तिरेर ल्याउनुपरेको छ, नाका खुल्ने अत्तोपत्तो छैन', शेर्पाले भने।
 
सडक सञ्जालसँग नजोडिएको ओलाङ्चुङगोलामा सदरमुकाम फुङलिङमा प्रतिकिलो ३० रुपैयाँ पर्ने नुन ८० रुपैयाँ पर्छ। तिब्बततर्फबाट निर्माण भएको सडक ओलाङ्चुङगोला बस्तीमा आइपुगे पनि सदरमुकामसँग अझै नजोडिएकाले यातायात र ढुवानीमा समस्या छ। 

सदरमुकाम तर्फबाट लगिएका सामान आधा बाटोबाट भरिया वा खच्चडमार्फत ढुवानी गर्नुपर्छ। लेलेपसम्म गाडीमा र त्यसपछि भरिया वा खच्चड र चौँरीलाई बोकाएर सामान लैजानुपर्छ। लेलेपदेखि ओलाङ्चुङगोला पुर्‍याएको ढुवानी भाडा प्रतिकिलो ५० रुपैयाँ पर्ने स्थानीयवासीले बताएका छन्। सामानको खरिद र ढुवानी खर्च दुवै तुलनात्मक रूपमा तिब्बततर्फ धेरै नै सस्तो पर्छ।
 
वर्षौंदेखि सीमावर्ती क्षेत्रका बासिन्दाले आफ्ना उत्पादन तिब्बतमा पुर्‍याउने र तिब्बतबाट आवश्यक सामान खरिद गरेर ल्याउने गरेका छन्। घुन्सा, याङ्मा, ओलाङ्चुङगोलामा उत्पादन हुने ८० प्रतिशतभन्दा बढी गलैँचा चीनको तिब्बतमा निर्यात हुँदै आएको थियो। 

गलैँचा मात्रै नभई स्थानीय रूपमा पाइने जडीबुटी, घ्यू, छुर्पीलगायतका उत्पादन तिब्बतका बजारमा बेचेर उतैबाट खाद्यान्नलगायतका सामान स्थानीयवासीले लिएर घर फर्किने गरेका थिए। 

सीमा नाका बन्द भएसँगै आवतजावत पूर्णरूपमा ठप्प हुँदा यहाँको उत्पादनले बजार र मूल्य नपाएको र दैनिक उपभोग्य वस्तुसमेत महँगोमा खरिद गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन्।
 
परम्परागत तानमा हातले मेहनतका साथ बनेका गलैँचा महँगो पर्ने गरेकाले नेपालतर्फका बजारमा भन्दा तिब्बतका बजारमा धेरै निर्यात भएका हुन्। तिब्बतका बजारमा भने जस्तो मूल्य पाउँदै आएको व्यवसायीले बताए। 

नजिकको बजार तिब्बत नै रहेकाले सीमा क्षेत्रका बासिन्दालाई आयात निर्यातमा सहज पनि छ। 'नेपाली बजारमा लैजाँदा लागत मूल्य पाउन पनि मुस्किल हुन्छ, दूरदराजबाट बजार पुर्‍याउन त्यति सहज पनि छैन, लामो समयदेखि बनेका गलैँचा घरैमा थन्किएका छन्', गलैँचा व्यवसायी यमुना सिवाँले भने।
 
नाका बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न क्षेत्रका किसानले उत्पादन गरेको र व्यवसायीले संकलन गरेको चिराइतो झापाको बिर्तामोड हुँदै भारततर्फ निकासी भइरहेको छ। नाका बन्द नहुँदासम्म तिब्बतमा समेत निर्यात हुँदै आएको थियो। 

एकातर्फ मात्र निर्यात हुँदा भने जस्तो बजार र मूल्य नपाउने जस्ता समस्या भोग्नुपरेको व्यवासायीले बताए। 'चिराइतो अहिले भारततर्फ नै निकासी भइरहेको छ, पहिलेको तुलनामा मूल्य पनि बढेको छ, तर समय समयमा माग र मूल्य तलमाथि भइरहने समस्या छ, तिब्बततर्फ पनि निर्यात हुने हो भने सायद यो समस्या नहोला', व्यवसायी नरेन्द्र तिवारीले भने।
 
यसरी लामो समयदेखि नाका बन्द हुँदा स्थानीयवासीले बेहोर्नुपरेको समस्या स्मरण गर्दै सरोकारवालाले नाका खोल्न पहल गर्ने बताउँदै आएका छन्। नेकपा (एमाले) का नेता तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले विभिन्न समयमा उक्त नाका खोल्न पहल भइरहेको बताउँदै आएका छन्। 

यता केही दिनअघि गृह जिल्ला आएका डाक्टर सन्दुक रुइतले समेत उक्त नाका खोल्नुपर्नेमा जोड दिएका थिए। कुनै समय चीनतर्फका अन्य नाकामध्ये टिपताला धेरै अग्रसर रहेको स्मरण गर्दै उनले यो नाकासँग जोड्ने सडक मार्गको निर्माण चाँडो सम्पन्न गरेर मुलुकले फाइदा लिनुपर्ने बताएका छन्।

बेला बेलामा नाका खुलाउन केही स्थानीयवासी विभिन्न सरोकारवाला व्यक्ति र निकायसम्म पुग्ने गरेका छन् तर सरकारले क्रमशः अन्यत्रका नाका खोल्ने निर्णय गरे पनि टिपताला नाकाबारे कुनै अत्तोपत्तो नभएकोमा स्थानीयको गुनासो छ। 

नेपाल–चीन सीमा व्यापार संघको निर्णयअनुसार चीनले आगामी वैशाख १८ गतेदेखि तातोपानी र हिल्सा नाका खोल्ने जनाएको छ तर तीन वर्षदेखि बन्द भएको टिपतालाका सम्बन्धमा भने कुनै चर्चा भएको छैन।
 
सदरमुकाम फुङलिङबाट सवारी साधन र पैदल गरेर ओलाङचुङगोला पुग्न झण्डै दुई दिनको समय लाग्छ। फुङलिङबाट साबिकको लेलेप गाविससम्म सवारी साधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ। 
ओलाङचुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन। यता याङ्मा, घुन्सा, थुदाममा पुग्नसमेत दुईदेखि तीन दिनको समय लाग्छ। ओलाङचुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.