गाउँले आफैं जागेपछि...

गाउँले आफैं जागेपछि...
‘म बनाउँछु, मेरो रिब्दीकोट’ अभियानअन्तर्गत बृहत् निःशुल्क स्वास्थ्य शिविरमा उपचारको लागि आएकी मानकुमारी सार्की र कान्ताकुमारी गाहालगायत। कृष्ण पोखरेल

तानसेन : पाल्पाको रिब्दिकोट गाउँपालिकामा गत साउनमा ‘म बनाउँछु, मेरो रिव्दीकोट’अभियान शुभारम्भ भयो। पहिलो काम करिब ५ सय जनास्वयंसेवीबाट करिब ७ किलोमिटर बाटो सरसफाई, खाल्डाखुल्डी पुर्ने, हिलो जमेको स्थानमा ढुङ्गा, गिट्टी, बालुवा राखेर सडकलाई सहज बनाइएको थियो। निःशुल्क रूपमा सम्पन्न यो कामको लागत करिब ५ लाख रुपैयाँ बराबरको थियो।

गत भदौ महिनामा पालिकाको वडा नं. २ लघुवामा फाँटमा सिँचाइ हुने कृषि कुलोको सरसफाइ र वडा नं. ६ फेकमा मोटरबाटोमा खसेका पहिरो पन्छाउने र सडक नाली निर्माण गरी, सडक जोखिम कम गर्ने काम भए। असोज महिनामा पालिकाको प्राथमिक स्वास्थ्य केन्द्र खस्यौली क्षेत्र वरिपरी सरसफाई, प्राथमिक उपचार केन्द्रसम्म पुग्ने सडक मर्मत र सरसफाइ भयो।

कात्तिकमा पालिकाको वडा नं ८ रिङसिङ लेक र वडा नं ४ को धार्मिक पर्यटकीय स्थल भैरवमन्दिर क्षेत्रमा सरसफाइ भयो। मंसिरदेखि माघसम्म पालिकाको ऐतिहासिक पर्यटकीय तथा पुरातात्विक महत्वको वडा नं. ५ रिव्दीकोट क्षेत्र जलेश्वर क्षेत्र (जहाँ सेन वंशीय राजाहरूको शासनस्थल)मा सरसफाइ, वनमारा फडानी गरी व्यवस्थित गरियो।

फागुनमा स्थानीय दुर्गाबहादुर पोखरेलको अगुवाइमा पालिका भरीका माध्यमिक विद्यालयहरूका एसईई दिने बालबालिकालाई लक्षित गरी व्यायाम, ध्यान, प्राणायाम, पढ्ने तरिका तथा जीवन जिउने कला सम्बन्धी प्रशिक्षण सम्पन्न भयो।

गत १८ चैतमा पाल्पाको रिब्दीकोट गाउँपालिकाको बतासेमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भयो। शिविरका लागि न स्थानीय तहको बजेट दियो। न प्रदेश सरकारको बजेट थियो। न संघीय सरकारको वार्षिक योजना अनुसार सम्पन्न भएको हो। पाल्पाको रिव्दीकोट गाउँपालिकाले सुरु गरेको स्वयंसेवी अभियान ‘म बनाउँछु, मेरो रिव्दीकोट’ अन्तर्गत सहयोगी संस्थाले झन्डै १० लाख रुपैयाँ बराबरको लागतमा निःशुल्क शिविर सञ्चालन गरेका हुन्।

‘इच्छाशक्ति र ठोस योजना भए जनताको सेवा र समाजमा विकास गर्न पैसा नै खर्च गर्नुपर्दैन। लाखौं करोडौं लागतमा गरिने कार्यक्रम पनि बिना लगानी सम्पन्न हुनसक्छन्’ भनेर पाल्पाको रिब्दीकोट गाउँपालिकाले सुरु गरेको स्वयंसेवी अभियानले सिद्ध गरेको छ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की नौ महिनामा स्वयंसेवी अभियानबाट मात्र कम्तीमा ६० देखि ८० लाख रुपैयाँबराबरको काम भएको बताउँछन्। रिब्दीकोटबाट कामका लागि बुटवल, भैरहवा, पोखरा, काठमाडौं नेपालगन्ज, युरोप अमेरिका, जापान पुगेका व्यक्तिहरू अभियानमा जोडिन देश–विदेशबाट सम्पर्कमा आउन थालेको अध्यक्ष कार्कीले प्रष्ट पारे।

उनी भन्छन्, ‘रिब्दीकोटवासीहरूले सहयोग गर्न आतुर हुनुहुन्छ। हामीले व्यवस्थित योजना बनाएर यो अभियानामा जोड्ने छांै।’पाल्पाली संगम काठमाडौमा आवद्ध भएका डाक्टरहरूले स्वास्थ्य क्षेत्रमा, इन्जिनियरहरूले पूर्वाधार क्षेत्र तथा डीपीआरमा, वकिलहरूले कानुन निर्माणमा सहयोग गर्ने र प्रत्येक नागरिकहरूले वार्षिक रूपमा ८ हजार ५ सय रुपैयाँ सहयोग गर्ने भएका छन्। यो अभियानबाट रिब्दीकोटको मुहार फेर्न सकिन्छ भन्नेमा आफू विश्वस्त हँुदै गएको पालिका अध्यक्ष कार्कीले बताए।

गाउँपालिकाले चालू आर्थिक वर्षदेखि व्यक्तिको क्षमता र दक्षताको आधारमा सुरु गरेको ‘म बनाउँछु, मेरो रिब्दीकोट’ स्वयंसेवी सामाजिक अभियान देशका सबै स्थानीय तहको लागि सिको गर्न लायक भएको छ। यो नौलो अभियान सरकारले बजेट विनियोजन गरेर सञ्चालन गरेका कार्यक्रमभन्दा दिगो र प्रभावकारी हुँदै गएको छ। जुन सामाजिक कार्यक्रम पालिकाको विना लगानी प्रभावकारी जनमैत्री  बनेका छन। रिब्दीकोट गाउँपालिकामा जन्मिएका कर्म बाहिरी क्षेत्रमा गर्दै आएका व्यक्ति संघ–संस्थाको सहयोग र लगानीमा म बनाउँछु मेरो रिब्दीकोट सामाजिक अभियान सञ्चालन हुँदै आएको छ।

गाउँपालिकामा बजेट निकै कम भएको, आन्तरिक आम्दानी न्युन रहेकाले स्थानीय तहको बजेटले मात्र गाउँठाउँको विकास गर्न नसकिने भएकाले रिव्दीकोटवासीलाई सामाजिक अभियानमा जोड्न ‘म बनाउँछु, मेरो रिब्दीकोट अभियान सञ्चालन गरेर सामाजिक अभियानबाट बिना लगानी धेरै राम्रा कामहरू भइरहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।

स्वयंसेवी अभियानबाट आम जनताबाट बाटोघाटो निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने, पालिकाका स्वास्थ्य संस्थाहरू सरसफाइ मन्दिर तथा ऐतिहासिक स्थलहरूको सरसफाइदेखि बृहत् स्वास्थ्य शिविर सञ्चालन भइरहेको उपाध्यक्ष कान्ता अधिकारीले बताइन्।  रिव्दीकोट गाउँपालिकाले शुरु गरेको स्वयसेवी अभियान अन्य पालिकाहरूका लागि पनि प्रभावकारी देखिएको छ। अन्य पालिकाले यो अभियान सुरु गरेमा स्वयंसेवी रूपमै विकासको 
अभियान चल्नेछ।

बृहत् स्वास्थ्य शिविर

म बनाउँछु मेरो रिव्दीकोट सामजिक अभियानअन्तर्गत गाउँपालिकाले बिना लगानी बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। १८ वटा विशेषज्ञ उपचार सेवासहित पालिकाभरीका जनतालाई लक्षित गरी बतासेमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ६ सय बिरामीले जनरल, फिजिसियन, नाक कान घाँटी, बालरोग, महिला रोग, पाठेघर क्यान्सरको जाँच, दन्तरोग, हाडजोर्नी, नसारोग, आँखा जाँच, सुगर जाँच, भिडियो एक्सेरे, ल्याब सेवा, जनरल सर्जरी विशेषज्ञ उपचार सेवासहित निःशुल्क औषधि पाएका छन्। पैसा नहुँदा, अस्पतालहरू घटबाट टाढा हँुदा, सबै किसिमको उपचारको सेवा गाउँघरमा नपाउँदा रोग लुकाएर बस्न बाध्य भएका बिरामीहरू शिविरबाट बढी लाभान्वित भएका छन्।

शिविरमा अधिकांश विशेषज्ञ सेवामा महिला बिरामीको संख्या अत्याधिक रहेको थियो। ‘खुट्टा झमझम गर्ने, शरीर चस्किने, हातखुट्टा पोल्ने, शरीर दुख्ने, आँखा नदेख्ने भएर, बतासेको स्कुलमा डाक्टरसँग जचाउन आएकी हँु। फिरीमा जँचाए। अब औषधि लिएर घर जान्छु’, ७५ वर्षीया मानकुमारी सार्कीले खुसी हुँदै प्रतिक्रिया दिइन्। ‘धेरै हिँडडुल गर्न सक्दिन। लौरो टेकेर आएकी छु। कम्मर मुनी दुख्छ। बेला–बेलामा कोखो दुख्छ। डाक्टरले भिडियो एक्सेरे गरेर हेर्ने भन्नुभयो’, लाइनमान पालो कुरेर बसेको मैनादीकी ७५ वर्षीया सुना नेपालले बताइन्।

रिब्दीकोट गाउँपालिका वडा नंं ५ का ७४ बर्षिय रुमबहादुर थापाले ग्यास्टिकले पेट सधैं डुम्म हुने भएकाले जचाउन आएको बताए। बतासेकी दृष्टिविहीन कान्ताकुमारी गाहाले हातखुट्टा दुखेको उपचारको लागि छोरी लक्ष्मी गाहाको साहारामा शिविरमा पुगेर निःशुल्क उपचार पाएको बताइन्।
म बनाउँछु, मेरो रिब्दीकोट अभियानबाट मधुमेहका ९० जना, आँखाका ९२, नाककान घाँटीमा ४६ जना, जनरल फिजिसियन सेवा १ सय ५९ जना, भिडियो एक्सेरे १ सय २१ जना, हाडजोर्नी नसा १ सय ३२ जना, दाँतमुख १८ जना, स्त्रीरोग ९१ जना, बालरोग २० जना, मानसिक परामर्श सेवा १७ जना, पाठेघरको क्यान्सर ५० जना र जनरल सर्जरी १४ जना गरी ५ सय ८२ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.