राष्ट्रियसभाबाट २ विधेयक पारित

राष्ट्रियसभाबाट २ विधेयक पारित
सुन्नुहोस्

काठमाडौं : राष्ट्रियसभाको मंगलबार बसेको बैठकबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७’ सर्वसम्मतिबाट पारित भएको छ। 

राष्ट्रियसभाबाट उत्पत्ति भएका यी दुवै विधेयक राष्ट्रियसभाबाटै पारित भएका हुन्। अब यी विधेयक प्रतिनिधिसभामा जानेछन्। राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

‘जनताको चाहना र भावनाअनुसार काम भएनन्’राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले सरकार र स्थायी सरकार (कर्मचारीतन्त्र)ले जनताको चाहना र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन्। बैठकमा बोल्दै उनले नेताहरू आम निर्वाचनमा गरेका बाचाअनुसार काम गर्न नसकेको बताए।

‘सबैभन्दा राम्रो राजनीतिक सिस्टम पाएका छौं। राजनीतिले लय र बाटो पक्रिए पनि नेपाली समाजमा चरम गरीबीले विसंगति र विकृति मौलाएको छ। सास्ती, दु:ख, कष्ट, पीडा हेर्दा सबैको आँखाबाट आँसु आउने खालको छ। कहिलेसम्म भोग्ने हो’, उनले प्रश्न गरे, ‘अर्थतन्त्रको कुरा गर्दा राजश्व उठेको छैन। विकास बजेट न्यून खर्च छ। यो अवस्था कसरी आयो को जिम्मेवार छ ? यो अवस्था आउँदा कति जना दण्डित हुनुभयो यही सुशासन हो त ?’ 

उनले थपे, ‘जनताको चाहानाअनुसार काम गर्न सके्का छौ त ? आम चुनावमा गरेका बाचाअनुसार हामीले काम गर्न सकेका छैनौं। यसलाई बुझेर हामीले आफूलाई परिवर्तन गर्न जरुरी छ। हामी मात्रै सुधे्रर भएन। हाम्रो ब्युरोक्रेसी पर्मानेन्ट गर्भमेन्टलाई पनि सुधार्नु छ।’ 

साथै उनले चालू आवको ७ महिनामा ७० हजार विद्यार्थी अध्ययनका लागि विदेसिएको र ४४ अर्ब रुपैयाँ बाहिरिएको तथ्यांक प्रस्तुत गरे। नेपाललाई नै शिक्षा र आईटीको हब बनाउन सकिने बताउँदै यसतर्फ ख्याल गर्न सरकारलाई आग्रह गरे।

‘कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्छु’

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै कृषि आधुनिकीकरण र औद्योगिकीकरणमा आफ्नो ध्यान केन्द्रित हुने बताए।

उनले कृषि मन्त्रालय जनताको जीवनसँग प्रत्यक्ष  रुपमा जोडिएको मन्त्रालय भएको बताए। ‘अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रको मन्त्रालय हो। यहाँ थुप्रै समस्या भए पनि केही प्रमुख समस्या बताए। समयमा मलको आपूर्ति नहुने सबैभन्दा ठूलो समस्या छ। यसको समाधान कसरी गर्न सकिएला ? १० लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझो छ,’ उनले भने, ‘हराभरा जमिन बनाउन सकिएला। बजार व्यवस्थापन कसरी गर्न सक्छौं। कृषिलाई उद्यमशीलतासँग कसरी जोडने ? उनले राजनीतिमा संलग्न भएको ५३ वर्षपछि यो मुलुकको एउटा मन्त्रालयको नेतृत्व सम्हाल्ने ठाउँमा पुगेको छु। यो जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालय पनि हो। तर, यसभित्र धेरै जटिलता समस्या छन्।’

उनका अनुसार मल खरिद प्रक्रिया लम्मेतान छ। यसलाई छिटो बनाउन सबैको पहल हुनुपर्छ। उनले भने, ‘आवश्यक मलको ७५ प्रतिशत बढीको टेन्डर भइसकेको छ। केही आउने क्रममा छ। यो हाम्रो हातमा मात्रै छैन। विदेशको यातायात व्यवस्थाले कति सहयोग गर्छ भन्ने कुरामा निर्भर गर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.