जनकपुर मेयर कपको सेमिफाइनलमा
जनकपुरधाम : जनकपुरधाममा जारी ‘जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत शनिबार तेस्रो दिनको खेलमा हेटौंडा र जनकपुरधाम विजयी भएको छ।
शनिबारको पहिलो खेलमा हेटौंडाले रौतहटलाई ५ विकेटले पराजित गर्दा दोस्रो खेलमा सिरहालाई १० विकेटले पराजित गर्दै जनकपुरधाम विजयी भएको हो।
जनकपुरधाम उप–महानगरपालिका १४ रजौल स्थित प्रस्तावित रामजानकी बहुद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा बिहान भएको पहिलो खेलमा हेटौडाले रौतहटलाई ५ विकेटले पराजित गरेको छ।
रौतहटले दिएको १०९ रनको लक्ष्य हेटौंडाले १६ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो। हेटौडालाई सहज जित दिलाउन गौरव खडाकाले अविजित ५१ रनको अर्धशतकिय पारी खेले।
हेटौंडाका लागि सुमन सुनारले १३ र रामनरेश गिरीले १० रनको योगदान गरे। रौतहटको बलिङ्गमा आशिक साह र संजय साहले २/२ तथा धर्मेन्द्र साहले १ विकेट लिए।
यसअघि पहिले ब्याटिङ्ग गरेको रौतहट अरविन्द चौधरीको ३६ र धर्मेन्द्र साहको २७ रनको योगदानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रनको स्कोर खडा गरेको थियो।
रौतहटलाई सस्तैमा समेट्न शुभ कंशकार र रामनरेश गिरीले ३/३ विकेट लिए। त्यस्तै अशिम श्रेष्ठ र विशाल फुयालले १/१ विकेट लिएका थिए। शनिबारको दोस्रो खेलमा सिरहालाई १० विकेटले पराजित गर्दै जनकपुरधाम सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा महोत्तरीलाई पराजित गरेको जनकपुरधाम लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
सिरहाले दिएको ८४ रनको झिनो लक्ष्य जनकपुरधामका खेलाडीले बिना कुनै विकेटको क्षतिमा पूरा गरेको थियो। जनकपुरधामका लागि हरिशंकर साहले ३६ र मयन यादवले ३० रनको अविजित पारी खेले।
यसअघि पहिले ब्याटिङ्ग गरेको सिरहाका खेलाडी जनकपुरधामको बलरसामु टिक्न सकेनन्। सिरहाका लागि शैलेन्द्र साह १७, राकेश कामत १६, कृष्णा साह १२ र अशोक यादवले ११ रनको पारी खेले।
सिरहालाई सस्तैमा समेट्न कृष्णा कार्की र विशाल सुशलिङ्गले ४/४ विकेट लिएका थिए भने आकाश रोयले २ विकेट लिए। जनकपुरधाम प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार बिहान ९ बजेदेखि बारा र रौतहट बीच पहिलो तथा दिउँसो १:४० बजेदेखि सर्लाही र पर्साबिच दोस्रो खेल हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !