काठमाडौंलाई हराउँदै सप्तरीको रोमाञ्चक जित
जनकपुरधाम : जनकपुरधाममा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौंलाई हराउँदै सप्तरी टिमले रोमाञ्चक जित निकालेको छ।
सोमबार रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालामा पाँच रनले काठमाडौंलाई सप्तरीले पराजित गरेको हो।
टस जितेर पहिला ब्याटिङ रोजेको सप्तरीका खेलाडीहरू निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०२ रनको लक्ष्य काठमाडौं समक्ष प्रस्तुत गरेका थिए।
सप्तरीका लागि रोहन विकले सर्वाधिक ५० बलमा ४०, अभिषेक कार्कीले १२ र विक्रम दासले १० रनको योगदान दिए। सप्तरीका लागि अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
काठमाडौंका लागि बलिङ गरेका इसान पाण्डे र गजेन्द्र बोहराले चार/चार विकेट लिए। जवाफी ब्याटिङ गरेका काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर मात्र ९६ रन बनाउन सके।
काठमाडौंका लागि ओपनिङ बाहेकका ब्याट्स म्यानले राम्रो साझेदारी गर्न सकेनन्। कमजोर ब्याटिङ गर्दै काठमाडौंका लागि अशोक पौडेलले २४, गजेन्द्र बोहराले १७ र समिर कंडेलले १० रन बनाए। काठमाडौंका अन्य ब्याट्स म्यानले सम्मानजनक रन बनाउन सकेनन्।
सप्तरीको जितका लागि राहुल मण्डलले तीन, पप्पु यादव र नितेश यादवले दुई/दुई विकेट लिए। यस खेलको म्यान अफ दी म्याच रोहन विक घोषित भएका थिए।
यस्तै, मंगलबार भएको पहिलो खेलमा सर्लाहीलाई ७७ रनले विराटनगरले पराजित गरेको थियो। सर्लाही टिम टस जितेर ब्याटिङको लागि विराटनगरलाई आमन्त्रण गरेका थिए। विराटनगर निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५२ रनको लक्ष्य सर्लाही समक्ष प्रस्तुत गरे।
मंगलबार सम्म यो स्कोर प्रतियोगिताको सबैभन्दा उच्च स्कोर छन्। विराटनगरका लागि सुनिल धमलाले ४८ बलमा ५६ रन र फिरदोस अन्सारी नटआउट २८ बलमा ३७ रन बनाएका थिए।
सर्लाहीको तर्फबाट बलिङ गरेका सन्दिप खडका, विशाल पटेल, चक्राधर यादव र सुमन सुक्लाले एक/एक विकेट लिए। एक सय ५२ रनको विशाल लक्ष्य पाएका सर्लाही टिम १९ ओभर चार बलमा सबै विकेट गुमाएर मात्र ७८ रन मात्र बनाउन सके।
कमजोर ब्याटिङ देखिएको सर्लाहीको कुनै पनि ब्याट्स म्यानले राम्रो साझेदारी गर्न सकेनन्। विशाल पटेलले दश बलमा १३ रन बनाए पनि अन्य कुनै ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरको जितका लागि सुनिल धमलाले तीन, भाष्कर दुबेले तीन, दिपकराज जोसी दुई र फिरदोस अन्सारीले एक विकेट लिए। यस खेलको म्यान अफ दी म्याच पनि फिरदोस अन्सारी भएका थिए।
प्रतियोगितामा १२ वटा टिम सहभागी भएको छ। जसमध्ये धनुषा र बारा सेमिफाइनलमा पुगिसकेका छन्। सबै टिमलाई चार वटा समूहमा विभाजन गरिएको छ।
जानकी समूहबाट महोत्तरी र सिरहा पराजित भएर घर फर्किसकेका छन् भने वैदेही समूहबाट रौतहट र हेटौंडा पराजित भएर प्रतियोगिताबाट आउट भइसकेका छन्।
यस्तै, मिथिला र भुमिजा समूहका टिमहरू प्रतिस्पर्धामा छन्। मिथिलामा काठमाण्डू, सप्तरी र पोखरा छन्। वैदेही समूहमा हेटौंडा, बारा र रौतहट टिम छन भने भुमिजा समूहमा विराटनगर, सर्लाही र पर्सा क्रिकेट टिम परेका छन्।
प्रतियोगिताको फाइनल खेल वैशाख १ गते हुने छ। प्रतियोगिता विजेता टिमलाई नगद अढाई लाख र उपविजेतालाई डेढ लाखसहित कप र प्रमाणपत्र दिइने छन्।
मंगलबार बिहान विराटनगर र पर्साबीच खेल हुने छन्। दुवै टिम एक/एक खेल जितेर सेमिफाइनलमा पुग्न प्रतिस्पर्धा गर्ने छन्। मंगलबार दोस्रो खेल काठमाडौं र पोखराबीच हुने आयोजक संस्थाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !