९ वर्षपछि पाउने भए जुरे पहिरो पीडितले राहत

९ वर्षपछि पाउने भए जुरे पहिरो पीडितले राहत

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले ९ वर्षपछि बल्ल राहत रकम पाउने भएका छन्। 

पीडितले मागबमोजिम नगदै राहत पाउने भएका हुन्। मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पीडितलाई राहत रकम वितरण सुरु गर्ने निर्णय गरेको हो। 

चैत्र १४ को मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको समन्वयमा पीडितलाई नगद वितरण गर्न सुरु गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। 

‘आजको बैठकले जुरे पहिरो पीडितलाई नगद वितरण सुरु गर्ने निर्णय गरेको छ’, न्यौपानेले भने– ‘तीन साता भित्र सबै रकम वितरण भइसक्ने छ।’ 

रकम वितरणलाई सहज बनाउन पहिरो प्रभावित बलेफी गाउँपालिका, बाह्रविसे नगरपालिका र त्रिपूरासुन्दरी गाउँपालिकालाई विपद् व्यवस्थापन समितिमा पीडितको खाता नम्बर पठाउन अनुरोध गरिएको र पीडितको बैंक खाता उपलब्ध हुने बित्तिकै पीडितको खातामा मापदण्ड र अंकभरका आधारमा तुरुन्त रकम पठाइने उनले बताए।

२०७१ साउन १७ गते गएको पहिलो पीडितलाई स्वैच्छिक रुपमा सर्वसाधारणले नगद संकलन गरी दिएका थिए। जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित २ करोड २४ लाख ६६ हजार ६ सय ५७ रुपैयाँ ८५ पैसा नेपाल बैंक लिमिटेड चौताराको खातामा अड्किएको थियो। पहिरोमा परी १ सय ४२ जनाको मृत्यु भएको थियो। १ सय ५३ घर परिवार विस्थापित भएका थिए।

बैठकले पहिरोमा परि मृत्यु भएका १ सय ४२ जनाका परिवारलाई प्रति मृतक २० हजार रुपैयाँको दरले कुल २८ लाख ४० हजार मृतकको आश्रित वा कानूनी हकवालालाई दिने, बाँकी हुन आउने १ करोड ९६ लाख २६ हजार ६ सय ५७ रुपैयाँ ८५ पैसा राहत वितरण मापदण्डको प्रतिवेदन अनुसार वितरण गरिने बैठकले निर्णय गरेको छ।

यसरी गरिनेछ रकम वितरण

‘जुरे सुनकोशी पहिरो पीडित राहत वितरण मापदण्ड २०७१’ ले पीडितहरूलाई ६ वर्गमा वर्गीकरण गरेको थियो। विभिन्न मापदण्डलाई आधार बनाएर अध्ययन गरेको सो प्रतिवेदन अनुसार कुल २ सय ८० परिवारलाई पहिरो प्रभावित मानेको छ। 

मापदण्ड अनुसार कुल ५ हजार ९ सय ३३ अंक देखिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए। 

प्रत्येक अंकले ३ हजार ३ सय ६ रुपैयाँ प्राप्त गर्ने र शून्य अंक प्राप्त गर्ने ३ परिवारलाई ४ हजार ५३ रुपैयाँ दिईने निर्णय बैठकले गरेको छ। ‘मापदण्ड अनुसार बाह्रविसे नगरपालिकाका डिलबहादुर तामाङले ४२ अंक प्राप्त गरेका छन्’, श्रेष्ठले भने ‘उनले १ लाख ३८ हजार ८ सय ५२ रुपैयाँ प्राप्त गर्ने देखिन्छ। यसरी जिल्ला विपद् व्यवस्थापन समितिले पीडितलाई रकम वितरण गर्नेछ।’

पहिरोबाट सबैभन्दा धेरै प्रभावित बलेफी गाउँपालिकाका रहेका छन्। सो पालिकामा मात्र १ सय १६ परिवार प्रभावितको सूचीमा सूचीकृत छन्। त्यस्तै बाह्रविसे नगरपालिकाका ९६ र त्रिपूरासुन्दरी गाउँपालिकाका ६८ जना सूचीकृत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.