बारामा गठबन्धन दलका शीर्ष नेताको अपील- उपेन्द्रले जिते सरकार पाँच वर्ष टिक्छ

बारामा गठबन्धन दलका शीर्ष नेताको अपील- उपेन्द्रले जिते सरकार पाँच वर्ष टिक्छ
बिहीबार बाराको बरियापुरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्ष नेताहरू। तस्बिर : क्रान्ति साह

वीरगन्ज : बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू बारा पुगेर मतदातालाई आह्वान गरेका छन्। 

बिहीबार बाराको बरियापुरमा आयोजित गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डसहित पाँच दलका शीर्ष नेताहरूले उपेन्द्र यादवले जिते गठबन्धन र अहिलेको सरकार पाँच-वर्षसम्म टिक्ने दाबी गरे। 

गठबन्धन र सरकारलाई पाँच वर्षसम्म टिकाउन बारा २ मा जसपा अध्यक्ष यादवको जित आवश्यक भएको पनि उनीहरूले बताए। यादवलाई जिताउन आह्वान गर्ने क्रममा  उनीहरूले बारा २ को विकास र समृद्धिका लागि विभिन्न महत्वकांक्षी योजनाहरू ल्याउने आश्वासन पनि मतदातालाई दिए।

आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनलाई मजबुत बनाउन बारा २ बाट उपेन्द्र यादवको जित अति आवश्यक भएको बताए। यसका साथै संविधान, लाकेतन्त्र र मधेसका अधिकारको रक्षाको निम्ति पनि संसदमा उपेन्द्र यादवको उपस्थिति आवश्यक भएको उनले बताए।  

प्रचण्डले भने, 'साँच्चै भन्नु पर्दा गठबन्धनमा उपराष्टपति पद माओवादीको भागमा परेको थियो तर उपेन्द्रजीले नै जसपालाई एउटा राम्रो पद चाहियो भनेपछि ल तपाईँ नै लिनुस्  भनेर मैले रामसहाय यादवलाई छोडेको हुँ। आज यो कुरा भन्न पाउँदा मलाई उपेन्द्रजीमाथि गर्व महससु भइरहेको छ।' 
  
उपेन्द्र यादवजस्तो विकासप्रेमी र योग्य नेता पाउने बारा-२ का जनता साँच्चै भाग्यमानी भएको उनले बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘बारा २ मा उपेन्द्र यादवले मात्रै जित्दै हुनुहुन्न पाँच दलीय गठबन्धनले नै जित्दैछ। पाँच दलीय गठबन्धनले मात्रै होइन, यो देशको संघीय लोकतान्त्रिक गणतन्त्रले पनि जित्दैछ। मधेस र पहाडबीचको राष्ट्रिय एकताले पनि जित्दैछ।

यसै क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएर बारा-२ खाली भएपछि उपेन्द्र यादवलाई आफूले नै उपनिर्वाचन लड्न पठाएको प्रधानमन्त्री प्रचण्डको जिकिर थियो। उनले भने, ‘बारा २ खाली भएपछि मैले नै उपेन्द्रजीलाई जानुस् चुनाव जितेर आउनुस् भनेर पठाएको हुँ। बारा २ मा गठबन्धनका उम्मेदवार यादवको विजय भनेको मधेसको विजय हुनेछ। देशको विजय हुनेछ। लोकतन्त्रको विजय हुनेछ। गठबन्धनको विजय हुनेछ।'

बारा २ मा उपेन्द्र यादवलाई जिताउनका लागि प्रधानमन्त्री प्रचण्डले बारामा विभिन्न महत्वकांक्षी योजनाको आश्वासन पनि दिए। उनले राष्ट्रिय गौरबको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरी निर्माणको काम सुरु गरिने बताए। 

विश्वप्रसिद्ध महागढीमाई मन्दिरलाई धार्मिक पर्यटन स्थलका रूपमा विकास गर्न सरकारले गढीमाई विकास कोष स्थापना गरी काम अगाडि बढाउने उनले बताए। 
छिट्टै नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएर नागरिकताको समस्या पनि समाधान गरिने उनले बताए। 

प्रचण्डलले भने, ‘बारा २ बाट उपेन्द्र यादवलाई जिताएर पठाउनुस्, बारामात्र होइन, मधेसमा विद्यमान सबै समस्याको समाधान गर्ने जिम्मा पाँच दलीय गठबन्धनको हुनेछ।  प्रधानमन्त्रीको हैसियतले म सधैं उपेन्द्र यादवजीको साथमा खडा रहनेछु।'
 
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव अत्यन्तै योग्य र कर्मठ नेता भएकाले अत्याधिक मत दिएर जिताउन बारा २ का मतदातलाई अपिल गरे।

देउवाले भने, 'म प्रधानमन्त्री भएका बेला मन्त्रीका रूपमा रहँदा उपेन्द्रजीले मधेसका लागि पटक-पटक झगडा गर्नु हुन्थ्यो। त्यसकारण बारा र मधेसका लागि उहाँ जतिको योग्य र कर्मठ नेतालाई जिताएर संसदमा पठाउन अति आवश्यक छ।' यादवको जितले पाँच दलीय गठबन्धनलाई अझ मजबुत बनाउने उनको पनि भनाइ थियो।
  
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उपेन्द्र यादव मधेसका मात्र नभइ पूरा देशको नेता भएको जिकिर गरे। नेपालले भने, ‘यदि पाँच दलीय गठबन्धन मजबुत भयो भने यो सरकारलाई पाँच वर्षसम्म कसैले हल्लाउन पनि सक्दैन। त्यसैले यो गठबन्धनलाई मजबुत बनाउन पनि बारा २ बाट उपेन्द्र यादवको जित अपरिहार्य छ। 

आमसभामा सहभागी जनताको उपस्थितिले पनि बारा २ मा गठबन्धनका उम्मेदवार यादवको जित सुनिश्चित भएको संकेत गरेको पनि नेपालले बताए। उनले भने, ‘आजको यो जनसागर देख्दा भन्न मन लाग्यो 'जित गया भाइ जित गया उपेन्द्र यादव जित गया।'

नेपालले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यही गठबन्धन सरकारले निर्माण गर्ने दाबी गरे। उनले भने, ‘छिट्टै सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेर निर्माणको काम सुरु गर्छ।' 

जसपाका अध्यक्ष एवं बारा २ मा गठबन्धनका साझा उम्मेदवार रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको बारा-२ मा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले आफूलाई चुनाव लड्न पठाएको बताए। 

यादवले भने, ‘बाराका जनताको सेवा र विकासका लागि प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरूले नै मलाई बारा-२ मा चुनाव लड्न पठाउनु भएको हो।
 
बारा-२ का मतदातालाई आफ्नो पक्षमा पार्न यादवले पनि विभिन्न आश्वासनहरू दिए। यादवले निजगढ अन्तर्राष्ट्रि विमानस्थल निर्माणको काम यथाशीघ्र सुरु गराउन सरकारलाई दबाब दिने बताए। त्यस्तै नागरिकताको समस्या समाधान छिट्टै हुने, गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गरिने, घरबारविहीन विपन्न र दलितहरूलाई जनता आवास कार्यक्रममार्फत् घर उपलब्ध गराउने यादवले बताए। 

यादवले भने, ‘गठबन्धनको उम्मेदवार मलाई जिताएर संसदमा पठाउनुस्, बाराका सारा समस्याहरू समाधान गर्छु र सरकारबाट गराउँछु। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ्य भएका कारण आमसभामा सहभागी हुन नसकेपछि उनको तर्फबाट पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले आमसभालाई सम्बोधन गर्दै यादवका लागि मत मागे। 

सोनलले अहिलेको पाँच दलीय गठबन्धनलाई अझ मजबुत बनाई पाँच वर्षसम्म टिकाउनका लागि पनि बारा २ मा जसपा अध्यक्ष यादवको जित अपरिहार्य भएको बताए।
यसका साथै संघीयता र लोकतन्त्रलाई संस्थागत गर्न तथा मधेस प्रदेशलाई मजबुत बनाउन पनि संसदमा यादवको उपस्थिति आवश्यक भएकाले जिताएर संसदमा पठाउन उनले बारा २ का मतदातासँग अपिल गरे। 

देशको विकास, समृद्धि, संघीयताको कार्यान्वयन, सत्य र न्यायको रक्षाको लागि पाँच दलीय गठबन्धन बनेको सोनलले प्रस्ट्याए। गठबन्धनको चुनावी आमसभामा मधेस प्रदेशका आठ वटै जिल्लाबाट पाँच दलका नेता कार्यकर्ताहरुको सहभागीता थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.