सुरेल भाषामा अध्यापन सुरु
दोलखा : गौरीशंकर गाउँपालिका-५ मा सुरेल भाषा संरक्षणका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ।
लोपोन्मुख सुरेल भाषालाई संरक्षणका लागि विद्यालयमा सुरेल जातिको भाषा पढाउन थालिएको छ।
'सुरेल भाषा संस्कार, संस्कृति संरक्षण तथा सम्बर्द्धनका लागि हामी सक्रिय छौं', नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय सचिव विकास सुरेलले भने।
पछिल्ला समय नयाँ पुस्ताले सुरेल भाषा सुर्चलोलाई चासो दिन छाडेका छन्। परम्परागत सुरेल भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा लोप हुँदै गएको उनको भनाइ छ।
यो भाषा बोल्ने पुराना व्यक्तिको मृत्यु हुनु, नयाँ पुस्तामा स्थानान्तरण नहुनु, अन्तर्जातीय विवाह र नेपाली भाषाको बढ्दो चल्तीका कारण सुरेल भाषा लोप हुँदै गएको हो।
भाषा संरक्षण गर्न सुरेल अगुवाहरूको आग्रह र विकास सुरेलको विशेष पहलमा पाठ्यक्रम बनाएर सुर्चलाको पढाइ सुरु भएको अगुवा तीर्थबहादुर सुरेलले बताए।
रामेछापको एकांसथली भन्ने ठाउँबाट बासे र बिरवल दुई जना सिकार खेल्दै जाने क्रममा सुरीको गुरुम्फीमा बसोबास सुरु गरेका सुरेलहरू अहिले सुरीलाई मुख्य थलो बनाएर बसेका छन्।
लगभग ६० घरधुरी रहेका सुरेलहरूको जनसंख्या २३० रहेको छ। गौरीशंकर गाउँपालिका-८ खारेखोलामा पनि ४ घर रहेको छ। सुरेल जाति शिक्षामा पनि धेरै पछि छन्। एसएलसी पास गर्नेको संख्या लगभग २५ जना छन्। प्लस टु पास गर्ने ७ जना मात्रै रहेका छन्।