चन्दा जुटाएर खेल मैदान निर्माण
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर बढी चन्दा संकलन गरेर खेल मैदान निर्माण भएको छ।
घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा संकलन र दाताको सहयोग जुटाएर भलिबल र बास्केटबल खेल सञ्चालन गर्न मिल्ने व्यवस्थित खेल मैदान बनाएका हुन्।
क्लबका अध्यक्ष अमृत गर्बुजाले गाउँपालिकाबाट १४ लाख तीस हजार रुपैयाँ अनुदान प्राप्त भएको खेलमैदान बनाउन समुदाय स्तरबाट ३४ लाख ७७ हजार रुपैयाँ सहयोग जुटाएको बताए।
‘खेतबारी र घरको आँगनमा खेल अभ्यास गर्नुपर्ने समस्या हटाउन खेल मैदान बनाएका हौं,’ उनले भने ‘गाउँपालिकाले दिएको अनुदानभन्दा बढी चन्दा र श्रमदान जुटाएर खेल मैदान निर्माण भएको छ।’
खेल मैदान निर्माण भएपछि भलिबल, बास्केटल खेलको अभ्यास, फुर्सदको समय सदुपयोग र प्रतियोगिता तथा सभा समारोह आयोजना गर्न सहज भएको खेलाडी नविन फगामीले बताए।
घराम्दी घर भई हाल बेलायत बस्ने होमबहादुर फगामीले चार लाख ५० हजार रुपैयाँमा किनेर क्लबलाई उपलब्ध गराएको ४ रोपनी जग्गामा ३० मिटर लम्बाई र १७ मिटर चौडाई भएको खेलमैदान निर्माण गरिएको हो।
खेलमैदान निर्माणका लागि फगामीले थप दुई लाख रुपैयाँ सहयोग गरेका छन्। स्वदेश तथा विदेशमा रहेका घराम्दीवासीहरुले २७ लाख रुपैयाँ सहयोग गरेका छन्। गाउँका भूतपूर्व सैनिकहरुले तीन लाख २७ हजार रुपैयाँ खर्चेर खेलमैदान परिसरमा सार्वजनिक शौचालय बनाएका छन्।
गाउँपालिकाले प्याराफिट, घेराबार र स्टेज बनाउन १४ लाख ३० हजार रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष मइलन पुर्जाले बताए। अनुदान र चन्दाका अलावा १०० घरधुरीको बसोबास रहेको घराम्दीका वासिन्दाले १०/१० दिन भन्दा बढीका दरले श्रमदान पनि गरेका छन्।
चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्टेज बनाउन सात लाख ५० हजार रुपैयाँ बिनियोजन थियो। वडा अध्यक्ष पुर्जाका अनुसार अनुसार यसअघि २०७८/७९ मा दुई लाख ८० हजार रुपैयाँ, २०७७/७८ मा तीन लाख रुपैयाँ र २०७६/०७७ मा एक लाख रुपैयाँ सहयोग गरिएको थियो।
‘गाउँपालिकाको अनुदानको तुलनामा दोब्बर बढी चन्दा र श्रमदान जुटाएर घराम्दीबासीले जनसहभागिताको नमुना प्रस्तुत गरेका छन,’ वडा अध्यक्ष पुर्जाले भने।
प्रतिक्रिया दिनुहोस !