वृद्ध दम्पतीको लोभलाग्दो लिचीखेती
बुटवल : उमेर हेर्दा उनैलाई स्याहार गर्नुपर्ने हो। घरमा सहारा दिने अरू कोही छैनन्। पाँच सन्तानका बुवा आमा हुन्। नातिनातिना समेत बुवाआमासँगै बुटवल र काठमाडौंमा बस्छन्। चाडपर्वमा सहर पसेका छोराछोरी र नातिनातिना आउँदा घर भरिलो त हुन्छ तर अरू बेला एक्लै बस्नुपर्दा उनीहरूको मनमा खिन्नता भने छाएको छ। ८२ वर्षीय गोपालप्रसाद ज्ञवाली र उनकी ७० वर्षीया श्रीमती लक्षिमा ज्ञवालीलाई भुलाउने एउटा उपाय बनेको छ, बारीभरिको खेतीपाती र लटरम्म फलेका लिचीका बोटहरू। युवाहरूको भन्दा कत्ति पनि कम छैन, उनीहरूको जोंश र जागर।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ थोर्गा स्यालपोखरी पीपलमुनिका ज्ञवाली दम्पतीको लिचीखेती देख्नेहरूका लागि लोभलाग्दो छ। उनीहरूले लिची फलाउन थालेकै ५२ वर्ष बितिसक्यो। ‘लिची फलाउन थालेको ३० वर्षको उमेर हुँदादेखि हो,’ गोपालप्रसादले भने, ‘अहिलेसम्म निरन्तर गरिरहेका छौं। घरखर्च धान्ने राम्रो आम्दानी यहीँ बनेको छ।’ लिची बेचेर वार्षिक करिब ३ लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनले सुनाए।
४६ वटा ठूला–ठूला लिचीका रूख उनको बगैंचामा छन्। ‘लिची पाक्न पाउँदैन,’ उनी भन्छन्, ‘बोटैमा आएर ग्राहकले लैजान्छन्। बोटबाटै एकमुष्ट बिक्री गर्छौं।’ घरखर्च चलाउन र औषधि उपचार गर्नुपरे छोराछोरीहरूसित पैसा माग्न नपरेको उनीहरूले सुनाए। ज्ञवाली दम्पतीका दुई छोरा र तीन छोरी हुन्। तीमध्ये जेठो छोरा बसन्त ज्ञवालीको ३६ वर्षको उमेरमा चार वर्षअघि बुटवलमा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भयो। खेतीपातीले दुःख भुलेका ज्ञवाली दम्पती छोराको कुरा गर्दा निस्सासिएर रुन्छन्। ‘जेठो छोरा र मैले लगाएका लिचीका धेरै रूख छन्,’ बुवा गोपालप्रसादले भने, ‘जति भुल्नखोजे पनि लिची पाक्दा छोराको यादले सताउँछ।’
जेठी बुहारीले बुटवलमा बसेर छोराछोरी पढाइरहेकी छन्। बुहारी रोजगारको खोजीमा छिन्। उनलाई जागिर खुवाउनका लागि धेरैलाई आग्रह गरे पनि कसैले साथ नदिएको वृद्ध दम्पतीले बिलौना पोखे। ‘अकालमै छोराको दुर्घटनामा ज्यान गयो,’ लक्षिमाले भनिन्, ‘त्यही एउटी बुहारी कतै काममा लागेको देख्न पाए मनमा शान्ति मिल्थ्यो भन्ने लागेको छ।’ कान्छो छोरा मधु ज्ञवालीले काठमाडौंमा कपडाको पसल चलाइरहेको उनले जानकारी गराइन्। उनीहरूले फलाएको लिची बोटबाटै प्रतिकिलो १ सय रुपैयाँमा बिक्री हुने गरेको छ। वर्षौंदेखि व्यावासयिक रूपमा खेती गर्दै आएपनि आफूहरूले सरकारबाट सहयोग नपाएको गुनासो ज्ञवाली दम्पतीको छ।
- ४६ वटा लिचीका रूखबाट उनीहरूले वार्षिक करिब ३ लाख रुपैयाँ आम्दानी गर्छन्।
- चार वर्षअघि छोराको दुर्घटनामा मृत्यु भएपछि खेती नै दुःख भुल्ने आधार बनेको छ।
उनीहरू मात्रै होइन्, गाउँका करिव चार सय घरधुरीमध्ये अधिकांशको बारीमा लिचीखेती छ। चार वर्षअघि गाउँका सबै लिची किसानहरू मिलेर लिची महोत्सवसमेत उनीहरूले सञ्चालन गर्दै आइरहेका थिए। आआफ्नो बोटमा फलेका राम्रा–राम्रा लिचीहरू लगेर महोत्सवमा प्रदर्शनीमा राखेर प्रचार प्रसार गरेका थिए। तर, त्यसबाट किसानलाई त्यति राहत नमिलेपछि महोत्सव सञ्चालनलाई किसानहरूले रोकेका छन्। घरमै ग्राहक खोज्दै आउन थालेपछि बजारको समस्या उनीहरूलाई नपरेपछि महोत्सव सञ्चालनलाई स्थगित गरिएको ज्ञवाली दम्पतीले जानकारी गराए। ‘दिनमै ८/१० जना ग्राहक त घरमै लिची खोज्न आउनुहुन्छ,’ गोपालप्रसादले भने, ‘गाउँभरि खेती भइरहेको छ। तर, हामीलाई हौसला दिनेहरू अहिलेसम्म कोही आउनुभएको छैन। गाउँपालिकाले कता कता सहयोग गर्छ भन्ने सुनेका छौं। हाम्रो खेतीपाती पनि हेर्न आउनुभए हुन्थ्यो भन्ने आशा छ।’
ज्ञवाली दम्पतीले लिची मात्रै होइन्, बारीभरि सुन्तला खेती पनि गरेका छन्। १ सय बढी सुन्तलाका बोट छन्। गतवर्ष मात्रै उनीहरूले २० क्वीन्टल सुन्तला फलाएका थिए। १३ वटा बोट कागतीका छन्। बारीभरि तरकारी खेती छ। ‘बुढेसकाल लागे पनि खेती गर्ने जाँगर अझै मरेको छैन,’ ज्ञवाली दम्पती भन्छन्, ‘सक्दासम्म खेतीपातीमै रमाउने हो। छोराबुहारीले काठमाडौं आउनुस् बुवाआमा भनेका छन्, तर यतिका खेतीपाती छाडेर चटक्कै जान मनले मानेको छैन।’ आफ्नै पौरखले उब्जाएको अर्गानिक खानपानले बुढ्यौली लागेका ज्ञवाली दम्पतीको शरीर पनि फूर्तिलो छ। घरखर्च चलाउनकै लागि विदेशीभूमिमा भौतारिएका ज्ञवाली दम्पती नयाँ पुस्ताका लागि प्रेरणाका स्रोत बनिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !