मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितसँग माग्यो निवेदन
काठमाडौं : मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले निवेदन दिन पीडितलाई आह्वान गरेको छ। आयोगले वैशाख १७ देखि ३१ गतेसम्म १५ दिनभित्र निवेदन दिन पीडितलाई आह्वान गरेको हो।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले बिहीबार सूचना निकाल्दै अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितको निवेदन भनेको हो।
सूचनामा भनिएको छ, ‘आयोगबाट अनुचित लेनदेन (मिटर ब्याज)बाट पीडितको निवेदन आह्वान गरिएको छ। पीडितहरूले आफ्नो भएसम्मका सवुद प्रमाणसहित भएको व्यहोरा खुलाइ अनलाइनबाट सिधै यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ। प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ। सोही कक्षमा निवेदन फाराम निशुल्क उपलब्ध हुनेछ। निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइ दिने प्रबन्ध गरिएको छ।’