होटल तथा पर्यटन व्यवसायलाई उद्योगसरह मान्यता दिन पहल गर्छु : उद्योगमन्त्री

वीरगन्ज : देशभरका होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिँदै त्यसअनुसारको सुविधा उपलब्ध गराउन होटल तथा पर्यटन व्यवसायीहरूले सरकारसँग माग गरेका छन् ।
वीरगन्जमा आइतबार होटल तथा पर्यटन व्यवसायीहरूले संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अगुवाइमा व्यवसायीहरूले मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
सरकारले होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिए सरकारबाट होटल तथा पर्यटन व्यवसायले विभिन्न सुविधा र सहुलियत पाउने र त्यसले थलिएको होटल तथा पर्यटन व्यवसायलाई लयमा फर्कन मदत पुग्ने उनीहरूको भनाइ छ ।
मन्त्री रिजाललाई बुझाइएको ज्ञापनपत्रमा पछिल्लो एक दशक यता विभिन्न कारणले होटल तथा पर्यटन व्यवसाय नराम्ररी प्रभावित हुँदै आएका कारण त्यसले अरबौंको लगानी संकटमा परेको उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ ,‘२०७२ सालमा आएको विनाशकारी भूकम्प ,त्यसपछिको ६ महिने मधेस आन्दोलनसँगैको नाकाबन्दी र ३ वर्ष चलेको कोरोना महामारीका बेला देशभरको होटल तथा पर्यटन व्यवसाय पूर्ण रुपमा ठप्प भएको थियो । यी कारणले कतिपय होटल तथा रेष्टुरेण्टहरु बन्द नै भए । कतिपय व्यवसायी ऋणमा डुबे । हजारौं मजदुरहरुको रोजगारी पनि गुम्यो । यी यावत समस्याहरु भोगिरहदा समेत तत्कालीन सरकारले होटल व्यवसायीलाई सहुलियत र राहतको मलहम लगाउने काम पनि गरेन । जसका कारण थलिएका होटल तथा पर्यटन व्यवसाय अहिलेसम्म पनि तङ्ग्रीन पनि सकेको छैन । '
सरकारले उद्योग सरह मान्यता दिएमा थलिएको होटल तथा पर्यटन व्यवसायले विद्युत महशुललगायत विभिन्न करमा उद्योग सरह सहुलियत र सुविधा पाउने र त्यसले यो व्यवसाय फेरि चलायमान बन्न सक्ने होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए । होटल तथा पर्यटन व्यवसाय फेरि पहिलेकै लयमा फर्किन सके यसले अहिले संकटमा परेको मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने भएकाले पनि आफूहरुले यो माग गरेको पन्तले बताए ।
ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले होटल व्यवसायलाई उद्योग सरहको मान्यता दिलाउन आफू सकरात्मक रहेको प्रतिक्रिया दिए । उनले यस विषयमा नीतिगत निर्णयका लागि तत्काल प्रक्रिया अगाडि बढाउन उद्योग मन्त्रालयका सचिवलाई निर्देशन दिने प्रतिबद्धता जनाए । मन्त्री रिजालले भने,‘ यस विषयमा म सकरात्मक छु ,यस व्यवसायसँग सरोकार राख्ने अन्य मन्त्रालयहरु पनि छन्, सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग पनि समन्वय गरेर यसका लागि तत्कालै प्रक्रिया अगाडि बढाउँछु ।
अध्यक्ष पन्तका अनुसार , वीरगन्जमा मात्रै साना ठूला गरी ८० भन्दा बढि होटल छन् । यस्तै देशभर भने करिब ८० हजारको हाराहारीमा रहेका होटल तथा पर्यटन व्यवसायमा लगानीकर्ता र मजदुर गरि करिब आठ लाख व्याक्ति आश्रित रहेको पनि पन्तले बताए ।
वीरगन्जमा आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर ज्ञापनपत्र बुझाउँदै वीरगन्जका होटल तथा पर्यटन व्यवसायी । तस्बिर : क्रान्ति शाह
प्रतिक्रिया दिनुहोस !
