समयानुकूल पत्रकारिता

विशेष सम्पादकीय

समयानुकूल पत्रकारिता
सुन्नुहोस्

पत्रकारिताको एक मात्र उद्देश्य सेवा हुनुपर्छ। – महात्मा गान्धी

अन्नपूर्ण पोस्ट्ले उमेरको अर्को एक कुइनेटो छिचोलेको छ। २२ औं वर्ष प्रवेशको यस पावन सन्दर्भमा समस्त पाठक तथा शुभेच्छुकमा म हार्दिक आभार प्रकट गर्न चाहन्छु– जसका कारण यसको यात्रा अनवरत छ। किशोरावस्थाबाट परिपक्वतातर्फ उक्लिने क्रममा यहाँहरूबाट निरन्तर प्राप्त माया र सद्भावका लागि कृतज्ञ छु। 

यी वर्ष सिकेका, देखेका, भोगेका र लेखेका विषय हाम्रा आर्जन हुन्। तिनैबाट परिस्कृत हुँदै हामीले आफूलाई दीर्घ–गन्तव्यतर्फ डोर्‍याइरहेका छौं। त्यस क्रममा पत्रकारिताको मूल्य, मान्यता र आदर्शको लक्ष्मण रेखामा रही आवाजविहीनको आवाज बन्ने अभियानमा छौं हामी। तथ्यपरक, ताजा र विहंगम समाचार सामग्री हाम्रा मूल पहिचान हुन्। साथमा, खोजमूलक समाचार र सिर्जनशील प्रस्तुतिका आधारमा हामीले नेपाली पत्रकारितामा नयाँ ‘ट्रेन्ड सेट’ गरेका छौं। त्यसमा तपाईंहरूबाट प्राप्त सल्लाह, सुझाव र प्रतिक्रियाले अभिप्रेरित हुँदै आएका छौं। 

विश्वव्यापी आर्थिक मन्दी र सामाजिक सञ्जालको जबर्जस्त प्रवेशले छापा सञ्चार माध्यममा निःसन्देह चुनौती थपेको छ। यही अप्ठ्यारो परिस्थितिलाई अवसरमा बदल्ने सिर्जनशीलता हामीमा चाहिएको छ। यस धरतीमा २ हजार ४ सय लाख वर्षअघि डाइनोसर थिए। समयसँग जुध्न नसक्दा ती विलुप्त भएर गए। बाँदरको स्वरूपमा उत्पत्ति भएको जीव बौद्धिकताको अधिकतम् उपयोगले अहिलेको मानव बन्यो। पत्रकारितामा डाइनोसर बन्ने कि मानव– हाम्रै हातमा छ। त्यसलाई हामीले राम्ररी बुझेका छौं। र, समयसँग संघर्ष गर्दै परिस्कृत हुने सामथ्र्य आर्जन गरेका छौं। 

देश राजनीतिक संक्रमणमा छ। व्यवस्था बदलिए पनि अवस्था बदलिएको छैन। जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन्। राजनीतिक दलहरू सत्ताका खेलमा अल्झिएका छन्। संविधानसभाले बनाएको संविधानले पनि स्थिर सरकार दिन सकेको छैन। यसले जनमानसमा निराशा बढाएको छ। यस परिस्थितिमा सकारात्मक आशा जगाउने दायित्व मिडियाको हो। त्यो वस्तुस्थितिलाई ध्यान दिएर अन्नपूर्ण पोस्ट्ले आज समुन्नत नेपालका सपना प्रस्ट्याउने सय परियोजना समाविष्ट वार्षिकोत्सव विशेषांक ‘इन्द्रेणी मार्ग’ प्रकाशन गरेको छ। नकारात्मकता हाबी भइरहेको कालखण्डमा यसखाले मार्गदर्शक एवं प्रेरणादायी सामग्री अवश्य सान्दर्भिक हुनेछन् भन्ने हामीलाई लागेको छ। 

अन्नपूर्ण पोस्ट्लाई यस स्थानसम्म ल्याइपुर्‍याउन अथक योगदान दिने पूर्वनेतृत्वहरूलगायत सम्पूर्ण सहकर्मी मित्रलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रा जुझारु र प्रतिबद्ध सहकर्मी यसका सफलताको द्योतक हुन्। महाभूकम्पको महाविपत्ति र कोभिड महाव्याधिजस्ता असहज परिस्थितिमा डटेर नागरिक समुदायसम्म घटनास्थलकै तथ्ययुक्त सूचना प्रवाह गर्ने पत्रकार टिमप्रति म आभारी छु। 

अन्त्यमा, महात्मा गान्धीको कथनझैं हामीले पत्रकारितालाई सेवा र परोपकारमा जोड्ने हरदम पहल गरेका छौं। देश बनाउने नीति–राजनीतिदेखि भुइँमान्छेका आवाजसम्म समेटेका छौं पत्रकारितामा। त्यसमा साथ–सहयोग प्रदान गर्ने तमाम पाठकप्रति पुनः हार्दिक धन्यवाद।

र, यहाँहरूलाई, यहाँहरूकै अखबारको वार्षिकोत्सवको हार्दिक शुभकामना पनि।


अखण्ड भण्डारी
प्रधान सम्पादक
अन्नपूर्ण पोस्ट् दैनिक


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.