बन्ने भो सिद्धबाबामा सुरुङ
पाल्पा : सिद्धबाबाको बाटो भन्यो कि, पाल्पालगायत ९ जिल्लाका यात्रुको आङ्ग नै सिरिङ्ग हुन्छ। जहिल्यै पहिरो खस्ने भएकाले ‘कुन बेला दुर्घटनामा परिने’ हो भन्ने त्रासैत्रासमा यो सडक पार गर्नुपर्छ।
त्यसैकारण सिद्धबाबाको पहिरो जाने बाटो पार भएपछि यात्रु र सवारी चालकहरूले ‘बाँचियो’ भन्दै श्वास फेर्ने गर्छन्। भारतीय सिमानाका सुनौलीनजिक पर्ने भएकाले ९ जिल्लाका बासिन्दाका लागि यो बाटोको यात्रा गर्नै पर्ने बाध्यता छ।
अब भने यो बाटोको यात्रा सहज र निर्धक्क हुनेमा यहाँका बासिन्दा ढुक्क छन्। किनभने सिद्धबाबामा सुरुङमार्ग बन्दैछ। सिद्धबाबामा सुरुङ मार्ग बनाउन पाल्पाली जनता तथा जनप्रतिनिधिहरूले लामो समयदेखि केन्द्र सरकारलाई दबाब दिँदै आएका थिए।
तर, वातावरणविद्हरूको विरोध गरे। त्यसपछि केन्द्र सरकारले ०७५ सालमा १० अर्ब रुपैयाँ रकम सुनिश्चित गरी सुरुङमार्ग बनाउने निर्णय गर्यो।
सरकारले ग्लोबल टेन्डरमार्फत सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि प्रस्ताव आह्वान गरेपछि नियमित रूपमा यात्रा गर्ने ७ जिल्लाका जनताको आशा र भरोसा बढ्दै गयो।
ग्लोबल टेन्डरमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा छनोट भयो। निर्माण कम्पनीले अहिले सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको पूर्वतयारीको काम गरिरहेको छ।
सिद्धबाबा क्षेत्रमा वर्षा तथा हिउँद १२ महिना पहिरो तथा ढुङ्गा खसेकै कारण बर्सेनि ठूलो मात्रामा जनधनको क्षति नरोकिएपछि नेपाल सरकारले सुरक्षित यातायातका लागि नमुना परियोजनाका रूपमा सुरुङमार्गको काम अघि बढाएको हो।
रामापिथेकस पार्कदेखि पाल्पाको सिद्धबाबा मन्दिरसम्म १ हजार १ सय २६ मिटर सुरुङ मार्ग बन्ने, सुरुङ मार्ग दुई लेनको हुनेछ जसमा ३ वटा आपतकालीन द्वारहरू राखिने सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका योजना प्रमुख रामपुकार जैसवालले बताए।
आयोजनाले सिद्धबाबामा ११२६ मिटर सुरुङ निर्माण सँगै चिडिया खोलादेखि दोभानसम्मको अन्य भागमा सुरक्षित सडक निर्माण गर्ने छ। चिडियाखोलादेखि सिद्धबाबासम्म सडक चौडा गरी नाली सोल्डरसहित साढे ८ मिटरको सडक निर्माण हुने, सुरुङमार्गको बाहिरी भाग (हालको सडक)मा साइकल तथा पैदलयात्रुहरूका लागि लक्षित गरी माथिबाट खसेको ढुङ्गा सिधै खोलामा झर्ने गरी निर्माण, रामापिथेकस पार्कदेखि माथि दोभानतर्फको ५ सय ५० मिटर सडक चौडा गरी रकसेट तथा पहिरो रोकथाम गरी निर्माण गरिने सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीले बताइन्।
चिनियाँ कम्पनीले ४ वर्षमा पूरा गर्ने गरी सुरुङमार्ग निर्माणको पूर्वतयारीको काम गर्दै आएको छ। निर्माण कम्पनीले तिनाउँ गाउँपालिका- २ दोभानमा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ। चिनियाँ कम्पनीले ९ महिना लगाएर तयार पारेको स्टिमेट डिजाइन अहिले सडक विभागमा अध्ययनको काम भइरहेको छ।
डिजाइन स्टिमेट विभागबाट स्वीकृत भएपछि चिनियाँ निर्माण कम्पनीले सुरुङ मार्गको काम सुरु गर्ने छ।
अहिले सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डमा चिनियाँ कम्पनीले फागुन १३ गतेदेखि दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म दैनिक ८ घण्टा बन्द गरी २४ घण्टा सुरुङ निर्माणको पूर्वतयारीको काम गर्दै आएको छ।
सुरुङमार्गको दुवै तर्फको निकास बिन्दुमा अहिले सडक चौडाको काम विद्युत् लाइन निर्माणको काम भइरहेको छ। सडक बन्द रहेको समयमा आकस्मिक रूपमा यात्रा गर्नुपर्ने र साना र हलुका सवारी साधनहरूका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास सडक मार्ग प्रयोग गर्न सुरुङमार्ग निर्माण आयोजना कार्यालय जनाएको छ। सिद्धार्थ राजमार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङसम्मका जनताले यात्रा गर्दै आएका छन्।
सिद्धबाबा क्षेत्रमा पहिलो र ढुङ्गा खसी प्रत्येक वर्ष ठूलो धनजन क्षति रोकिने छ। यस क्षेत्रका जनताको यात्रा सुरक्षित हुनेछ। सुरुङमार्ग निर्माण कार्यको सुरुवात सँगै दोभानदेखि पोखरासम्मको सडक डवल डेडिकेटेट सडक निर्माणको काम सुरु हुने छ।
तानसेन बुटवल सडक सुरक्षित र चौडा भएपछि यात्रा छोटो हुनेछ। बुटवल तानसेन ४५ मिनेटमा आवतजावत गर्न सजिलै सकिने छ जसको कारण पाल्पामा पर्यटकीय गतिविधि वृद्धि भई जनताको आयआर्जनमा वृद्धि हुने पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले बताए।
सिद्धबाबाको सुरुङ नेपालकै सडकमा नमुना परियोजना भएकोले आगामी दिनमा अन्य सडकहरूमा सुरुङ मार्ग खुला हुने सांसद गैरेले बताए।
लामो समय पाल्पाको जनप्रतिनिधिको रुपमा रहेका पूर्वमन्त्री सोमप्रसाद पाण्डेले निकै वर्षको मिहेनत, दबाबबाट सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम सुरु भएको बताए।
सिद्धबाबा सुरुङ मार्ग निर्माणले पाल्पामा विकास निर्माणको नयाँ अभियान सुरुवात हुनेमा जनताहरू आशावादी देखिएको तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए।
सुरुङमार्ग निर्माणपछि हिल स्टेसनका रूपमा रहेको पाल्पाको सबैजसो स्थानमा सजिलै पर्यटकहरू पुग्ने छन। हाल घट्दो रूपमा रहेको पाल्पाको जनसंख्यामा तराई क्षेत्रबाट बसाई सराई भई वृद्धि हुनेछ।
दिउँसोमा बुटवलमा व्यापार गरेर साँझ पाल्पामा बास बस्नेदेखि पर्यटकीय गतिविधि वृद्धिले व्यापार व्यवसायमा वृद्धि हुनेमा पाल्पाका पर्यटन व्यवसायीहरू उत्साहित देखिएका छन्। अहिले तानसेन तथा तानसेन बाहिरी क्षेत्रमा दर्जनौं स्तरीय होटलहरू सञ्चालनमा आएका छन्।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सँगै लुम्बिनीमा आउने पर्यटकहरू छोटो बाटो तय गर्दै पाल्पामा पुग्ने छन्। सुरुङमार्ग निर्माणसँगै गर्मीमा चिसो छितलता पाउन, जाडो याममा घाम ताप्न, तराईसँगै छिमेकीमुलुक भारतका जनताहरूको रोजाइमा पाल्पा पर्ने आशामा जिल्लाका पर्यटन व्यवसायीहरू कुरेर बसेका छन्। सिद्धबाबा सुरुङमार्गको छेउमै दुइटा केवल कार सञ्चालनले यस क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस !