वर्षा र हिमपातका कारण यार्सागुम्बा संकलन गर्ने घर फर्कँदै
![वर्षा र हिमपातका कारण यार्सागुम्बा संकलन गर्ने घर फर्कँदै](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_CQz1TuAej6_N3KyNmz7La.jpg)
बझाङ : बझाङमा यार्सागुम्बा टिप्न गएकाहरू घर फर्किन थालेका छन्।
केही दिनयता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भूभागमा यार्सागुम्बा संकलनका लागि गएका स्थानीयहरू घर फर्किन लागेका हुन्।
अहिले बझाङका अधिकांश स्थानीय तहमा भारी वर्षा भइरहेको छ। यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ।
हिमतापका कारण यार्सागुम्बा संकलन गर्नमा समस्या हुने गरेको र त्यो ठाउँमा बस्न नसकिएकाले घर फर्किनु परेको छबिस पाथिभेरा गाउँपालिका-७ बुड्खोरिका प्रकाश धामीले बताए।
वर्षा र हिमपात भएपछि स्थानीयहरू आफ्नो ज्यानलाई जोखिममा पारेर घर फर्किरहेका छन्।
जिल्लामा सोमबार मात्रै यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको थियो।
यस्तै मंगलबार पनि यार्सागुम्बा टिप्न गएकी एक महिला हिमपहिरोमा परेर बेपत्ता भएकी छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)