बन्जीमा जम्प

बन्जीमा जम्प

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित द लास्ट रिसोर्टमा बन्जीजम्प गर्न आएकी विराटनगरकी प्रतीक्षा घिमिरे निकै उत्साहित देखिन्थिन्। 

अस्ट्रेलियाबाट छुट्टीमा आएको र साहसिक पर्यटनमा ‘प्रयास गर्न’ आएको उनले बताइन्। ‘अलिअलि डर त लागिरहेको छ, तर बन्जी गर्न सक्छु भन्ने आँट छ’, द लास्ट रिसोर्टको शान्त वातावरणले आफूलाई बन्जी गर्न आँट दिएको उनले सुनाइन्। 

विश्वका उत्कृष्ट १५ भित्र पर्ने भोटेकोसीको बन्जीजम्पमा विस्तारै पर्यटकको चहलपहल सुरु भएको छ। नेपाल चीनबीचको उत्तरी नाका तातोपानी बन्द भएसँगै ठप्प रहेको पर्यटन व्यवसाय नाका खुलाउन दुई देशबीच सहमति भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको हो। 

भोटेकोसी खोलाबाट १ सय ६० मिटर अग्लो झोलुंगे पुल छ। त्यही पुलबाट अहिले दैनिक औसत ३५ जनाले बन्जीजम्प गर्ने गरेको बन्जी मास्टर चक्र प्रधान बताउँछन्। कुनै बेला विदेशी पर्यटकले भरिभराउ हुने द लास्ट रिसोर्टमा अहिले स्वदेशी पर्यटकले भरिन थालेका छन्। 

बन्जी जम्पिङका लागि प्रख्यात सो रिसोर्ट कोभिडको समयमा करिब डेढ वर्ष बन्द नै भयो। केही वर्ष अघिसम्म पर्यटक भन्नेबित्तिकै विदेशी नागरिकलाई मात्रै सम्झने गरेकोमा आजभोलि नेपाली नागरिक नै पर्यटन व्यवसायीको भरपर्दो सहारा बन्न थालेका छन्।

‘त्यो बेला त अब यो व्यवसाय चल्दैन कि भन्ने पनि लागेको थियो’, द लास्ट रिसोर्टका सहायक म्यानेजर शंखर भुजेल भन्छन्, ‘झन्डै डेढ वर्ष बन्द नै भयो, त्यसपछि विस्तारै सञ्चालन गर्‍र्यौं।’ अहिले आन्तरिक पर्यटकले मात्रै धानेको उनले सुनाए। ‘अहिले ९० प्रतिशत आन्तरिक पर्यटक आउने गरेका छन्’, भुजेलले भने, ‘तातोपानी नाका पूर्ण रूपमा सञ्चालन भए बाह्य पर्यटक पनि बढ्ने आकलन गरेका छौं।’ 

भोटेकोसी बन्जीजम्पको बन्जी साइट नेपालको राजधानी काठमाडौंबाट करिब तीन घण्टाको दूरीमा छ। द्रुत गतिमा बग्ने भोटेकोसी नदीको १ सय ६० मिटर माथिको झोलुंगेपुलबाट फ्रि–फल गर्दा पर्यटकहरू उत्साहित हुने गरेका छन्। द लास्ट रिसोर्टमा क्यानोइङ, स्विङ, टेन्डम स्विङ, रक क्लाइम्बिङ, माउन्टेन बाइकिङ, र्‍याफ्टिङ, ज्याकोब ल्याडर, एब्सेलिङलगायत साहसिक खेलका प्याकेज उपलब्ध छन्। 

त्यस्तै, ठूला चट्टानमा तीव्र गतिमा झर्ने पानीसँगै डोरीको सहायताले झर्ने क्यानोइङ खेल जोखिमपूर्णसँगै रोमाञ्चक पनि छ। १५ देखि ४५ मिटरसम्मका आठ वटा झरनामा डोरीबाट झरेर खोलामा पुग्दा थकानसँगै आनन्द आउने पर्यटकहरूको प्रतिक्रिया छ। यस्ता साहसिक खेलमा सुरक्षाको पाटो संवेदनशील हुन्छ। त्यसैले ४० देखि १०५ किलो तौल भएका व्यक्तिले मात्र खेल्न सक्छन्।

बन्जीका लागि स्वदेशीलाई ६ हजार रुपैयाँ र विदेशीलाई ९ हजार २ सय रुपैयाँ लिने गरिएको छ। बन्जीका साथै रोमाञ्चक सुइङ पनि गर्न सकिन्छ। टेन्डम स्विङमा भने दुई जनाले पुलबाट एकैपटक जम्प गर्न मिल्छ। हाइकिङ र र्‍याफ्टिङका लागि पनि उत्कृष्ट मानिने यो क्षेत्रमा ट्रेकिङका साथै साहसिक खेलमा नेपालीको रुचि बढेकोले आन्तरिक पर्यटकमा वृद्धि भएको पर्यटन व्यवसायीहरू बताउँछन्। 

भोटेकोसी नदीमा सन् १९९० मा न्युजिल्यान्डका डेबिड एलडाइसले बन्जीजम्प सुरु गरेका थिए। भोटेकोसीमा र्‍याफ्टिङका प्रमुख गाइड डेबिडले यस क्षेत्रमा नयाँ केही गर्ने योजनासहित भोटेकोसीमा बन्जीको सम्भावनालाई अघि सारेका थिए। 

यसपछि सन् १९९८ मा पहिलो बन्जीजम्प डेबिडले नै गरे। साबिकको लिस्ती गाविस र मार्मिङ गाविस जोड्ने झोलुंगेपुल निर्माण गरी बन्जी सुरुवात गरिएको थियो। सो पुल स्थानीय बासिन्दाले ओहोरदोहोर गर्नसमेत प्रयोग गर्छन्। अरनिको राजमार्ग हुँदै सो पुलमा पुग्न सकिन्छ। 

चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका निरन्तर रूपमा सञ्चालनमा आए तिब्बतको मानसरोवर जाने भारतीय तीर्थयात्री बढ्नेछन्। यसले बाह्य र आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुने प्रचुर सम्भावना रहेको पर्यटन व्यवसायी मिलन तामाङ बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.