भरत ताल मालामाल

सुरुमा माछापालनका लागि खनिएको पोखरी पछि तालको रूपमा विकसित भयो।

भरत ताल मालामाल
भरत ताल।

मधेस प्रदेश घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बन्दैछ, भरत ताल। बोटिङ गर्न, पिकनिङ मनाउन र रमाइलो गर्नका लागि भरत ताल पहिलो रोजाइमा पर्ने गरेको छ। पछिल्ला दिनमा छिमेकी भारतबाट समेत यहाँ ठूलो संख्यामा पर्यटक आउने गरेका छन्।  

बागमती नगरपालिका वडा नं. ४ र १२ मा भरत ताल पर्छ। १ सय २१ बिघामा फैलिएको तालमा बोटिङ गर्न र पिकनिक मनाउनका लागि दैनिक हजारौं पर्यटक आउने गरेका छन्। सुरुमा माछापालनका लागि पोखरी खनिएको थियो। पछि, तालकै रूपमा विकास गरियो। 

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले २०७६ सालदेखि बागमती माछापोखरी भनेर बाँझो जमिनमा पोखरी खन्ने काम सुरु गरेका थिए। पोखरी बनाउँदै जादाँ पछि तालमा परिणत गरियो। पोखरीलाई आकर्षण बढाउन फुटपाथ र बगंैचा बनाइएका छन्। ‘बाँझो र बागमती नदीको बगरको रूपमा रहेको खाली जमिनलाई पर्यटकीय क्षेत्र बनाएका छौं, मेयर थापाले भने, ‘सबै खाले अनुसन्धान गरेर ताल बनाउने काम गरिएको हो। संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको बजेटबाट ताल बनाउने काम गरेका हांै।’ 

ताल बनेपछि आर्थिक समृद्धिका साथै बागमती नगरपालिका, सर्लाही जिल्ला र सिंगो मधेस प्रदेशकै नाम भारतमा समेत चर्चामा रहेको थापाको भनाइ छ। तालमा अहिले आन्तरिकदेखि लिएर बाह्य पर्यटकहरू आउने गरेका छन्। पर्यटकलाई सेवासुविधा दिनका लागि बोटिङ र सुविधासम्पन्न होटल खुलेका छन्। सौन्दर्यकरणको काम पनि अहिले भइरहेको छ। वाटर फ्लाईलगायतका काम पनि हुँदैछन्। पर्यटकलाई सेवासुविधा दिनका लागि तालकै बीचमा सुविधा सम्पन्न होटल निर्माणाधीन अवस्थामा छ। ‘तालमा पानीको कमी कहिल्यै हुँदैन, मेयर थापाले भने, ‘पानी कम भयो कि बागमती नदीको पानी हाल्ने गरेका छौं। पानी हाल्ने र निकाल्ने सुली गेट बनाएका छौं। एकातिरबाट पानी हाल्ने र अर्कोतिरबाट निकाल्ने गर्दा तालको पानी पनि फोहोर हुँदैन। पानी हाल्दा तालमा जमेको पानी बाहिर जाने र अर्को पानी आउने हुँदा दुर्गन्धित हुने सम्भावना पनि हुँदैन।’

भरत ताल बनेपछि ताल घुम्ने र बोटिङ गर्न रहर बुनेकाहरूलाई सयौं किलोमिटर जानुपर्ने बाध्यता टरेको छ। ताल बनेपछि अहिले सर्लाही आसपासका जिल्ला तथा भारतका बिहार प्रान्तका सयौं पर्यटकहरू बिदा मनाउन बागमती आउने गरेका छन्। लेक साइडको अनुभूति दिने भरत ताल बनेपछि पर्यटकहरू रमाएर जाने गरेको स्थानीयहरू बताउँछन्। चुरे पर्वतको फेदी र सधैं बगिरहने बागमती नदीको किनारमा अवस्थित भरत ताल अहिले जिल्लाको मात्रै नभई मधेस प्रदेशकै पहिचानको रूपमा स्थापित भएको छ। प्रकृतिको काखमा अवस्थित मानव निर्मित ताल झट्ट हेर्दा समुद्रको अनुभूति दिलाउने गरेको छ। तालको वरिपरि रहेको बगैंचाले पर्यटकहरूको मन झनै लोभ्याउने गरेको छ। बिदाको दिन पिकनिक मनाउन आउने पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। 

हावाको बेगसँगै छल्किने तालको पानी, नजिकैबाट देखिने हरिया चुरे पर्वत र तालको छेउ भएर निरन्तर कलकल गर्दै बगिरहेको बागमती नदीको पानीको आवाजले अझै पर्यटकलाई लोभ्याउने गरेको छ। दिउँसो गर्मीले त्यति पर्यटक नआए पनि बिहान र बेलुका टिकटक बनाउने, फोटो खिच्नेहरूको ठूलो भीड लाग्ने गर्छ। भरत ताल नवविवाहिता जोडीहरूदेखि लिएर युवायुवतीहरूको घुम्ने पहिलो रोजाइको थलो बनेको छ। 

पूर्वपश्चिम लोकमार्गबाट तीन किलोमिटर दक्षिणमा रहेको ताल सामाजिक सञ्जालमा पनि चर्चामा ल्याइएको छ। ताल पुग्नका लागि पूर्व पश्चिम राजमार्गबाट दुईवटा बाटा छन्। मेयर भरतकुमार थापाको नेतृत्वमा पोखरी बनाउने काम भएकाले स्थानीयवासी तथा आसपासबाट आउने पर्यटकहरूले भरत ताल भनेर नामकरण गरेका छन्। सामाजिक सञ्जालमा भरत ताल भनिएर प्रचारप्रसार हुनुको साथै ताल आसपासका कतिपय पसलहरूको नाम पनि भरत नै राखिएको छ। जानेबाटोदेखि लिएर तालमा सञ्चालित बोटहरूमा समेत भरत ताल लेखिएपछि तालको नाउँ अझै प्रख्यात बनेको छ। 

तालको दक्षिण र पश्चिम भागमा बाँझो रहेको जमिनमा बगैंचा बनाउने काम हुँदैछ। ९० बिघामा बगैंचा बनाउने काम भइरहेको छ। ताल वरिपरि आँप, लिचीलगायतका बिरुवा रोपिएका छन्। तालको निर्माण भएपछि छेउछाउका गाउँहरूमा सिँचाइ सुविधा पनि पुगेको मेयर थापाले बताए। ताल बनेपछि करिब एक हजार जनाले रोजगारी पाएका छन्। ताल छेउका होटल पनि भरिभराउ हुन थालेका छन्। पर्यटक बढेसँगै अटो रिक्सा व्यवसाय पनि सुरु भएको छ। युवाहरूले बोट चलाउने रोजगार पाएका छन्।  

तालबाट वार्षिक १ करोडभन्दा बढीको आम्दानी 

आर्थिक वर्ष २०७५÷०७६ बाट ताल बनाउन सुरु गरिएको हो। २०७८÷०७९ बाट ताल सञ्चालनमा आएको हो। तालबाट वार्षिक एक करोडभन्दा बढीको आम्दानी भइरहेको बागमती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोख्रेलले बताए। बोटिङबाट मात्र अहिले करोडभन्दा बढी आम्दानी छ। दुई भागमा रहेको तालको एक भाग अर्थात् उत्तरी खण्ड मात्र सञ्चालनमा छ। दक्षिणी खण्डमा निर्माणको काम भइरहेको छ। दुई खण्ड पूर्ण रूपमा निर्माण भएपछि आम्दानीको स्रोत अझै बढ्ने पोख्रेलले बताए। ताल बनेपछि बागमती नगरपालिकालगायत आसपासका करिब पाँच सय जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने नगरपालिकाले जनाएको छ। पर्यटकलाई बस्नका लागि तालमै सुविधासम्पन्न होटल पनि पालिकाले बनाउँदै छ। करिब ७ करोडको लागतमा होटेल बनाउने काम भइरहेको छ। बिदाको बाहेक औसत रूपमा करिब २ हजारभन्दा बढी पर्यटक तालमा आउने गरेको छ। 

बोटिङबाट लाखौं आम्दानी 

पर्यटकलाई आनन्दित पार्नका लागि तालमा अहिले २६ वटा इलेक्ट्रोनिक्स बोट राखिएको बोटिङ टिकट काउन्टरका सरोज श्रेष्ठले बताए। तालमा भीएसएलको एउटा ठूलो बोट र २६ वटा स्ट्रिम बोट छन्। बोटबाट हरेक दिन लाखौं आम्दानी हुने गरेको श्रेष्ठले बताए। बिदाको दिनमा राम्रो कमाइ हुन्छ। अन्य दिनमा एक लाखसम्मको टिकट बिक्री हुने गरेको श्रेष्ठले बताए। शनिबार र बिदाको दिनमा दुई हजार न्दा बढी व्यक्तिले बोटिङ गर्ने गरेको तथ्यांक छ। 

ताल बनेपछि कृषि कार्य गर्दै आएका स्थानीय युवा सन्तोषकुमार एस्मालीले बोट चलाउने काम पाएका छन्। त्यसबापत उनले महिनामा २५ हजार जति कमाइ हुने गरेको बताए। ‘आफ्नै गाउँघरमा रोजगारी पाएको छु,’ उनले भने।  

ताल घुम्न टाढा जानु परेन 

जिल्ला छेउमै ताल बनेपछि अन्य टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य भएको रौतहट यमुनामाई नगरपालिका–४ का वडा सदस्य ५५ वर्षीया दीपिया देवीले बताइन्। पहिलो कार्यकालमा निर्वाचित बनेपछि ताल घुम्नका लागि पोखरा गएको दीपियाले बताइन्। यस पटक आफ्नो जिल्ला छेउमै आएको उनले सुनाइन्। ‘ताल घुम्न पाउँदा रमाइलो लागेको छ,’ उनले भनिन्।  बाराको सिमराबाट घुम्न आएका चन्देश्वर चौधरीले ताल घुम्ने रहरलाई भरत तालले पूरा गरेको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.