सामुदायिक वनमा कांग्रेसको पार्टी कार्यालय शिलान्यास

सामुदायिक वनमा कांग्रेसको पार्टी कार्यालय शिलान्यास
वनमा शिलान्यास गरिँदै।
सुन्नुहोस्

धनगढी : कैलालीको गोदावरी नगरपालिका-१ स्थित सुरक्षा महिला सामुदायिक वनमा नेपाली कांग्रेस क्षेत्र नं ४ को क्षेत्रीय पार्टी कार्यालय शिलान्यास भएपछि त्यसको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ।  

नेपाली कांग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नं ४ बाट संघीय सांसद बीरबहादुर बलायरले बुधबार एक कार्यक्रमबीच पार्टी कार्यालय (बिपी स्मृति भवन को शिलान्यास गरेका थिए। उनले आफैंले फेसबुकमा तस्बिरसहितको स्टाट्स हाल्दै क्षेत्रीय पार्टी कार्यालय शिलान्यासको जानकारी दिएका हुन्।

शिलान्यास कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्ट र सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारी पनि उपस्थित थिए। मेयर भट्ट नेपाली कांग्रेसबाट जितेका जनप्रतिनिधि हुन् भने सामुदायिक वनकी अध्यक्ष भण्डारी पनि कांग्रेसकी क्रियाशिल सदसय हुन्।

सोमबार सब डिभिजन वन कार्यालय अत्तरियाले गोदावरी नगरपालिकाकै डोजरको सहयोगमा नजिकै रहेका महिला सामुदायिक वन र बडिमालिका सामुदायिक वन अतिक्रमण गरी बसेका ४५० घर टहराहरू हटाएको थियो। सुकुम्बासीका नाममा कब्जा गरिएको भन्दै टहरा हटाएपछि उनीहरूको अहिले सडकको बास भएको छ। 

सामुदायिक बनमा बसेका गरिब निमुखाहरूलाई डोजर चलाएर हटाएकै भोलिपल्ट, सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले नै सामुदायिक वन मिचेको भन्दै सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको छ। गोदावरीकै कैलाश जोशीले आक्रोस ब्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन, ‘सुकुम्बासीहरूको ब्यवस्थापन नगरेरै टहरा भत्काउने गोदावरी नगरपालिकाले सामुदायिक बनको जग्गा अतिक्रमण गरेर पार्टी कार्यालय शिलान्यास गराएको छ। सुकुम्बासी हटाउने तर पार्टी कार्यालय खोल्ने? यो कुन नैतिकताले दियो?’ 

गोदावरी नगरपालिकाकै टेक विकले पनि स्टाटस हाल्दै गरिब निमुखालाई हटाउने तर पावर भएकाले बन अतिक्रमण गर्न पाउँदैन भनेर स्टाट्स हालेका छन्। ‘सुकुम्बासीको बास ब्यवस्थापन नगरिकनै टहरा भत्काउने नगरपालिकाले, वडा नम्बर १ का वडाध्यक्षकै उपस्थितिमा कांग्रेसको पार्टी कार्यालय सिलान्यास गरेको छ। यसको छानविन होस्,’ विकले भनेका छन।

सोमबार सुकुम्बासीका घर हटरा हटाउने बेला बालबालिका रोएका, वृद्धवृद्धालाई प्रहरीको भ्यानमा बोकेर हालेका, डोजरलाई अंगालो हालेका कारुणिक भिडियो सार्वजनिक भएका थिए। पानी परिरहेका बेला अमानवीय तरिकाले सुकुम्बासी हटाएको पनि विरोध भएको थियो।

सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले कांग्रेसका नेताहरूले माथिबाटै भोगाधिकार ल्याइहाल्छौं भनेपछि शिलान्यास गर्न दिएको बताइन्। ‘नेताहरूले माथिबाटै भोगाधिकार ल्याउँछौं भन्नुभयो। अनि मैले पनि ठीकै छ भने,' उनले भनिन्। तर उनले भोगाधिकारका लागि सिफारिस भने अहिलेसम्म नगरेको बताइन्। सामुदायिक वनको जग्गा भोगाधिकारका लागि सम्बन्धित सामुदायिक वनले जिल्ला वनलाई सिफारिस गर्ने, जिल्ला वनले मन्त्रालयलाई सिफारिस गर्ने र मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर मन्त्रिपरिषद्को निर्णयपछि मात्रै लिन पाउने प्रावधान छ।

‘वनका विषयमा सरकारी नीति एउटै हुनुपर्छ। गरिबलाई हटाउने, पहुँच र पावरको बलमा वन अतिक्रमण गर्न दिनु हुँदैन, नेकपा एमाले गोदावरी अध्यक्ष गोकर्ण भट्टले भने। वन क्षेत्र अतिक्रमण गर्न माननीय नै पुगेको कुराले लज्जाबोध भइरहेको उनको भनाइ छ। उनले भवन निर्माणको कार्य तत्काल बन्द हुनुपर्ने बताए। 

प्रदेश सरकारको बजेटमा बीपी स्मृति भवन निर्माण प्रक्रिया भइरहेको नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति ललित रोकायाले बताए। ‘बीपी स्मृति भवन बनाउनै नपाइने भन्ने पनि होइन नि,’ उनले भने, 'यस अघिबाटै हामीले त्यहाँ वृक्षारोपण गर्दै आइरहेका छौं। यो अघिल्लो वर्षको बजेट हो।’

सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले पनि वन क्षेत्रभित्र कुनै पनि संरचना निर्माण गर्न नपाइने बताए। ‘मैले आजमात्रै थाहा पाएँ। त्यसबारेमा मलाई कुनै जानकारी थिएन। त्यसलाई रोक्नका लागि सामुदायिक वनलाई लिखित पत्र लेखिसकेको छु,’ कडालले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.