रवि लामिछानेको प्रस्ताव : सरकारको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, आवश्यक परे म दिन्छु
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिका बारेमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिने प्रस्ताव गरेका छन् । आज बसेको सर्वदलीय बैठकमा उनले प्रधानमन्त्री बालेनले संसद्मा जवाफ नदिने जानकारी दिएका हुन्।
एमालेका प्रमुख सचेतक ऐन महरले रास्वपाले दलमा र प्रधानमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने जानकारी गराएको बताए।
उनले आवश्यक परे आफूले पनि जवाफ दिन सक्ने जानकारी गराए। ‘सदनमा हाम्रो विरोध जारी छ। प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनिरहेका छौं। तर उहाँहरुले संसदमा परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, आवश्यक परे म (रवि लामिछाने) दिन्छु,’ महरले भने, ‘तर अहिले प्रधानमन्त्री आएर जवाफ दिनुहुन्न भन्नुभयो ।’
पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति र प्रतिनिधि सभाको नियमावली पारितको विषयलाई लिएर अवरुद्ध भइरहेको छ। जसका कारण बजेटमाथि छलफल प्रारम्भ नगरी झण्डै एकहप्ता बैठक स्थगित गरिएको हो। विपक्षीले प्रधानमन्त्री स्वयं उपस्थित भएर अभिव्यक्तिको तथ्य माग र बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने नत्र सदन चल्न नदिने अडान कायम राखेका छन्।
प्रतिक्रिया दिनुहोस !