स्वप्नभूमिमा सपनाभूमिको यथार्थ
शिक्षा, विज्ञान तथा प्रविधि, कला, संस्कृति र अवसरलगायत माध्यमबाट विश्वभरका नागरिकलाई आकर्षित गर्ने यो एउटा सम्मोहनकारी शक्ति हो।
अवसरको खोजीमा नेपालीहरू अमेरिकालगायत समृद्ध मुलुकहरूमा विदेसिने क्रम बढेसँगै त्यसको प्रभाव नेपाली साहित्यमा पनि पर्न थालेको छ। अझ अमेरिकालाई त विशेष गरेर सहरिया र मध्यमवर्गका कतिपय नेपालीले आफ्नो स्वप्नभूमि नै ठान्छन्। सपनाहरूलाई पछ्याउँदै समृद्ध मुलुकमा जाने नेपालीका आआफ्ना भोगाइ र अनुभवहरू छन्। खुसी र पीडाहरू पनि छन्। यिनै अनुभव र अनुभूतिहरूलाई डा. तुलसी आचार्यले आफ्नो पछिल्लो उपन्यास स्वप्नभूमिमा समेटेका छन्।
स्वप्नभूमि मूलतः आचार्यको अंग्रेजी उपन्यास रनिङ फ्रम द ड्रीमल्याण्डको अनूदित कृति हो। जहाँ उनले अनेक दुःख गर्दै अमेरिकामा स्नातकोत्तर पढ्न गएको एक मध्यमवर्गीय नेपाली विद्यार्थीका सुरुआती चरणका संघर्षहरू र उसले भोगेका आर्थिक समस्या, सांस्कृतिक भिन्नता र तिनले जन्माउने अप्ठ्याराहरूलाई उधिन्न्ने प्रयास गरेको छ। हाम्रो जस्तो विकासशील देशहरूका नागरिकले देख्ने अमेरिकी सपना वा कुनै पनि विकसित देशप्रतिको सपना हामीकहाँ भएको सीमित रोजगारीको अवसर वा लथालिङ्ग व्यवस्था मात्रै नभएर ती देशहरूले प्रबद्र्धन गर्ने मृदु शक्ति (सफ्ट पावर) को परिणाम पनि हो।
शिक्षा, विज्ञान तथा प्रविधि, कला, संस्कृति र अवसरलगायत माध्यमबाट विश्वभरका नागरिकलाई आकर्षित गर्ने यो एउटा सम्मोहनकारी शक्ति हो। स्वप्नभूमिमा उपन्यासकारले उल्लेख गरेको युनानी मीथकीय पात्र सर्सीलाई यस्तै एउटा सफ्ट पावरको उदाहरणका रूपमा लिन सकिन्छ। सर्सी एउटा यस्तो पात्र हुन् जसको सम्मोहनमा परिसकेपछि सायदै त्यहाँबाट निस्कन सकिन्छ। स्वप्नभूमिमा मनग्य धन र ज्ञान कमाउन ऋणधन गरेर अनेक प्रयत्नहरूका वावजुद बल्लतल्ल अमेरिका पुगेको दीपक केही दिनमै चरम आर्थिक अभाव झेल्नु पुग्छ। अब जसरी भए पनि र जे काम भए पनि गर्नै पर्ने निष्कर्षमा ऊ पुग्छ।
धेरै ठाउँमा धेरैसँग गिडगिडाइ सकेपछि बल्ल बल्ल रेस्टुरेन्टमा भाँडा माझ्ने काम पाउँदा असामञ्जस्यतामा पर्छ। नगरौं, बाँच्नै समस्या हुने भयो, पढाइ त परको कुरा। गरौं, एउटा निश्चित वर्ण, लिङ्ग र डिग्रीधारीका रूपमा मनमा हुर्किएर बास गरेको अभिमान छ, जसले यस्तो कामलाई तुच्छ ठान्छ। दोधारमा परेको दीपकको मनोदशालाई उपन्यासकार यसरी प्रस्तुत गर्छन् :
‘यस्तो मूला काम गर्नु छैन मलाई’, दीपक फेरि एक्लै भुतभुतायो, ‘तर मैले जसरी पनि गर्नु छ। मैले मेरो अमेरिकी सपना पूरा गर्नु छ।’ उसले आफूलाई एउटा पासोमा परेझैं मान्यो। अमेरिका भनेको त एउटा गलपासो रहेछ। अमेरिका त सर्सी रहेछ (पृष्ठ ७०)।
भनिन्छ, व्यवहारवाद (प्राग्मेटिज्म) अमेरिकी जीवनशैलीको आधार हो। व्यवहारवादले ज्ञानलाई कामको कसौटीमा परीक्षण गर्दछ। वस्तुगत भएर सोच्न अभिप्रेरित गर्दछ, विज्ञानका सूत्रहरूलाई व्यवहारमा लागू गर्न सिकाउँछ र अनुभवबाट सिक भन्छ। स्वप्नभूमिमा उपन्यासकारले अमेरीकी जीवनशैलीका यी पक्षलाई विभिन्न पात्र र तिनका भोगाइका माध्यमबाट साक्षात्कार गराएका छन्। जस्तैः विश्वविद्यालयमा पढाइने कविताको कक्षामा विद्यार्थीले सिद्धान्तका कुरा मात्रै पढ्दैनन्, उनीहरू आफैंले कविता लेखेर एक अर्काका कविताहरूमाथि चर्चा परिचर्चा गर्दछन्। कामका मामिलामा को ठूलो, को सानो भन्ने हुँदैन। ज्ञान र सीप जोसँगबाट पनि सिक्न सकिन्छ।
यहाँसम्म कि प्रेम र घरबार गर्ने कुराहरूका पनि व्यावहारिक विश्लेषण हुन्छन् जसलाई उपन्यासकारले दीपक र मलिसाको सम्बन्धका माध्यमबाट दर्शाएका छन्। एकार्कालाई मन पराउनेदेखि गहिरो प्रेममा डुबेको भएता पनि व्यावहारिक रूपमा तालमेल नमिल्ने भएपछि उनीहरूको प्रेम अगाडि बढ्न सक्दैन। फरक संस्कृति र तिनका आफ्नै मूल्य–मान्यता अनि व्यक्तिगत स्वतन्त्रता गुम्न सक्ने आँकलन गरी मलिसाले उनीहरूको प्रेम सम्बन्ध टुङ्ग्याउँदै भन्छे, ‘सुन्नै पर्ने कुरा के हो भने तिमीले यसो वा उसो गरेको भए हुन्थ्यो भनेर आदेश दिएको मलाई मन पर्दैन...। मलाई भरखर मात्रै के महसुस भयो भने दुईबीचको प्रेम मात्रले केही हुँदो रहेनछ... मैले बाचा तोडें। आई एम भेरी सरी’ (पृष्ठ १८९)।
व्यवहारवादका पनि आफ्ना सीमाहरू छन्। मन भएको मानिस पूर्णरूपेण वस्तुवादी बन्न सम्भव छ र ? सम्बन्धहरूले घेरिएको मानिस एकांगी र व्यक्तिवादी बन्न सक्छ र ? फेरि एकपटक दीपकलाई आफ्नै पारिवारिक पृष्ठभूमि र देशको मायाले नराम्रोसँग चिमोट्छ, अनि सोच्न थाल्छ, ‘खै कुन हो अमेरिकी सपना ? आफ्नो देश छोडेर। बाउआमा छोडेर। विदेशमा प्रेममा धोका खाएर बाँच्नु अमेरिकी सपना हो र ? कि त्यो सपना सपना हो, जहाँ परिवार र आफन्तसँग बसेर हरेक दिन बिताउन पाइयोस्’ (पृष्ठ १९२)। दीपकले दोस्रो सपनालाई रोज्छ।
स्वप्नभूमि पढिरहँदा एक नेपालीका रूपमा हामीहरू कस्तो अप्ठ्यारो परिवेशबाट गुज्रिरहेका छौं भन्ने आभास हुन्छ। सामान्य इच्छा–आकांक्षाहरू पूरा गर्न पनि आफ्नै जन्मभूमि साँघुरो हुन थालेपछि कुनै समृद्ध मुलुक हाम्रो स्वप्नभूमि बन्न पुग्छ र अनेक उपाय लगाएर आफ्ना सपनाहरू पछ्याउँदै त्यहाँ जान्छौं। तर त्यहाँ गइसकेपछि हामीले के पाउँछौ, के गुमाउँछौ ? के केही डलर, बैंक ब्यालेन्स, भौतिक सुखसयलका केही थान श्रीसम्पत्तिहरूले हामीले भोगेको अपमान, असुरक्षा, बिछोड, मानसिक उद्वेलन, पारिवारिक विग्रह जस्ता तीता र पीडादायी अनुभवहरूको क्षतिपूर्ति गर्न सक्लान् ? हाम्रा युवा विदेश पलायन हुँदै जाँदा हाम्रो समाजमा उठेका ज्वलन्त प्रश्नहरू हुन् यी। यी प्रश्नहरूका दृष्टिकोणले पनि आचार्यको स्वप्नभूमि अत्यन्तै समयसान्दर्भिक छ।
विषयवस्तुको सान्दर्भिकताका अलावा शैली र शिल्पका हिसावले पनि स्वप्नभूमि रोचक लाग्दछ। उपन्यास पढिरहँदा पाठकले आफूलाई सजिलैसँग ‘कनेक्ट’ गर्न सक्छ। कौतुहलता जगाउँदै सरल भाषामा मीठोसँग कथा भन्न सक्ने शैलीका कारण प्रस्तुत उपन्यासले पाठकलाई अन्तिम पृष्ठसम्म पनि तानिरहन्छन्। यसरी पाठकलाई तानिरहने खुवी सम्भवतः डा. आचार्यले सृजनात्मक लेखनको विद्यार्थीका रूपमा आर्जन गरेको उपलब्धी पनि हो। साहित्यानुरागी पाठकहरूलाई त यसले आकर्षित गर्ने नै छ, अमेरिकालाई स्वप्नभूमि ठान्ने जो कोही युवा र तिनका अभिभावकहरूले पनि यो कृति पढेर त्यहाँको यथार्थ र आइपर्न सक्ने शारीरिक तथा मानसिक चुनौतिहरूका बारेमा व्यावहारिक ज्ञान हासिल गर्न सक्नेछन्।