जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान
सुन्नुहोस्

सिन्धुपाल्चोक : उमेरले १ सय ४ वर्ष काटेकी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१४ की इन्द्रकुमारी बस्नेत आफूलाई सम्मान गरेकोमा औधी खुसी भइन्।

‘हामीजस्ता डाँडामाथिको जुनलाई कस्ले वास्ता गर्थ्यो र’, उनले खुसीको आँशु झार्दै भनिन्-‘तर आज हाम्रो पनि कोही छ, हामीलाई पनि कसैले सम्झन्छ भन्ने थाहा पाउँदा मन थाम्नै सकिन।’ शताब्दी काटिसकेको उनी अझै पनि कसैको सहाराविना हिँडडुल गर्न सक्छिन्। ‘अझै पनि म आफ्नो काम आफैं गर्छु। खाना पकाउँछु, वरपरको काम गर्छु’, उनी भन्छिन्। 

जेष्ठ नागरिक जिल्ला संघ सिन्धुपाल्चोकले शनिबार उनीजस्तै ८० वर्ष माथिका १६ जनालाई सम्मान गर्‍यो। पाँच सय रुपैयाँसहित कम्मल दिएर उनीहरूलाई सम्मान गरिएको संघका अध्यक्ष माधवलाल कर्मचार्यले बताए। 

सम्मान ग्रहण गर्न आएका चौतारा साँगाचोकगढी नगरपालिका-६ का ९७ वर्षीय डम्बरबहादुर श्रेष्ठले वृद्धवृद्धालाई सम्मान गर्दै जीवनकालका भोगाई राख्ने अवसर जुराइदिएकोमा धन्यवाद दिए। ‘मजस्ता यहाँ आएका थुप्रैलाई खुसी मिलेको छ, हामीले आफ्नो जीवनमा सिकेका अनुभवलाई साटासाट गर्ने मौका पायौं’, उनले भने-‘हामीलाई केही चाहिएको छैन, सरकारले हामीलाई दिँदै आएको वृद्धभत्ता घर आँगनबाटै पाउन पाए सुविस्ता हुने थियो।’

सदरमुकामसम्म भत्ता लिन धाउनुपर्दा जेष्ठ नागरिकहरूलाई समस्या परेको उनले गुनासो गरे। ‘बैंकमा घण्टौं लाइन बसेर वृद्धभत्ता लिनु पर्छ’, उनले भने-‘स्थानीय सरकारले यसको सट्टा घरआँगनमै पुर्‍याउने व्यवस्था मिलाइदिए हामी धन्य हुने थियौं।’ जेष्ठ नागरिकलाई सरकारले विशेष ख्याल राख्नुपर्ने भन्दै उनले त्यतातर्फ ध्यान दिन आग्रह गरे।

नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले वृद्धभत्ता वितरणमा देखिएको असुविधालाई हल गर्न नगर लागिरहेको बताए। ‘हामीले तपाईंहरूको सुविधालाई ध्यानमा राख्दै हामीले कारोबार गर्ने बैंकहरूलाई घरटोलमै पुगेर वृद्धभत्ता वितरण गर्न अनुरोध गरिसकेका छौं’, नगर प्रमुख सापकोटाले भने-‘उहाँहरूले त्यसो गर्न केही समस्याहरू रहेको भन्नुभएको छ। ती समस्या तत्काल हल गरी घरघरमै वृद्धभत्ता वितरण गर्ने कार्यमा नगरपालिका दृढ छ।’ 

सापकोटाले जेष्ठ नागरिकको स्वास्थ्यप्रति नगरपालिका गम्भीर रहेको बताउँदै नगरका १४ वटै वडामा जेष्ठ नागरिक क्लिनिक सञ्चालन गरेको र सोबाट थुप्रैले स्वास्थ्य लाभ लिएको बताए। ‘हामी तपाईंहरूको स्वास्थ्यप्रति गम्भीर हुँदै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं’, उनले भने-‘यसको साथै गम्भीर प्रकृतिका विरामी जेष्ठ नागरिकलाई उपचारमा सहयोग पनि गर्दै आएका छौं।’

जेष्ठ नागरिकले अबको जीवन खुसीसाथ जिउन सकून् भन्ने हेतुले विभिन्न रचनात्मक योजनाहरू नगरपालिकाले ल्याइरहेको बताउँदै नगरप्रमुख सापकोटाले जेष्ठ नागरिकको भोगाइ र सिकाइ किताबी ज्ञान भन्दा वृहत् रहेको बताए। ‘तपाईंहरूको जीवन भोगाइबाट हामीले सिक्दै ज्यूँदो इतिहासलाई रक्षा गर्नु हाम्रो कर्तव्य हो’, सापकोटाले भने।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा पूर्व सांसद सुवास कर्मचार्यले विकास निर्माण र पूर्वाधार बनाउनुभन्दा वृद्धवृद्धालाई सम्मान गर्नु र कुरा सुन्नु कयौं गुणा उपयोगी हुने धारणा व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.