दुई कारसहित ७० सवारी साधन प्रहरी नियन्त्रणमा, हकदावी गर्न आउन सिन्धुली प्रहरीको आह्वान
![दुई कारसहित ७० सवारी साधन प्रहरी नियन्त्रणमा, हकदावी गर्न आउन सिन्धुली प्रहरीको आह्वान](https://annapurnapost.prixacdn.net/media/albums/motarsaika-choriiii-photo-sindhuli-1_qfa3u86m5m_VZ48vwz1bv.jpg)
सिन्धुली : विभिन्न समयमा नियन्त्रणमा लिइएका सवारी साधन स्वामित्व हकदावी गर्न आउन सिन्धुली प्रहरीले आह्वान गरेको छ । चोरी भई नियन्त्रणमा लिइएका र वेवारिसे अवस्थामा प्रहरीले फेला पारेका ७० वटा सवारी साधन सम्बन्धित धनीलाई स्वामित्व हकदावी गर्न १५ दिने सूचना आह्वान गरिएको हो ।
पटकपटक सूचना जारी गर्दै प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन हकदावी गर्न आउन अनुरोध गरिएको भएपनि कोही नआएपछि अन्तिम पटकका लागि १५ दिने सूचना जारी गरिएको सिन्धुलीका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक)राजकुमार सिलवालले बताए ।
‘चोरी गरिएका र वेवारिसे अवस्थामा रहेका दुईवटा कारसहित स्कुटर र मोटरसाइकल गरी ७० वटा सवारी साधनको हकदावीका लागि आह्वान गरिएको हो । तर,ती सवारीका धनी हालसम्म सम्पर्कमा आएका छैनन्। १५ दिन भित्रमा पनि हक दावी गर्न नआएमा कानुन अनुसार लिलामी प्रक्रियामा जानेछौं,’उनले भने ।
प्रहरीले तालुक कार्यालयमा समेत जानकारी गराउँदा समेत ७० वटै सवारी धनी पत्ता लगाउन सकेको छैन । यस्ता सवारी साधन सरकारी तथा जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी कार्यविधि २०७९ को परिच्छेद ३ को नियम २० उपदफा (१) बमोजिम १५ दिनभित्र समेत हकदावी नगरिए लिलाम बिक्री गरिने छ ।
हकदावी गर्न आउँदा आफ्नो सवारी साधनको सक्कल कागजपत्र लिएर आउनुपर्ने समेत प्रहरीले जनाएको छ । जिल्लामा चोरीका मोटरसाइकल प्रहरीले नियन्त्रण गर्दै आएको छ । मोटरसाइकल चोरीमा संलग्नलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही गरेपनि मोटरसाइकल धनी भने पत्ता लगाउन सकेको छैन ।
चोरी तथा वेवारिसे अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)