बन्द रहेका सरकारी उद्योग चलाउन सरकारले गृहकार्य गरिरहेको छ : उद्योगमन्त्री रिजाल
![बन्द रहेका सरकारी उद्योग चलाउन सरकारले गृहकार्य गरिरहेको छ : उद्योगमन्त्री रिजाल](https://annapurnapost.prixacdn.net/media/albums/mantri-rijal_XeG3kKXrWp.jpg)
वीरगन्ज : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बन्द रहेका सरकारी उद्योग पुन:सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।
सोमबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साको १० ओैं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले बन्द रहेको वीरगन्ज चिनी कारखानासहितका सरकारी उद्योगहरू पुन:सञ्चालन गर्न सरकारले गृहकार्य गरिरहेको बताएका हुन्।
उनले भने, 'बन्द रहेको वीरगन्ज चिनी कारखानासहितका उद्योग पुन: चलाउनका लागि सरकारले गृहकार्य गरिरहेको छ। कुन मोडलमा चलाउने बारेमा छलफल चलिरहेको छ।'
नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्दै रिजालले एमालेकै सरकारका पालादेखि भ्रष्टाचार प्रकरण सुरू भएको बताए । उनले भने,'रामबहादुर थापा 'बादल' गृहमन्त्री भएका बेला प्रधानमन्त्री कुन पार्टीका थिए, टोपबहादुर रायमाझी मन्त्री हुँदा प्रधानमन्त्री कुन पार्टीका थिए ? यो सबैलाई थाहा छ ।'
नक्कली शरणार्थीका नाममा भएको भ्रष्टाचार प्रकरणको अनुसन्धानमा अहिलेको गठबन्धन सरकारले पूर्णरुपमा सघाइरहेको बताउँदै मन्त्री रिजालले भने,'भ्रष्टाचारीलाई कारबाही हुनैपर्छ, सरकारले अनुसन्धानमा कुनै हस्ताक्षेप गर्दैन ।'
उनले देशको अर्थतन्त्रलाई पुन: चलायमान बनाउन सरकार कटिवद्ध रहेको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)