नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिन होस् : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाश शरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवा मौन नरहेको स्पष्ट पारेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले सभापति देउवा यो प्रकरणको निष्पक्ष र स्वतन्त्र अनुसन्धानको पक्षमा रहेको बताए।
यो विषयमा पार्टी सभापति देउवा किन चुप हुनुहुन्छ ? भन्ने प्रश्नको जवाफमा महतले भने,' सभापतिको धेरै बोल्ने बानी पहिले देखि छैन। उहाँले स्वतन्त्र र निष्पक्ष अनुसन्धानको पक्षमा छौं भन्नु भएको छ। दोषी निर्दोष र निर्दोष दोषी हुनुपर्छ भनेर हामीले भनेका छैनौं।'
यस्तै प्रवक्ता महतले सांसद आरजु राणा देउवा र मञ्जु खाँणबारे अहिले मिडिया ट्रायल भइरहेको बताए। उनले भने,'आरजुले त्यो अडियो फेक हो भनेर साइबर ब्युरोमा उजुरी पनि दिनु भएको छ। हामीलाई पनि त्यो फेक हो भन्ने लाग्छ। अहिले उहाँहरूविरुद्ध मिडिया ट्रायल भइरहेको छ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य खाँणले आफू निर्दोष रहेको बताएकाले उनलाई पार्टीबाट निलम्बन नगरिएको बताए।
उनले खाँणमाथि अनुसन्धान जारी रहेको र कांग्रेस निष्कर्षको पर्खाइमा रहेको जिकिर गरे। त्यस्तै महतले पार्टीको केन्द्रीय समिति बैठक बस्न ढिलाई भएको स्वीकार गर्दै केहिदिनपछि बैठक बसेर भातृसंगठनदेखि विभाग लगायतका विषयमा आवश्यक निर्णय गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !